हरिबहादुर मैनाली
नेपालका किसानहरु आत्मनिर्भर रुपमा दैनिक जीवन चलाउनका लागि विभिन्न पेसा, व्यवसाय गरिआएका छन् । देशमा खपत हुने मासुका स्रोतहरुको पनि नेपालले व्यवसाय गरेको छ । कुखुराको राजधानीका रुपमा चितवन जिल्ला चिनिन्छ भने अन्य जिल्लाहरु पनि देशमा खपत हुने मासु बजारका सहयोगी हुन् । कुखुरामा पनि बोइलर्स, हब्बड, लोकलजस्ता प्रकारहरु छन् । यसको प्रकारको आधारमा मूल्य निर्धारण हुन्छ । भैँसी, राँगा, पाडो, थोरे भैँसी पनि भैँसी जातिमा पर्दछन् । यसको पनि प्रकारको आधारमा नै मूल्य निर्धारण हुन्छ । भेँडा, च्याँङ्ग्रा, बोका, पाठा, खसी, बूढी बाख्री, बैला बाख्रा आदि पनि मासुकै प्रकार हुन् र यसको मूल्य पनि पशुअनुसार राखिन्छ । याक, चौँरी पनि मासुका स्रोतहरु हुन् । बङ्गुर, सुँगुर तथा बनेल पनि मासुका स्रोतहरु हुन् । जंगलमा रहेका मृग, घोरल, बनेल, हरिण, जरायो आदि पनि मासुका स्रोत हुन् । तर, कतिपय जंगली जनावरहरु राज्यको कानुनबाट मासुको त¤वका रुपमा प्रयोग गर्न तथा गराउन वञ्चित गरिएको छ । माछा, गँगटा, घुँगीहरु पनि माछामासुका स्रोतहरुमा पर्दछन् । अरिंगाल, बच्छ्यूँलाई पनि यसकै हाराहारीमा राखेको पनि पाइन्छ । यसभन्दा अन्य पशुपक्षीहरु पनि मानवले मासुका रुपमा प्रयोग गर्ने गरेका छन् । देशअनुसार विभिन्न पशुहरु मानवले मासुका रुपमा प्रयोग गर्दछन् । यी पशुहरुलाई हुर्काउने, बढाउने र खाने पनि मानिसै हुन् । जिउँदो मानवलाई सायद बाघ समूहका जनावरले मात्र खान सक्छ । मरेका मानवलाई स्याल, फ्याउरोजस्ता जनावर र नदी वा समुद्रमा पुगेमा माछा समूहले खान सक्छन् । तर, जिउँदो मानवलाई आक्रमण गर्ने बाघले पनि मानवलाई त्यति बढी यातना नदिई उसले खान सक्छ ।
तर हामी मानव, हामीले नै हुर्काई–बढाई गरेका हाम्रा घरपालुवा पशुपक्षीहरुलाई र यस्ता हाम्रा मासुका आहाराका पशुपक्षीलाई अति क्रूर यातना दिएर मार्छौं र रमाइरमाई यसलाई खान सक्छौँ । खै त हाम्रो मानवता ? वास्तवमा यस्ता पशुपक्षी मानवभन्दा पनि गुनिला हुन्छन् । यिनीहरुको चेतना पनि बढि हुन्छ । यिनीहरु आफ्ना मालिकलाई जहाँ पनि चिन्छन् । आफ्नो घर सम्झेर आउन पनि सक्छन् । घरको मान्छे देख्ने बित्तिकै चिनेको भाव प्रकट गर्छन् । आपत् परेको बेलामा साथ दिन्छन् । तर, किन हामी यसैलाई क्रूर यातना दिएर रमाइरमाई खान र यसैबाट जीविका निर्वाह गर्न चाहन्छौँ ? ठीकै छ, यो परम्पराबाट मानवले मासुका रुपमा उपभोग गर्दै आयो र आज पनि गरिरहेको छ, भोलि पनि हुने नै होला । तर, पशुपक्षीको वध गर्दा पनि किन हामी सच्चा नागरिकको कर्तव्य निर्वाह गर्दैनौँ ? मासु व्यवसाय गर्ने व्यक्तिले किन सोच्दैनन् ? भोलि कोही मानव आजको पशुको जुनी भएर जन्म लियो भने उसलाई आज आफूले गरेको क्रूर यातना पाच्य होला । के ऊ बोल्न नसक्ने पशुलाई जेजस्तो यातना दिएर मारे पनि उसलाई सरकारले छूट दिएको छ र यसमा मापदण्डको कानुन छैन भनेर जे मन लाग्यो त्यही गर्ने छूट कानूनले दिए पनि मानवताले दिन्छ ? आजको पशुपक्षीप्रति गरिने क्रूर व्यवहार त भ्रष्ट प्रशासक र सरकारलाई हुनु न्याय हो, तर यी अबोध पशुपक्षीलाई लादेर के सच्चा मानवको आत्माले शान्ति पाउँछ ? हामीले भैँसीको दूध १५औँ वर्षसम्म चुसेर बूढी भएपछि, हामीले २०औँ वर्ष हलो र गाडा तनाएका राँगाहरु, उस्तै भयो र ताल मिल्यो र नाफा हुने भयो भने गोरू, गाईसमेत कसाईलाई बिक्री गर्छौं ।
