भरतपुर । कविडाँडा साहित्य समाज चितवनको आयोजनामा शनिबार उपन्यासकार नयनराज पाण्डेको बहुचर्चित उपन्यास ‘घामकिरी’माथि अन्तक्र्रिया गरिएको छ । समालोचक डा. एकनारायण पौडेलले ‘घामकिरी’माथि रोचक ढंगबाट समालोचना गर्दै उपन्यासले सिर्जना गर्ने भ्रमले नै यसलाई अझ बढी रोचक बनाएकोे बताउनुभयो । उहाँले उपन्यासमा विज्ञान, इतिहास, चलचित्र, समाजलगायत विविध पक्षको भिन्दै किसिमको संयोजन रहेको उल्लेख गर्नुभयो ।
अर्का समीक्षक डा. नेत्र एटमले ‘घामकिरी’लाई पृथक शैलीको उपन्यासका रूपमा चर्चा गर्दै यसलाई फरक ढंगबाट पढ्न पाठकहरुलाई सुझाव दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि पुरूषोत्तम सुवेदीले नेपालमा आख्यानको सय वर्षको इतिहासबारे चर्चा गर्दै पाण्डेको कृतिले नेपाली आख्यानमा फरक मान्यता स्थापित गर्ने बताउनुभयो ।
कार्यक्रममा उपन्यासको नारी पात्रका विषयमा सरिता तिवारी तथा स्वेर कल्पना (फेन्टासी) बारे रमेश प्रभातले व्याख्या गर्नुभएको थियो । यस्तै भाषा शिल्पका बारेमा डा. मतिप्रसाद ढकालले चर्चा गर्नुभयो । प्राध्यापक तथा साहित्यकार एलबी क्षेत्री प्रमुख अतिथि रहनुभएको कार्यक्रममा मकवानपुरका सचिव छवि अनित्य, जेनन नेपाललगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post