सभासद् छनोटमा विवाद

अन‌ि यो पनि

राजनीतिक दलहरुमा समानुपातिक सभासद् छनोटको विषयलाई लिएर विवाद उत्पन्न भइरहेको छ । निर्वाचन आयोगले समानुपातिक सभासद्को सूची बुझाउन अन्तिम पटक आग्रह गरेपछि विवेकसम्मत सभासद् छनोट नगरिँदा दलहरुभित्र तीव्र कलह बढिरहेको छ । यतिखेर पार्टीभित्र इमानदार कार्यकर्ता र त्यागी नेताभन्दा आफ्ना परिवार तथा आफूनिकटका व्यक्तिहरुलाई सभासद्मा छनोट गरेको भन्दै दलहरुभित्र व्यापक आलोचना भइरहेको छ । गुटगत भागबन्डा तथा आर्थिक चलखेलबाट सभासद् छनोट गरेको विषयमा दलका कार्यकर्ताहरु रूष्ट बनेका छन् । यसले राजनीतिक दलका शीर्ष नेताहरुको चरित्र उदाङ्गो बनाएको छ ।
व्यापारिक घरानाका व्यक्तिसँग पैसा लिएर सभासद् बनाएकोे विषयमा एमालेभित्र विवाद चर्किएको छ । यस्तै, मनोमानी ढंगले आफन्तलाई सभासद् बनाएको विषयले राप्रपा नेपालमा विभाजन ल्यायो । क्षमता र योगदानको कदर नगरी भागबन्डाका आधारमा सभासद् बनाइएकामा कांग्रेसभित्र कलह बढिरहेकोे छ । छलफलबिना एकलौटी ढंगले समानुपातिकको सूची आयोगमा बुझाएकोमा एमाओवादीमा टकराव देखिएको छ । विभिन्न दलका नेताले आफ्ना श्रीमती, आफन्त, व्यापारी, हत्या आरोपित तथा चाकडी गर्नेलाई सभासद् बनाएकोमा पार्टी कार्यालय तालाबन्दी र तोडफोड गरी तीव्र असन्तुष्टि पोखेका छन् । दलका नेताहरुको यस्ता प्रवृत्तिले सभासद् पद र प्रतिष्ठाको गरिमासमेत घटाएको छ  ।
जिम्मेवार ठानिएका दलका नेताहरुबाटै भाँडभैलो र अलोकतान्त्रिक गतिविधि बढ्नु दुःखको विषय हो । नेताका यस्ता चरित्र र कार्यशैलीका कारण यतिबेला पार्टीप्रति प्रतिबद्ध नेता तथा कार्यकर्ताको आत्मसम्मानमा ठेस लागेको छ । संविधानसभाको दोस्रो निर्वाचनमा दलबीच आन्तरिक गुटबन्दी हटेको ठानिए पनि पद र प्रतिष्ठाको सवालमा सबै दलबीच गुट–उपगुटको पुनरावृत्ति भएको छ । नेताका खल्तीबाट सभासद् छानिनु अन्याय हो । यसले निष्ठावान् र त्यागी कार्यकर्ताको स्वाभिमानमा आघात पुगेको छ । यसले पार्टी विभाजनको खतरा पनि निम्त्याएकोे छ । लोभीपापी, हत्या आरोपित र नेताका चाकडी गर्नेहरुलाई सभासद् बनाउने विगतको रोग बल्झिएको छ । जीवनभर पार्टीभित्र दुःख गरेका, आन्दोलनमा परिवार गुमाएका, बेपत्ता, अपाङ्ग, पार्टीमा योगदान गरेका व्यक्तिहरुलाई प्रोत्साहित गर्नुपर्नेमा झनै पीडित बनाइएको छ ।
नेताहरुलाई खुसी बनाउन सक्नेहरु भटाभट सभासद् बन्ने र पार्टीकै लागि मर्नेचाहिँ पाखा लाग्ने स्थितिले समानुपातिक निर्वाचन प्रणालीको औचित्य समाप्त भएको देखिएको छ । समावेशीका नाममा अलोकतान्त्रिक पद्धति विकसित हुन थालेपछि त्यसले दलहरुलाई सर्वत्र आलोचित गराएको छ । यस्तो विकृति अन्त्य गर्न सबै पार्टीका युवाले संयुक्त अभियान नै चलाउनु पर्ने देखिएको छ । पार्टीभित्र मनोमानी चरित्र हाबी भएपछि सबै दलभित्र आन्तरिक विद्रोह सुरू भइसकेको छ । यस्तै प्रवृत्ति हाबी हुँदै जाने र इमानदार कार्यकर्ताहरु अवसरबाट वञ्चित हुँदै जाने हो भने यसले दलहरुमा गम्भीर फूट ल्याउँछ । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पहिले दलका नेताहरुमा लोकतान्त्रिक आचरण देखिनु आवश्यक छ ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया