नवलपरासी । जिल्लामा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ । पछिल्ला दिनहरुमा दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा वृद्धि भएको समेत नवलपरासी जिल्ला ट्राफिक कार्यालयले जनाएका छ ।
पछिल्लो पटक विगत केही दिनदेखि चिसोसँगै बढेको बाक्लो हुस्सुका कारण पनि सवारी दुर्घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लाइट बाल्दा समेत सडक नै नदेखिने गरि लागेको हुस्सुको समयमा समेत चालकले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना बढेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सञ्जिव शर्माले चितवन पोष्टलाई बताए ।
जिल्लाको पूर्वपश्चिम राजमार्गसँगै परासी—महेशपुर र भैरहवा—भूमही सहायक सडक खण्डमा भएका सवारी दुर्घटनाबाट सबैभन्दा बढी मानवीय क्षति भएको उनले जानकारी दिए । चालु आर्थिक वर्ष २०७०–०७१ को गत साउनदेखि मंसिर मसान्तसम्म पूर्वपश्चिम राजमार्गसँगै परासी—महेशपुर र भैरहवा—भूमही सहायक सडक खण्डमा मात्र ३४५ सवारी दुर्घटना भएका छन् । जसमध्ये ६३ जनाको मृत्यु भएको छ ।
त्यस्तै सोही अवधिमा सवारी दुर्घटनामा परी ३७६ जना घाइते भएको कार्यालयले जनाएको छ । घाइतेमध्ये १०० बढीको अंगभंग भएको प्रवक्ता शर्माले जानकारी दिए ।
दुर्घटना भएका सवारी साधनमध्ये सबैभन्दा २०२ वटा मोटरसाइकल रहेको कार्यालयले जनाएको छ । त्यस्तै ३९–३९ वटा बस र ट्रक दुर्घटना परेका छन् भने जिप र कार ३८, ट्याक्टर २१ र माइक्रो ४ वटा दुर्घटनामा परेका छन् ।
दुर्घटना भएका मध्ये अधिकांश चाडपर्वका बेला क्षमताभन्दा बढी यात्रु बोक्दा अनियन्त्रित भई दुर्घटना भएका र जाडो लागेपछि बढेको हुस्सुले गर्दा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक शर्माले बताए ।
यता जिल्ला ट्राफिक कार्यालय तथा यातायात व्यवसायीले दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर बाह्रकोटीका अनुसार यात्रु तथा चालकलाई ट्राफिक नियम पालना तथा सवारी दुर्घटना न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।
चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रुहरु राखेर सवारी चलाउनु र पैदलयात्रुहरुको असावधानीका कारण दुर्घटना बढ्दै गएकोले ट्राफिक चेतनासम्बन्धी कार्यक्रम विद्यालय तथा कलेजहरुमा सञ्चालन गरिएको उनले जानकारी दिए ।
Discussion about this post