रत्ननगर । रत्ननगर नगरपालिका जिम्मेवार कर्मचारीहरुले गाडी दुरूपयोग गरेको घटनाका कारण सोमबार गर्ने भनिएको १८ औं नगरपरिषदको औपचारिक कार्यक्रम नै भएन । नगरपालिकाका कर्मचारीहरुले नगरपालिकाको गाडी दुरूपयोग गरेको विरोधमा उत्रिएका नेपाली काँग्रेस, नेकपा माओवादीलगायतका सात राजनीतिक दलहरु नगरपरिषदमा एमाओवादी र नेकपा एमालेका प्रतिनिधिहरुलाई सहभागी नगराउन दबाब दिएपछि सोमबार १८ औं नगरपरिषद नगरवासीलाई थाहा नै नदिई गरिएको छ ।
गाडी दुरूपयोग भएको घटनामा एमाओवादी र नेकपा एमालेका प्रतिनिधिहरु पनि मुछिएका थिए । कार्यकारी अधिकृत सहदेवप्रसाद श्रेष्ठले कर्मचारीको बैठक बोलाएर १० करोड ९४ लाख बराबरको बजेट पारित गरेका छन् । नगरका जिम्मेवार सात राजनीतिक दलहरुले दुई दलहरुलाई परिषद्मा सहभागी नगराउन दबाब दिएपछि कर्मचारीको रोहवरमा आगामी वर्षका लागि बजेट पारित गरिएको नगरपालिकाका कार्यकारी अधिकृत सहदेवप्रसाद श्रेष्ठले बताउनुभयो ।
विशेष परिस्थितिको सृजना भएपछि कार्यकारी अधिकृतको नेतृत्वमा बजेट सार्वजनिक गर्ने अधिकारबमोजिम औपचारिक कार्यक्रम नगरी बजेट पारित गरिएको उहाँको भनाइ थियो । ‘सात राजनीतिक दलहरुकै दबाबका कारण १८ औं नगरपरिषदको औपचारिक कार्यक्रम गरिएन’ उहाँले भन्नुभयो, ‘अधिकार मिचेर पनि कार्यक्रम गरिएको होइन ।’
नगरपालिकाले नगरवासी, टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार, नगरिक समाजको रोहवरमा बजेट सार्वजनिक गर्ने प्रावधान रहेको छ, तर कसैलाई थाहै नदिई कार्यकारी अधिकृतले आफूखुसी बजेट पारित गरेको भन्दै नगरवासीहरुले विरोध गरेका छन् । टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष बाबुराक गौतमले भने, ‘नगरका सबै सरोकारवालाहरुको सहभागितामा बजेट बनाइएको भएपनि पछिल्लो नगरपालिकाको गाडी नियन्त्रण र तोडफोडको घटनाका कारण कार्यकारी अधिकृतले कर्मचारीहरुको बैठक बोलाएर बजेट पारित गरिएको हो ।’
‘बजेटजस्तो विषय नगरवासीहरुको रोहवरमा गर्नुपर्ने हो’ उहाँले भन्नुभयो, ‘परिस्थिति अनुकुल नभएपछि कार्यकारीले बजेट पारित गर्नुभएको हो ।’ गत पुस १९ गते शुक्रबार दुई राजनीतिक दलका प्रतिनिधिसहित नगरपालिकाका योजना अधिकृत प्रकाशचन्द्र ढुंगाना, लेखा अधिकृत सीताराम पोखरेल, सामुदायिक विकास शाखा प्रमुख तोरणराज पौडेलले नगरपालिकाको गाडी दुरूपयोग गरेको भन्दै नेकपा–माओवादीले रत्ननगर १० मंगलपुरबाट गाडी नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको थियो । आक्रोशित केही व्यक्तिहरुले नगरपालिकाको गाडी तोडफोडसमेत गरेका थिए ।
नेकपा–माओवादीले गाडी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको घटनाप्रति नेपाली काँग्रेस, नेकपा माले, राप्रापा नेपाल, राप्रापा, मधेशी जनअधिकार फोरमले सार्थन गरी कमचारीलाई कारबाही तथा नगरपरिषदमा एमाओवादी र एमालेका प्रतिनिधिलाई सहभागी नगराउन लिखितरूपमै नगरपालिकाका कार्यकारी अधिकृतलाई ज्ञापनपत्र बुझाएका थिए । नगरपरिषदमा एमाओवादी र एमालेलाई सहभागी गराए अन्य दलहरुले जे पनि हुन सक्छ भनेपछि परिषद्को औपचारिक कार्यक्रम स्थगित गरिएको कार्यकारी अधिकृत श्रेष्ठले बताउनुभयो । ‘नगरपालिकाका कर्मचारीहरु मैले नै काममा पठाएर गएका हुन्’ कार्यकारी अधिकृत श्रेष्ठले भन्नुभयो, ‘कर्मचारीलाई दोष दिने ठाउँ छैन ।’
१० करोड ९४ लाखको बजेट पारित
रत्ननगर नगरपालिकाको सोमबार सम्पन्न १८ औं नगरपरिषद्ले आथिक बर्ष २०७१÷७२ को लागि १० करोड ९४ लाख वरावरको बजेट पारित गरेको छ ।
नगरपालिकाका कार्यकारी अधिकत सहदेवप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उक्त बजेट पारित गरिएको हो । नगरपालिकाले आन्तरिक स्रोतबाट २ करोड २५ लाख, बाह्य स्रोतबाट ८ करोड ६९ लाख संकलन गर्ने लक्ष्य राखेको नगरपालिकाका लेखा अधिकृत सीताराम पोखरेलले जानकारी दिनुभयो । यसमा १ करोड ९९ लाख प्रशासनिक खर्च र ८ करोड ९१ लाख विकास खर्च गर्ने गरी बजेट पारित गरिएको हो ।
नगरपालिकाले आर्थिक वर्ष २०७१÷७२ का लागि सवै जातजातिका विपन्न वर्गका बालबालिकाकालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमका लागि ९१ लाख, सवै जातजातिका विपन्न महिलाहरुलाई प्रत्यक्ष लाभ हुने ५५ लाख ५० हजार र आर्थिक रुपमा विपन्न तथा आर्थिक एवम् सामाजिक रूपमा पछाडि परेका वर्गलाई ८७ लाख बजेट पारित गरेको नगरपालिकाले जनाएको छ ।
Discussion about this post