क्यान्सरपीडित बालकद्वारा सहयोगको याचना

अन‌ि यो पनि

बसन्त पराजुली
भरतपुर । चौध  वर्षीय  मनोज विश्वकर्मा अहिले  क्यान्सरसँग लड्दै छन् । हातमा पुस्तक लिएर विद्यालय जाने यो उमेरमा उनी नियमित क्यान्सरको उपचारका लागि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल धाउँदै छन् ।
बाँके विरौना निवासी मनोजको दाइने हातमा मासुको डल्लो बढेपछि उपचारका लागि अस्पताल आएका हुन् । यसअघि उनलाई नेपालगञ्जमै उपचार गरेर भरतपुर ल्याइएको हो ।
‘एक्कासी मासुको डल्लो बढ्यो । जचाउन आउँदा क्यान्सर भने’, मलिन अनुहार लिँदै उनले भने, ‘अस्पताल धाउन थालेपछि पढाइ पनि छुट्यो ।’ फागुनबाट उनी यो अस्पतालमा उपचार गराउन थालेका हुन् । अहिले उनलाई नियमित रेडियो थेरापीबाट उपचार गरिँदै छ ।
‘एकै दिन उपचार गर्न चारपाँच हजार खर्च लाग्छ’, मनोजका बुबा भागिलाल सुनारले छोराको थप उपचार गराउन आर्थिक समस्या परेको बताउँदै भने, ‘घरको आर्थिक अवस्था पनि कमजोर छ । छोरालाई मैले गर्ने खर्च गरिसकें अब खर्च गरेर उपचार गर्न सक्ने अवस्था छैन ।’
क्यान्सर अस्पतालले १४ वर्ष मुनिका बालबालिका र ७० वर्षमाथिका वृद्धवृद्धाकोे निःशुल्क उपचार गर्छ, तर उपचारमै महँगो मानिने क्यान्सरका औषधि खरिद गर्न ज्यादै महँगो पर्छ । ‘अस्पतालले त आफ्नो लगानी फ्रि भनेको छ, तर औषधि खरिद गर्न महँगो छ’, उनले दुखेसो पोख्दै भने, ‘छोरालाई बचाउनुछ । औषधि किनिदिने कुनै दाता निस्किन्छन् कि भन्ने पर्खाइमा छु ।’
अस्पतालले उपचार सेवा नै निःशुल्क भनेको अवस्थाका बिरामीको त औषधि खरिदमा यो समस्या छ । गरिब समुदायका बिरामी आर्थिक अभावमा नै बाध्यताले उपचार गराउन नपाउने हुन कि भन्ने अवस्थामा छन् । भागिलाल पनि सहयोगी नपाए उपचार गराउन नसक्ने पीडा सुनाउँछन् ।
सरकारले पनि क्यान्सरका बिरामीलाई एक लाख रूपैयाँसम्मको औषधि निःशुल्क भनेको छ, तर त्यो निर्णय कार्यन्वयन नहुँदा गरिव तथा विपन्न समुदायका बिरामीको उपचारमा समस्या छ । विपन्न समुदायका बिरामीको सहयोगका लागि अस्पतालमा रहेको क्यान्सर सेवा समाजको सहयोग पनि लक्षित वर्गसम्म पुग्न नसक्दा मनोजजस्ता बिरामीले आर्थिक अभावमा उपचार पाउन सकेका छैनन् ।
अस्पताल सञ्चालक समितिका सदस्य डा. अनिलविक्रम कार्की अस्पतालले आफ्ना सेवा निःशुल्क दिए पनि औषधि नै निःशुल्क दिन नसक्ने बताउँछन् । ‘१४ वर्ष मुनिका र ७० वर्षमाथिका बिरामीको निःशुल्क गर्ने निर्णय अस्पताल बोर्डले गरेको हो, तर उपचार गराउन लाग्ने औषधि आफै खरिद गर्नुपर्ने अवस्था छ’, डा. कार्कीले भने ।
उनले कतै उपचार गराउन आउने गरिब बिरामीका हकमा औषधिका लागि भने चन्दा उठाउनुपर्ने अवस्था रहेको पनि बताए ।
क्यान्सरपीडित बालक मनोज कक्षा सातमा पढ्छन् । उनी भन्छन्, ‘मलाई अझै धेरै पढ्न मन छ । पढेर ठूलो मान्छे हुनका लागि पहिला क्यान्सर निको हुनपर्छ ।’

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया