भरतपुर । पूर्णप्रसाद धमला ७७ वर्षको हुनुभयो । उहाँको धर्मपत्नी भक्तकुमारी उहाँभन्दा पाँच वर्षले मात्र कान्छी हुनुहुन्छ । यी वृद्व दम्पतीका तीन सन्तान थिए । तर यो बुढेसकालमा सन्तान साथमा नहुँदा असहाय र बेसहारा जीवन बिताउनु परेको छ । उहाँहरु अहिले भरतपुरको पुरानो हाट बजार लाग्ने स्थानमा कष्टपूर्ण सडकको जिन्दगी बिताउन विवश हुनुहुन्छ ।
नुवाकोटबाट चितवन बसाइँ सरेर माडीको गर्दी गाविसमा आउनुभएका धमलाको परिवार त्यतिबेला विक्षिप्त बन्यो, जतिबेला विनासकारी बाढी आएर घर, खेत, गाईवस्तु सबै बगाएर लग्यो । त्यो बाढीले आफ्ना तामाका मुनाजस्ता सन्तानलाई पनि बाँकी राखेन । धमला दम्पतीको बुढेसकालको सहारा सन्तान र सम्पत्ति केही पनि बाँकी रहेन । जीवनको उतराद्र्धमा यी दम्पती जीवन गुजाराका लागि सानोतिनो काम गर्न भरतपुर आए । तर बुढ्यौली र कमजोर शरीरका कारण उनीहरुले श्रम गर्न सकेनन् ।
‘बुढो भइयो, शरीरमा शक्ति छैन्, काम गर्न नसकेपछि मागेर खानुपर्ने अवस्था आयो’, पूर्णप्रसादले आँखा रसिलो बनाउँदै भन्नुभयो, ‘मागेरै खाए पनि बाँचिएकै थियो । अहिले पापी पेट पाल्न पनि साह्रै समस्या परेको छ ।’
‘बिहान खाए बेलुकी के खाने, बेलुकी खाए बिहान के खाने’ भक्तकुमारीले भन्नुभयो, ‘दैवले छोराछोरीलाई चुँडेर लग्यो । श्रीमान्लाई पनि प्यारालाइसिस भएको चार वर्ष भयो, पैसा नभएर उपचार गर्न सकेको छैन ।’ उनीहरुकोे दयनीय अवस्था देखेर कुनै मनकारी व्यक्तिले दुईचार पैसा र चामल ल्याएर दिन्छन् । त्यसबाट अलिअलि गुजारा चल्दै आएको छ ।
कुनै संस्थाले सहयोग गरेनन् भन्ने प्रश्नमा भक्तकुमारीले गुनासो पोख्नुभयो, ‘कति संघसंस्थाहरु सहयोग गर्छौँ भनेर आउँछन्, आस देखाएर जान्छन् । हाम्रो नाउँ बेचेर उठेका पैसा उनीहरुले नै खाएर जान्छन् ।’
कसले कति सहयोग दियो आफूलाई थाहा नै नदिई निरास बनाउने गरेको उहाँहरुको दुखेसो छ । राज्यबाट दिने सुरक्षाभत्ता पनि नागरिकता नभएका कारण लिन नपाएको भक्तकुमारी बताउनुहुन्छ । पूर्णप्रसादको नागरिकता भए पनि ठाउँको पहिचान नहुँदा भत्ता लिनबाट वञ्चित हुनुपरेको छ ।
‘दिनहुँ गाडी लिएर मान्छे लिन आउँछन् । यसै क्रममा देवघाटधामको आश्रममा पनि बस्योैँ, तर बिरामी श्रीमान्लाई उल्टै काम गर्न लगाएपछि त्यहाँबाट पनि निरास भएर सडकमै आउन बाध्य भयौँ’, भक्तकुमारी स्मरण गर्दै भन्नुभयो । सबै मानिस बूढो हुनुपर्छ । रोगले बुढ्यौलीमा नै बढी च्याप्छ । त्यसमा पनि कसैको आड–भरोसा पाउने उमेरमा मागेर खानुपर्ने विवशता कमैलाई पर्छ । यी दम्पतीको विगतका दुःख पीडा त इतिहास बनिसक्यो । ती घटना सम्झिसाध्य पनि छैनन् ।
वर्तमानमा समेत दुःखले छाडेको छैन । जीवनको उतराद्र्धमा यी दम्पतीको कुनै ठूलो मोह र चाहना छैन । ‘जहाँ रहे पनि जसरी रहे पनि सडकमा मन नपरोस्’ दम्पतीले एकै श्वरमा भने । सडकको बास नहोस् भन्ने मात्र हो । कुनै मठमन्दिरमा ठाउँ पाए बाँकी जीवन भजनकीर्तन गरेर बिताउने धमला दम्पतीको धोको छ । यतिखेर धमला दम्पती सहयोगीको साथ र हातको खोजीमा छन् । –नरमाया गुरुङ (प्रशिक्षार्थी)
Discussion about this post