बसन्त पराजुली
भरतपुर । चितवनका ग्रामीण क्षेत्रका केही समुदायलाई लक्षित गरी क्यान्सर रोगको परीक्षण कार्य सुरू गरिने भएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र नेपाल अबुद्र्ध रोग निवारण संस्था चितवनले सो कार्यको थालनी गर्न लागेको हो ।
‘चेपाङ, थारूलगायतका केही जातीका समुदायस्तरमै गएर क्यान्सरको अवस्थाका बारेमा परीक्षण गर्न लागिएको हो’, नेपाल अबुद्र्ध रोग निवारण संस्था चितवनका अध्यक्ष दिनेशकुमार चुकेले भने, ‘समुदायस्तरमै गएर क्यान्सरको अवस्था परीक्षण गर्ने कार्य सुरू गर्न लागिएको हो ।’
यो कार्य माघ पहिलो साताबाटै सुरू गरिने तयारी भइरहेको छ । क्यान्सर अस्पतालले परीक्षणका लागि प्राविधिक जनशक्ति सहयोग गर्ने र संस्थाका तर्फबाट अन्य सहयोग जुटाउने बिहीबारमात्रै दुवै पक्षबीच सहमति भएको छ । सहमतिअनुसार अस्पतालले दुई जना क्यान्सर विशेषज्ञलाई थप एक हप्ताको अध्ययनका लागि भारत पठाउने तयारी गरेको छ ।
क्यान्सर लागेर अन्तिम अवस्थामा मात्रै अस्पताल आउँदा बिरामीको उपचार गर्न कठिन भएकाले सुरूकै अवस्थामा क्यान्सरका बिरामी उपचारका लागि अस्पताल आऊन् भन्न जनचेतना जगाउनका लागि पनि परीक्षण गर्ने कार्यको सुरूवात् गर्न लागिएको हो । क्यान्सर लागेका बिरामी सुरूकै अवस्थामा अस्पताल आएमा उसको सहज उपचार हुनेछ ।
क्यान्सर रोगको परीक्षणसँगै अबुद्र्ध रोग निवारण संस्थाले सिनेमा हलका सञ्चालकसँग समन्वय गरी सूर्तिजन्य वस्तुहरु सेवनमा रोग लगाउने गरी सूचना सार्वजनिक गर्ने गृहकार्य अगाडि बढाएको छ । सार्वजनिक स्थानमा भइरहेको चुरोटखैनी खानेहरुलाई नियन्त्रणमा लिई कानुनी कारबाही बढाउन पनि संस्थाले प्रहरीसँग अनुरोध गरेको छ ।
यस्तै, अबुद्र्ध रोग निवारण संस्थाले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कुरूवा भवनमा माथिल्लो तला थप गर्नका लागि १० लाख रूपैयाँ सहयोग गर्ने पनि अध्यक्ष चुकेले जानकारी दिए ।
अस्पतालमा बिहीबार नै अस्पतालका कार्यकारी निर्देशक डा. लक्ष्मीनारायण सिंहसहितको टोलीसँग भेटेर संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको टोलीले क्यान्सर रोग नियन्त्रणका लागि सञ्चालन गरिने कार्यक्रमहरुमा दुवै निकाय बीच सहमति र सहकार्यमा अगाडि बढ्ने सहमति समेत गरेका छन् ।
Discussion about this post