नदीको तिरैतिर निकुञ्जको गस्ती

अन‌ि यो पनि

सौराहा । चितवन निकुञ्जले दुर्लभ वन्यजन्तु र जलचरको चोरी सिकार रोक्न राप्ती नदी किनारमा ६० किलो मिटर गस्ती बाटो निर्माण गरेको छ । साइकल र पैदल गस्ती गर्न मिल्ने बाटोको मंगलबार औपचारिक उद्घाटन भएको छ ।
पूर्वमा सुनाचुरीदेखि पश्चिममा गोलाघाटसम्म एक महिना लगाएर बाटो बनाएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिए । यो क्षेत्रभित्र निकुञ्जका १२ वटा सुरक्षा पोष्ट पर्दछन् । रूटमा पर्ने पोष्टका सेना र निकुञ्जका कर्मचारीले नियमित संयुक्त गस्ती गर्नेछन् ।
‘नदी किनारमा योभन्दा अगाडि हिँडडुल गर्न समस्या पर्दथ्यो अब बाटो बनेपछि गस्तीलाई सजिलो हुन्छ’ पौडेलले भने । राप्ती नदी घडियाल गोहीको वासस्थल पनि हो, तर नदीमा छोडेका धेरै घडियाल जोगिन सकेका छैनन् ।
‘नदीमा गोही मर्नुका धेरै कारण छन् । प्रदुषण मुख्य कुरा हो । यसका साथै अनाधिकृत रूपमा माछा मार्नेले प्रयोग गर्ने जालमा परेर पनि घडियाल मर्ने गरेका छन्’ पौडेलले भने । नदी किनारमा गस्ती केन्द्रित भए अनाधिकृत रूपमा माछा मार्नेहरु सक्रिय नहुने उनले देखेका छन् ।
घडियाल गोही संरक्षणका लागि निकुञ्जमा प्रजनन् केन्द्र स्थापना गर्न मह¤वपूर्ण सहयोग गरेको निकुञ्ज विभागका पूर्वमहानिर्देशक स्व. तीर्थमान मास्केकी धर्मपत्नी लक्ष्मीवदन मास्के र चितवन निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रित यादवले रूटको उद्घाटन गरेका हुन् ।
जंगलमा गैंडा, बाघलगायतका दुर्लभ वन्यजन्तु पनि चोरी सिकारको जोखिममा छन् । यस्ता जनावर मार्न जानेहरु पनि नदी छेउबाटै निकुञ्ज छिर्ने गर्छन् । ‘यसले नदी किनारमा हुने मानव चाप घटाउनेछ । अनाधिकृत मान्छेको निकुञ्ज प्रवेश रोकिने छ’ पौडेलले भने ।
चितवन राष्ट्रिय निकुञ्जमा केही वर्षअघि चोरी सिकार निकै फष्टाएको थियो । स्थानीयसँगको सहकार्य र सुरक्षा अवस्था बलियो बनाउँदै लगेकाले चोरी सिकार अहिले नियन्त्रणमा छ । सुरक्षा पोष्टहरु पनि पहिलेको भन्दा निकै बढेका छन् ।
गोलाघाटदेखि पश्चिम अमलटारी र त्योभन्दा तल त्रिवेणीसम्मै गस्ती रूट व्यवस्थित गर्ने निकुञ्जको योजना रहेको पौडेलले जानकारी दिए । नदी किनारको बाटोलाई निकुञ्जले सुरक्षा गस्तीको मुख्य बाटोको रूपमा उपयोग गर्ने योजना बनाएको छ ।
चितवन निकुञ्ज ९७२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । गोलाघाटसम्म निकुञ्जको आड भएर राप्ती र रिउजस्ता मध्यम खालका नदी बग्ने गर्छन् । गोलाघाटदेखि तल निकुञ्जको आडमा विशाल नारायणी नदी बग्ने गर्छ ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया