नेपालमा प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गतको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता भइरहेको छ । यतिबेला क्रिकेटप्रेमीबीच नेपाली महिला क्रिकेटरको चर्चा भइरहेको छ । हुन त, नेपाली महिला क्रिकेटको इतिहास धेरै लामो छैन । २०६४ सालदेखि नेपाली महिला क्रिकेटको राष्ट्रिय प्रतियोगिता सुरू हुन थालेको हो । क्रिकेटमा ‘स्टायलिस ब्याट्सवुमन’ बाट चर्चित कप्तान नेरी थापा सुरूवातदेखि नै महिला राष्ट्रिय क्रिकेटमा नेपालगञ्जको प्रतिनिधित्व गरिरहेकी छिन् । उनको नेतृत्वमा नेपालगञ्जले दुईपटक राष्ट्रिय उपाधिसमेत हासिल गरिसकेको छ । उनले राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो महिला खेलाडीका रुपमा नयाँ इतिहास रचेकी छिन् । यो इतिहास रच्नका लागि महिला क्रिकेटमा सातौँ संस्करण पर्खिनुप¥यो । नेरीले नेपालगन्जका तर्फबाट क्षेत्र नम्बर–३, काठमाडौँविरूद्ध नटआउट १ सय २१ रन बनाउँदै कीर्तिमान राखेकी हुन् । उनको कीर्तिमानसँगै नेपालमा महिला क्रिकेटरको खुलेर प्रशंसा गर्न थालिएको छ ।
नेरीले शतक बनाएकै भोलिपल्ट शनिबार बैतडीका रेखा रावल र अञ्जली चन्दले पनि शतक जोड््न सफल भए । सिनियर राष्ट्रिय महिला क्रिकेट इतिहासमा दुई दिनमा तीन शतक बनेको छ । रेखाले दोहोरो कीर्तिमानसहित १ सय ३१ रन बनाएकी छिन् । यस्तै अञ्जलीले १ सय ११ रन जोडिन् । पोखराविरूद्धको खेलमा बैतडीले २२९ रनको फराकिलो जित हासिल गरेको थियो । ७४ बलमा शतक हिर्काएकी रेखा सबैभन्दा छिटो शतक बनाउने महिला क्रिकेटरमा दर्ज भएकी छन् । शतक बनाउने तीनैजना खेलाडीमा अन्तर्राष्ट्रिय अनुभव छ । नेरीले सन् २००७ मा मलेसियामा भएको एसीसी वुमेन्स प्रतियोगिता र सन् २०१० को एसीसी यू–१९ वुमेन्समा सहभागिता जनाएकी थिइन् । यसैगरी, रेखालाई सन् २००९ मा एसीसी वुमेन्स टी–२० च्याम्पियनसिपमा र २०१२ को एसियन गेम्स खेलेको अनुभव छ । अञ्जली सन् २०१० मा सिंगापुरमा सम्पन्न एसीसी यू–१९ महिला क्रिकेटमा सहभागी भएकी छिन् ।
यो कीर्तिमानले महिला खेलाडी पनि पुरूषजस्तै सक्षम छन् भन्ने प्रमाणित भएको छ । नेपालमा खेलाडीलाई सरकारबाट हौसला तथा सम्मान देखाइन लागेको धेरै भएको छैन । खेलाडीले आफ्नै प्रयासबाट खेलेर देशको नाम राखेका छन् । नेपाली महिलालाई पनि उपयुक्त प्रशिक्षण दिनसके उनीहरुले अपेक्षित नतिजा हासिल गर्न सक्छन् भन्ने उदाहरण महिला क्रिकेटरहरुले देखाएका छन् । महिला खेलाडीहरु विभिन्न खेलकुदमा अन्तर्राष्ट्रिय च्याम्पियन बनिरहेका छन् । तर, क्रिकेटको इतिहासमा अन्तर्राष्ट्रिय सहभागीका रुपमा मात्रै सीमित भएका छन् । पूर्वब्याडमिन्टन स्टारसमेत रहेकी नेरी एसियन काउन्सिलको टेस्ट नखेल्ने राष्ट्रका तर्फबाट उत्कृष्ट खेलाडी चुनिएकी थिइन् । त्यसयता, महिला खेलाडीलाई राष्ट्रका तर्फबाट प्रोत्साहन गर्न सकिएको छैन । उपयुक्त अवसर र प्रशिक्षणसहित महिला क्रिकेटका लागि सरकारले उत्साह प्रदान गर्नसके महिला क्रिकेटरतर्फ आकर्षण बढ्नुका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सम्मानजनक स्थान हासिल गर्न सक्ने देखिएको छ ।
Discussion about this post