भरतपुर । युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले अवको केही वर्षमा नेपालको राष्ट्रिय राजनीतिबाट एमाओवादी पतन भएर सकिने दावी गर्नु भएको छ ।
युवा संघ नेपालका अगुवा कार्यकर्ताहरुलाई एमाले जिल्ला पार्टी कार्यालय चितवनको भरतपुरमा सम्बोधन गर्दै अध्यक्ष बस्नेतले एमाले नै नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएकोले एमाओवादी पतन हुने बताउनुभयो । उहाँले एमाओवादीको सन्निकट दोस्रो विभाजनले नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ क्षितिज उर्घार्ने जिकिर गर्दै समानान्तर २ वटा कम्युनिष्ट पार्टी चल्न नसक्ने ठोकुवा गर्नुभयो ।
नेपाली कांग्रेसको नेतृत्वको सरकारले केके नै गर्ला जनमुखी कार्यक्रम ल्याउला भन्ने आशा नेपाली जनतामा नरहेको र कांग्रेसले त्यस्ता कार्यक्रम पनि ल्याउन नसक्ने दावी गर्दै बस्नेतले एमालेले ढुक्क भएर प्रतिपक्षमा बस्दा नै उपयुक्त हुने बताउनुभयो । पैसाको भरमा कांग्रेसले यसपटक निर्वाचन जितेको भन्दै बस्नेत एमालेले पार्टीलाई मजबुत बनाउँदै लैजाने हो भने अबको पहिलो दशकमा एमाओवादी र अर्को दशकमा कांग्रेस सकिने भन्दै कांग्रेसजस्तो अलोकतान्त्रिक पार्टी टिक्न पनि नसक्ने बताउनुभयो । कुरा लोकतान्त्रिक गरेपनि चरित्र र व्यवहार अलोकतान्त्रिक कांग्रेस हजुरबुबा कांग्रेस भएकोले नाति पनि कांग्रेस भएकै कारण टिकेको उहाँको बुझाइ थियो ।
एमाले अब युवाहरुले हस्तक्षेपको भूमिका खेल्ने भन्दै अध्यक्ष बस्नेतले पार्टीको आगामी महाधिवेशनले कसलाई के पदमा लग्ने भन्ने जिम्मा कार्यकर्तालाई छोड्न आग्रह गर्नुभयो । ‘पार्टीका ठूला नेताहरु मिलेर पद भागबण्डा गर्ने कुरा ठीक होइन्, कसलाई कुन पदमा राख्ने हो भन्ने जिम्मा एमालेका इमान्दार कार्यकर्तालाई नेताहरुले छोड्नुपर्दछ’ अध्यक्ष बस्नेतले भन्नुभयो, ‘सत्ताको फोहरी खेलमा लागेर पार्टीमा सौद्धाबाजी गर्ने छुट कसैलाई हुदैन् ।’
Discussion about this post