धादिङ । धादिङको उद्योग व्यवसायलाई प्रभावकारी बनाउने सन्दर्भमा उद्योग मन्त्रालयका सचिव कृष्ण ज्ञवालीसहितको टोलीसँग छलफल भएको छ ।
सचिव ज्ञवालीको नेतृत्वमा धादिङवेसी आएको उद्योग मन्त्रालय, शान्ति तथा पुनर्निर्माण मन्त्रालय तथा उद्योग विभागका उच्चस्तरीय पदाधिकारी संलग्न टोली र धादिङका उद्योगी व्यवसायीबीच छलफल भएको हो ।
द्वन्द्वपीडित महिला तथा बालबालिकाका लागि शान्ति तथा पुनर्निर्माण मन्त्रालयद्वारा गत वर्ष सञ्चालन गरिएको विभिन्न सीपमूलक तालिम लिएका द्वन्द्वपीडितले सञ्चालन गरिरहेको व्यवसायको अनुगमन गर्न आएको टोलीमा उद्योग सचिवका अतिरिक्त उद्योग मन्त्रालयका सहसचिव जितबहादुर थापा, शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सहसचिव साधुराम सापकोटा, उद्योग विभागका कार्यकारी निर्देशक नवीनकुमार झालगायत विभागका उच्चस्तरीय कर्मचारीहरूको सहभागिता रहेको थियो ।
छलफल कार्यक्रममा जिल्लाका ठूला तथा साना उद्योग व्यवसायको अवस्था, पर्यटन क्षेत्रको विकास, ऊर्जा तथा कलकारखाना स्थापनाको सम्भावना, जैविक तरकारी र फलफूलखेतीको सम्भावना तथा बजारको अवस्था, खनिजजन्य पदार्थको उत्खनन तथा सदुपयोग र द्वन्द्वपीडितले सञ्चालन गरिरहेको व्यवसायमा देखिएको समस्या र समाधानका उपायमाथि छलफल गरिएको थियो ।
सो अवसरमा सचिव ज्ञवालीले राजधानीसँग सीमा जोडिएको धादिङ जिल्लामा उद्योग, पर्यटन व्यवसाय र जैविक खेतीको प्रचुर सम्भावना रहेकाले उद्योगी व्यवसायीलाई त्यसको विकासमा लाग्न आग्रह गर्नुभयो ।
तालिमपश्चात् साना घरेलु उद्योग सञ्चालन गरिरहेका द्वन्द्वपीडितले आफूहरूलाई व्यवसाय सञ्चालन गर्न सहज र सुलभ किसिमले बिना धितो ऋण उपलब्ध गराउनुपर्ने र थप तालिमको व्यवस्था गर्नुपर्ने माग अनुगमन टोलीसमक्ष राखेका थिए ।
विभिन्न सीपमूलक तालिम प्राप्त गरेका ८० जना द्वन्द्वपीडितमध्ये ५० प्रतिशतले व्यवसाय सञ्चालन गरिरहेका छन् । रासस
Discussion about this post