पशुपक्षीलाई मार्न उसको घाँटीकै प्रयोग गर्नुपर्छ । घाँटीमा बाहेक अन्त हतियार प्रयोग गर्नु क्रूर हिंसा हो । फेरि यस्ता अबोध पशुपक्षीको घाँटीमा हतियार प्रयोग गर्नुपर्दा पनि त्यस्ता पशुपक्षीहरुलाई यातनारहित रुपमा चाँडो मर्ने प्रविधि अँगाल्नु पर्छ । तर, कतै छैन प्रविधि, भाला, मुढा, बञ्चरो, ढुंगा, खुकुरी हँसिया, घन आदि नै अहिलेका नेपालको पशुपक्षी हत्या गर्ने हतियारहरु हुन् । आफ्ना क्रूर हत्या, हिंसाविरूद्ध तिनीहरुको संगठन मानवको जस्तो गरी बन्न सक्ने भए आजको जिउँदा मानवको जीवनमा ठूलो आक्रमण हुन्थ्यो । तर, यी पशुपक्षी जिउँदा मान्छेले जता लग्यो त्यतै जान्छन् र जिउँदा मान्छेको वैज्ञानिक छलकपटको जालोमा पर्छन् ।
हरेक राज्यमा स्थानीय प्रशासन हुन्छ, तर यसले मासु व्यवस्थापन तथा पशुपक्षीको वध गर्ने सम्बन्धमा कुनै नियम, रेखदेख गर्दैन । यस्ता क्षेत्रमा स्थानीय प्रशासनले पनि हेर्नुुपर्ने हुन्छ । तर, खोइ यस्ता प्रशासनको रेखदेख ? सहरबजारमा हरेक दिन सयौँ पशु वध गरिन्छ । यसलाई ठूलो माल र सानो माल भनी वर्गीकरण गरिन्छ । राँगा, भँैसीहरुलाई यसरी मालको प्रकारमा विभाजन गर्नेहरुप्रति प्रतिदिन राँगा, भैँसी वध गरी बनाइदिएबापत १ किलो मासु, खुट्टा, बोसो र रू. ५०० अनि २ बोतल रक्सीसम्म पाउँदा रहेछन् । रक्सी नखाई वध गर्न पनि तयार प्रायः हुँदा रहेनछन् । यस्ता मालहरुलाई खामा वा सटरजस्तो स्थानमा छिराउँदा रहेछन् । मालको घाँटीमा डोरी वा नाक छेडेकोलाई नाके डोरीसमेत अघिल्लो किलामा बान्दा रहेछन् । सिङमा फेरि डोरीले बाँधी अगाडिको किलामा बाँध्दा रहेछन् । त्यसपछि कालो टालाको चस्माले आँखा बन्द गर्दारहेछन् । अगाडिको खुट्टा बाँध्दा रहेछन् र अगाडि एक जना घन लिएर वस्दोरहेछ । पछाडि अर्को घन लिएर बस्दोरहेछ । अगाडिको साइडमा चुप्पी लिएर एउटा बस्दोरहेछ । यस्ता माल ढाल्न एकसाथ ३ जना तयार हालतमा बस्दा रहेछन् । रक्सीको नशामा अगाडिकोले दुई सिङको बीचमा घनले हान्दोरहेछ । ३ पटक हान्दा अगाडिको खुट्टा बाँधेको कारण यातना सहन नसकी ढलेमा घाँटीमा चुप्पी रोपिँदो रहेछ । नढलेमा अगाडि र पछाडिले मनलाग्दी अगाडिकोले टोकाको बीचमा र पछाडिकाले ढन्डेसोमा बर्साउँदो रहेछ । यसरी ठूलो माल मार्न सास्ती हुँदोरहेछ । यस्ता माल मार्नुभन्दाअगावै छाला काढ्नतर्फ ध्यान केन्द्रित हुँदोरहेछ । यसरी यो माल मार्न पनि कम्तीमा १० मिनेटसम्म लाग्दोरहेछ । यसरी मारेको पशुको उचित सरसफाइ नगरी टुक्राउनतिर लाग्दा रहेछन् । यसरी यसमा रोजगारीका लागि यस्ता क्रूर कार्य गर्नैपर्ने कसाईहरु, आम्दानी गर्ने मासु व्यवसायीहरु र यही मासु चाहिने उपभोक्तहरु कसैले पनि पशुअधिकारको बारेमा खोइ सचेत भएको ?
