-विधुर ढकाल
भरतपुर । पाल्म एग्रोटेकले किसानहरुलाई ठगी गरेको तथ्य बाहिर आएको छ । किसानहरुलाई सुन्दर सपना देखाएर आर्थिक तथा श्रम शोषण गरेको किसानहरुले आरोप लगाएका छन् ।
राम्रो आर्थिक मुनाफा हुने प्रलोभनमा पारी घिउकुमारी ‘एलोभेरा’ र चिनी बिरूवा ‘स्टेभिया’को खेती गर्न लगाई विचल्लीमा पारेको किसानको आरोप छ । एकपटक खेती गरेपछि पाँच वर्षसम्म आम्दानी हुने सपना पाल्म एग्रोटेकले किसानहरुलाई बाँढेको थियो । सोही सपनाको पछि लागेर लाखौँ खर्चिएका किसानहरुले आम्दानीको नाममा हजार पनि हात नपारेको बताएका छन् ।
पश्चिम चितवनको गीतानगरमा एलोभेरा खेती गरेका किसान दीपकराज घिमिरेका अनुसार उनले साढे तीन वर्ष अगाडि करिब १० लाख रूपैयाँ खर्च गरेर एलोभेरा तथा स्टेभिया लगाएका थिए । जसबाट उनले बल्ल २२ हजार रूपैयाँ आम्दानी हात पारेको बताए ।
पाल्म एग्रोटेकले किसानहरुलाई प्रत्येक तीनतीन महिनामा एलोभेराको पात र बिरूवा खरिद गर्ने बताए पनि वर्षौ बित्दासमेत पात नउठाएको उनीहरुको गुनासो छ । ‘हामीलाई सुरूमा लाखौँको सपना देखाएर यसतर्फ ल्याए’, किसान घिमिरेले भने, ‘अहिले उत्पादन भएपछि खरिद गरेनन्, लाखौँको रकम र श्रम खेर गयो ।’
पाल्म एग्रोटेकले सुरूमा किसानहरुलाई घिउकुमारीको पात २० रूपैयाँ किलो र स्टेभियाका ७५ प्रतिशत सुकेको पात २०० रूपैयाँ प्रतिकिलोमा खरिद गर्ने सम्झौता गरेको थियो । सम्झौताबमोजिम कुनै पनि सुविधा किसानले नपाएको उनको भनाइ छ ।
घिमिरेले सुरूमा १० हजार घिउकुमारी ‘एलोभेरा’ र दुई हजार चिनी बिरुवा ‘स्टेभिया’ ४० रूपैयाँका दरले खरिद गरेर खेती सुरू गरेको बताए । कम्पनीले भने बमोजिम आम्दानी सुरू हुने समय आउँदा कम्पनीका सञ्चालक सम्पर्क बाहिर गएको बताए ।
‘हामीलाई सुरूको एक वर्षमा लगानी उठाउने आश्वासन दिएको थियो’, अर्का किसान विष्णु अधिकारीले भने, सम्झौताबमोजिम कुनै काम त भएन नै लिनुपर्ने भुक्तानीसमेत दिएको छैन ।’ किसानहरुले पाल्म एग्रोटेकका सञ्चालकसँग सम्पर्क गर्न खोज्दा कुनै चासो नदेखाएको आरोप लगाएको छ । यसबारेमा सञ्चालक रूद्र गिरीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । चितवनमा मात्र उक्त संस्थाले करिब ३० जना किसानलाई ठगी गरेको अनुमान छ । यो संस्थासँग देशभरका ४८ जिल्ला करिब ४०० किसानले कारोबार गरेको बुझिएको छ ।
यसरी लखौँको सपना देखाएर सञ्चालक सम्पर्कमा नआएपछि संस्थाको कार्यालय भरतपुर हाकिमचोकमा दैनिकजसो किसानहरु आउने गरेका संस्थाका एक कर्मचारीले बताए । सञ्चालक गिरी दमकतिर रहेका उनले जानकारी दिए ।
मंगलबारमात्र संस्थाको कार्यालयमा चितवनका करिब २० जना किसानले घेरा हालेका थिए । उनीहरुले बिहीबारसम्मको अल्टिमेटम दिँदै त्यतिबेलासम्म पनि सञ्चालक सम्पर्कमा नआए प्रशासन गुहार्ने बताएका छन् ।
Discussion about this post