बसन्त पराजुली
भरतपुर । चितवनका धेरैजसो स्वास्थ्यकेन्द्रहरु प्रमुखविहीन अवस्थामा छन् । ग्रामीण क्षेत्रमा डाक्टरको उपनामले चिनिने ‘हेल्थ असिष्टेण्ट’ लामो समयसम्म पदपूर्ति नगरिँदा स्वास्थ्य केन्द्रहरु प्रमुखविहीन बनेका हुन् ।
‘चितवनका स्वास्थ्यकेन्द्रहरुमा क्रमशः स्वास्थ्यकर्मी रित्तिँदै छन्’, जिल्ला जनस्वास्थ्य कार्यालयका एक अधिकृतले भने, ‘प्रमुखविहीन स्वास्थ्य केन्द्रहरुले कस्तो सेवा दिइरहेका होलान् ? अचम्म छ !’
जिल्लामा २४ स्वास्थ्यकेन्द्र, १२ उपस्वास्थ्य केन्द्र र तीन प्राथमिक स्वास्थ्यकेन्द्र रहेका छन् । स्वास्थ्यकेन्द्रहरुमा ‘हेल्थ असिष्टेण्ट’ र उपस्वास्थ्य केन्द्रमा अहेव र प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर प्रमुख रहने व्यवस्था छ, तर चितवनमा दरबन्दी रहेका ३० हेल्थ असिष्टेण्टमध्ये अहिले १४ जना खाली छन् । सवै स्वास्थ्य केन्द्रका प्रमुख हुन् ।
‘दरबन्दीअनुसार अनुपस्थित हुने त छँदैछन् भएका स्वास्थ्यकर्मी पनि हेल्थपोष्टमा बस्दैनन्’, चण्डीभञ्ज्याङ गाविसका शिक्षक विश्वनाथ गुरूङ थप्छन्, ‘चण्डीभञ्ज्याङ गाविसमा त प्रमुखमात्रै होइन, अहेव र एक जना नर्स रिक्त भएको लामो समय हुँदा पनि पदपूर्ति हुन सकेको छैन ।’
‘भएका एक जना अहेव पनि कहिले तालिम कहिले गोष्ठी भनेर जिल्ला सदरमुकाम गइरहन्छन्’, गुरूङले भने, ‘ चौबिसै घण्टा प्रसूति केन्द्र चलाइएको छ । एउटा अनमी खाली छ भने भएकी एउटा अनमीलाई पनि लामो तालिमका लागि काठमाडाँै पढाइएको छ ।’ अधिकांश अवधि स्वास्थ्यकेन्द्र पियनकै भरमा चल्नुपर्ने बाध्यता रहेको पनि उनले दुखेसो पोखे ।
यो समस्या अहिले चितवनका प्रायः स्वास्थ्य केन्द्रहरुमा छन् । भएका हेल्थ असिष्टेण्टको पदोन्नती भई छैटांै तह अर्थात् जनस्वास्थ्य निरीक्षक र कतिपय निवृत्त भए पनि नयाँ व्यवस्था नहँुदा समस्या भएको हो । चितवनमा अहिले ३६ जना स्वास्थ्य कर्मचारी रिक्त रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको तथ्याङ्क छ । कार्यालयका जनस्वास्थ्य प्रशासक केयरसिह गोदार खाली दरवन्दी लोकसेवा आयोगले नै पूर्ति गर्नुपर्ने भएकाले समस्या भएको बताउनुहुन्छ ।
‘चितवनका स्वास्थ्य केन्द्रहरुमा प्रमुखसहितका कर्मचारीहरु खाली हुँदै छन्’, प्रमुख गोदारले स्वीकार्दै चितवन पोष्टको जिज्ञासामा भने, ‘यो समस्या जिल्ला जनस्वास्थ्य कार्यालय एक्लैले पूरा गर्न नसक्ने विषय हो ।’ उनले कतिपय अवस्थामा स्थानीय स्रोतबाटै स्वास्थ्यकर्मी राखिए पनि त्यो जनताको मागअनुसार पूरा हुन नसकेको पनि बताए ।
नेपाल स्वास्थ्यकर्मी संघ चितवनका उपाध्यक्ष चन्द्रमणि कँडेल ‘प्रकाश’ले ग्रामीण क्षेत्रका जनताको स्वास्थ्यमा ख्याल गर्ने हो भने स्वास्थ्यकेन्द्रहरुमा स्वास्थ्य प्राविधिकको दरवन्दी पूरा हुनुपर्ने धारणा राखे ।
‘ग्रामीण क्षेत्रका बासिन्दा जीवनजल र सिटामोल खान नपाएर मर्नुपर्ने बाध्यता छ’, उनले थपे, ‘ज्वरो आएका बेला सिटामोल र पखला लागेका बिरामीलाई जीवनजल खुवाउने मानिस पनि छैनन् । स्वास्थ्य प्राविधिकहरु खाली हुँदा जनता समस्यामा छन् ।’
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिने अन्तरिम संविधानको व्यवस्था हो, तर नियमित खोप कार्यक्रमको समेत संयोजन गर्ने स्वास्थ्य केन्द्र प्रमुख नहँुदा अहिले ग्रामीण क्षेत्र बासिन्दाको स्वास्थ्य अवस्था गंभीर हँुदैछ । चण्डिभञ्याङकी महिला स्वयम्सेविका ज्ञानुमाया चेपाङ भन्छिन्, ‘विपन्न समुदायका नागरिक उपचारका लागि जिल्ला सदमुकाम (भरतपुर) सम्म जान नसक्ने हँुदा गाउँमै भएको हेल्थपोष्टमा आवश्यक जनशक्ति र औषधि पर्याप्त हुनुपर्छ ।’
Discussion about this post