गौशाला । महोत्तरीको गौशाला गाविसमा अवस्थित गाई गौशालामा पालिएको ९१ वटा गाईमा खोरेत रोगको प्रकोप देखिएको छ ।
नेपाल सरकारको स्वामित्वमा रहेको सो गाई गौशालामा व्यावसायिकरुपमै उन्नत गाईको सङ्ख्या बढाउने उद्देश्यले पालिएका करिब ९१ वटा जर्सी र होलस्टेन जातिका गाईमा खोरेत रोगको प्रकोप देखिएको गौशालाका पशु प्राविधिक रामछविला रायले बताउनुभएको छ ।
मङ्सिरको अन्तिम सातादेखि जिल्लामा लगाताररुपमा बढिरहेको शीतलहरका कारण गाई गौशालामा पालिएका गाईमा खोरेत रोगको प्रकोपले भयङ्कर रुप लिएको प्राविधिक रायले बताउनुभयो । उहाँले गाई गौशालाका पशुको खुट्टा, मुख, कान, पुच्छर, जिब्रोलगायत शरीरको विभिन्न भागमा खोरेत रोगको प्रकोपले घाउ भएर विकराल रुप लिन थालेको बताउनुभयो ।
गाई गौशालाका गाईमा प्रकोपकै रुपमा देखापरेको खोरेत रोगका कारण गाईले खान छाडेको, शारीरिकरुपमा कमजोर भएको र गाईको दूधमा कमी आएको तथा त्यस्ता गाईले उत्पादन गरेको दूध बजारमा बिक्रीसमेत हुन नसकेको कुरा गाई गौशालाका व्यवस्थापक शुभेषचन्द्र बरालले बताउनुभएको छ ।
खोरेत रोग तराईको महोत्तरी, सर्लाही, धनुषा, सिरहालगायतका जिल्लामा बर्सेनि जाडोका बेला प्रकोपकै रुपमा देखापर्ने गर्दछन् भने समयमा ध्यान नदिएमा दर्जनाँै पशुको ज्यान जाने गर्दछ । रासस
Discussion about this post