संसारमा मानवको भन्दा अरुको अधिकार हुँदैन ? किन हामी मानवले पशुले गर्ने व्यवहार गरिरहेका छौँ ? तराई तथा भारतका नाकाबाट हाम्रो देशको राजधानीलगायतका स्थानमा दैनिक खपत हुने र भैँसी गाडीले बोक्ने राँगा, भैँसीमाथिको क्रूरता देख्दा हाम्रो मन किन रूँदैन ? काठमाडौँ जाँदा बाटाको दृश्य के सच्चा मन भएको मानवले सहन सक्ने खालको छ र ? सानो ढाउँमा धेरै संख्यामा राँगा, भैँसी लोड गरिन्छ । कोही राँगा, भैँसी बसेमा वा ठूलो ठाउँ लिएमा व्यापारीलाई धेरै आम्दानी हुँदैन । त्यसैले मुङ्ग्राले नाक र मुखमा थिलथिलो पारेर काडमाडौँ उतारिन्छ । त्यहाँ पुग्दा त्यस्ता पशु अर्धमृत भइसकेका हुन्छन्, कोही बीचबाटोमै मरिसकेका हुन्छन् । कोही दुहुना हुन्छन् । कोही ब्याउने पनि हुन्छन् । कोही रोगी हुन्छन् । खोइ यसको छानबिन ? यस्ता अस्वस्थकर मासुको बजारमा खोइ रेखदेख र कारबाही ? अब यसलाई अझै यातना दिएर मारिन्छ । यसको सरसफाइ पनि राम्रो हुन सक्दैन । यो पनि मानवता र स्वास्थ्यको हिसाबले हानिकारक छ । यसलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयले हेर्नुपर्दैन ? के यसमा सार्वजनिक भाडाको सवारीमा निश्चित सिट संख्या भएजस्तो, मालबाहक ट्रकमा चक्काअनुसार टनको क्षमता भएजस्तो गरी यस्ता भैँसे ट्रकहरुलाई पनि साइजको आधारले यतिसम्म राँगा, भैँसी ओसारपसार गर्न पाउने नियम बनाई लागू गर्न सकिन्न ?
पक्षीजन्य मासुका प्रकारहरुलाई पनि यसको ढाढमा हानी मुखबाट रगत छदाई मारिन्छ । यो कार्य पशुपक्षीको शरीरभित्र रगत जमाउँदा यसको तौल बढ्ने र यसबाट नाफा हुने ध्यानमा व्यवहार हुन्छ । यहाँ रकमी कुरा आयो र पशुपक्षीको वधमा क्रूर यातना र उपभोक्ताको स्वास्थ्यमा खेलबाड यहीँबाट सुरू भयो । प्रकृतिले मार्नका लागि जीवात्मालाई घाँटी दिएको छ, तर हामी मानव त्यस्ता पशुपक्षीको घाँटीको प्रयोग गरी हत्या नगरी आफूलाई सजिलो र फाइदाको चक्करमा परी यस्ता अबोध पशुपक्षीको ज्यान खाइरहेका हुन्छौँ । प्रकृतिका यस्ता पशुपक्षीहरुलाई प्रकृतिरुपी घाँटीबाटै उच्चस्तरको प्रविधिबाट वध गर्ने व्यवस्था र यसको कठोर कार्यान्वयनमा ध्यान दिनेतर्फ सबै हामी मानवहरुले सोचौँ । नाफाका लागि हामी मानवले जस्तोसुकै काम पनि गरेका छौँ । यो नितान्त मानवले गर्न नहुने काम हो । मानवताले काम र व्यवसाय गर्दा धर्म, परोपकार र नैतिकताको पनि ख्याल गर्नुपर्दछ । जीवनमा सबभन्दा ठूलो विषय पैसा होइन । यसलाई कर्मको रुपमा लिनुपर्छ, तर यसलाई जीवनको विकल्पको साध्यमा प्रयोग गर्नु पनि अमानवीय कार्य हो ।
(अधिवक्ता तथा आधिकारिक अनुवादक)
Discussion about this post