‘कुखुरापालनमा राष्ट्रिय नीतिको खाँचो’

अन‌ि यो पनि

प्रथम पोल्ट्री दिवस [divider]

भरतपुर । राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगट्न सफल र मुलुकलाई कुखुराजन्य उत्पादनमा आत्मनिर्भर गराउने कुखुरापालन (पोल्ट्री) व्यवसायसम्बन्धी अहिलेसम्म राष्ट्रिय नीति नहुँदा यस क्षेत्रको व्यापारीकरण र औद्योगीकरण हुन सकेको छैन ।
कृषितर्फको कुल ग्राहस्थको आठ प्रतिशत हिस्सा ओगट्न सफल यस व्यवसायमा ६० अर्बभन्दा बढीको लगानी भइसकेको छ भने एक लाखले प्रत्यक्ष रोजगारी पाएका छन् । यो व्यवसायमा पाँच हजार व्यवसायी प्रत्यक्ष रूपमा संलग्न छन् । हाल देशभरबाट दैनिक १८ लाख फुल (अन्डा), प्रतिहप्ता १० लाख ब्रोइलर चल्ला, ७२ हजार लेयर्स चल्ला, दैनिक चार लाख किलो मासु र दुई हजार एक सय मेट्रिक टन दाना उत्पादन भइरहेको छ ।
नेपालमा खपत हुने कूल मासुमध्ये १४ हजार टन मात्र बाहिरबाट ल्याउनुपर्छ । एसियाली विकास बैंकको सहयोगमा सञ्चालित तेस्रो पशु विकास आयोजनाअन्तर्गत राष्ट्रियरूपमा गरिएको मासुसम्बन्धी एक अध्ययनअनुसार, वार्षिक खपत हुने एक लाख ८९ हजार ७०० टन मासुमध्ये आन्तरिक रूपमा एक लाख ७४ हजार ४०० टन आपूर्ति हुन्छ । आन्तरिकरूपमा आपूर्ति हुने मासुको ठूलो हिस्सा कुखुराले ओगटेको छ ।
बर्डफ्लुलगायत विभिन्न रोगका कारण दुई वर्षसम्म संकटमा परेको कुखुराजन्य व्यवसायमा अहिले केही सुधार आएको व्यवसायी तथा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईले बताउनुभयो । बर्डफ्लुको सन्त्राशले गर्दा यहाँ ४० प्रतिशतले उत्पादनमा ह्रास आएको थियो । त्यसका कारण यो व्यवसाय नै छाडेर अन्य पेसा सुरू गर्ने योजनासमेत बनाएका यहाँका साना व्यवसायीले अहिले यही व्यवसायलाई नै निरन्तरता दिन थालेका छन् । चितवनमा ठूला ४०० भन्दा बढी र त्यतिकै संख्यामा साना फार्म रहेका छन् ।
कुखुराको राजधानीका रूपमा देशमै परिचित चितवनले मात्र पोल्ट्री व्यवसायको करिब ६० प्रतिशत हिस्सा ओगटेको व्यवसायी बताउँछन् । पछिल्लो समयमा समग्रमा पोल्ट्री व्यवसायमा सुधार आएको नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष चन्द्रमान श्रेष्ठको भनाइ छ । बर्डफ्लुका कारण समस्यामा परेका व्यवसायीलाई अहिले भने केही राहत मिलेको छ ।
पछिल्लो समय बर्डफ्लुका कारण बैंक तथा वित्तीय संस्थाको २५ अर्ब बराबरको लगानी जोखिममा परेको व्यवसायी बताउँछन् । सरकारले बर्डफ्लु प्रभावितको ऋणमा अनुदान तथा ब्याजमा सहुलीयत दिई विशेष राहत नदिने हो भने किसान मात्रै नभएर कतिपय बैंक तथा वित्तीय संस्थासमेत धराशायी हुने खतरा छ ।
वित्तीय संस्थाले पोल्ट्री व्यवसायमा रु ५० करोडदेखि दुई अर्बसम्म लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । विश्वका ६८ देशमा देखापरेको बर्डफ्लु नेपालमा २०६५ माघमा पहिलो पटक देखिएको थियो । बर्डफ्लुको प्रकोपबाट २२ जिल्लाका किसान प्रभावित बनेका छन् । सुरुमा मेची नगरपालिका–१० स्थित एक घरमा भारतबाट ल्याइएका पाँचवटा कुखुरामा बर्डफ्लु देखापरेकामा हालसम्म यो रोग २२ जिल्लाको २२५ स्थानमा फैलिएको पाइएको छ । नेपालमा बर्डफ्लुका कारण २१ जिल्ला उच्च जोखिम, २० जिल्ला मध्यम र बाँकी ३४ जिल्ला न्यून जोखिममा रहेका छन् ।
व्यवसायीहरूले भारतबाट भित्रिएको प्रतिबन्धित खोप तथा भिटामिनका कारण संक्रमण फैलिएको प्रमाणसहित जानकारी गराउँदा पनि स्पष्ट ऐन कानुनको अभावमा कारबाही गर्न नसकिएको सम्बन्धित सरकारी अधिकारीहरू बताउँछन् । पशुपालनअन्तर्गत नै पर्ने गाई–भैँसी तथा बाख्रा, बंगुरको बिमा हुने भए पनि कुखुराको बिमा नहुँदा किसानहरू थप मर्कामा परेका हुन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशुु विज्ञान पशु चिकित्सा र मत्स्य विज्ञान संकायका डीन, प्राडा ईश्वरीप्रसाद ढकालले बर्डफ्लुका कारण अझै पनि किसानमा त्रास छाएकाले यो रोगबाट भयमुक्त गराउन सबैमा जनचेतना एवम् सफाइ आवश्यक रहेको बताउनुभयो ।
बर्डफ्लु रोगले गर्दा किसानले करोडौं नोक्सानी व्यहोर्नुपरेका कारण सरकारले कुखुरा पालनसम्बन्धी मापदण्ड बनाउने भनेपनि अझै कार्यान्वयनमा आउन सकेको छैन । बर्डफ्लु रोकथाम गर्न कुखुरामा खोप लगाउने तयारी सरकारले गरेको छ । खोप अनिवार्य गर्ने बारेमा छलफल भइरहेको छ र चाँडै नै यसबारेमा निर्णय गरिने पशुसेवा विभागका उपमहानिर्देशक डा रामकृष्ण खतिवडाले जानकारी दिनुभयो ।
सरकारीस्तरमा २०१७ सालमा बारा जिल्लाको परवानीपुरमा सेन्ट्रल ह्याचरीको स्थापना गरी तत्कालीन राजा महेन्द्रबाट पुस १७ गते समुद्घाटन भएको दिनलाई नै नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालय, पशुसेवा विभाग, पशुपक्षी बजार निर्देशनालय र व्यवसायीको संयुक्त बैठकले यस पटकदेखि दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।
प्रथम राष्ट्रिय पोल्ट्री दिवस २०७० चितवनको रत्ननगरमा विशेष कार्यक्रमका साथ मनाइँदैछ । कुखुरा व्यवसायमा देखिएका समस्या, सुधार गर्नुपर्ने पक्ष, राज्यसँग व्यवसायीले गरेका अपेक्षासहित कुखुरा व्यवसायलाई आत्मनिर्भर बनाउन यस दिवसले सन्देश दिने अन्डा उत्पादक संघका अध्यक्ष तथा दिवस मूल समितिका संयोजक शिवराम केसीले बताउनुभयो ।
अभिलेखअनुसार नेपालमा व्यावसायिक कुखुरापालन २००८ सालदेखि सिंहबहादुर जोशीले सुरू गरेको देखिन्छ । बालाजु औद्योगिक क्षेत्रभित्र २० को दशकमा स्थापित जोशी पोल्ट्री फर्मलाई ठूलो लागतको नेपालकै अग्रणी कुखुरा उद्योग मानिन्छ ।
चितवनमा २०४० सालमा चितवन फिडको स्थापना, २०४२ सालमा एभरेस्ट फिड, ०४५ सालमा अविनास पोल्ट्री ब्रिडिङ फार्म र ०४६ सालमा हिमालयन फिडको स्थापना भएको थियो । अहिले देशका प्रायःसबै जिल्लामा नै व्यावसायिक ढङ्गबाट कुखुरापालन भए पनि यससम्बन्धी राज्यको स्पष्ट नीति नहुँदा राष्ट्रिय आवश्यकताभन्दा पनि आफ्नो आयआर्जनका लागि मात्रै भएको पाइन्छ ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया