स्मल हेभन मोडेल स्कुल भरतपुर–२, आँपटारीस्थित सुन्दर, शान्त र रमणीय वातावरणमा रहेको छ । २०६२ सालमा भेनस ई. स्कुलको नामबाट चलेको यस विद्यालय चितवन मोडेल स्कुल हुँदै २०६७ सालमा आएर स्मल हेभन मोडेल स्कुल बनेको हो । हाल यस स्कुलका सञ्चालक समितिको अध्यक्षमा सांसद् तथा शिक्षाविद् उमेश श्रेष्ठ रहेका छन् । वर्तमान अवस्थामा यस स्कुलमा चितवन र काठमाडौँका गरी १७ जना सञ्चालक छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लंकाबहादुर केसी हुन् । शिक्षक अभिभावक संघको अध्यक्षमा नवराज मरहठ्ठा छन् ।
प्ले गु्रपदेखि १० कक्षासम्म पढाइ हुने यस विद्यालय खेलमैदानसहित ३० कट्ठा क्षेत्रफलमा फैलिएको छ । ४ तलेसम्मको ८ वटा भवन छ । २०६८ सालमा पहिलोपटक एसएलसी (हालको एसईई) दिएको यस विद्यालयकी छात्रा स्वेसा श्रेष्ठ जिल्ला प्रथम भएकी थिइन् । विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, पुस्तकालय, नृत्य, गायन तथा संगीत, चित्रकलालगायत सबै किसिमका खेलहरुको खेलमैदान र त्यसको पर्याप्त तयारी भएको स्मल हेभन मोडेल स्कुलमा हाल ५५ शिक्षक, ४० कर्मचारी, १ हजार ६० विद्यार्थी छन् । भरतपुर महानगरपालिकाका संस्थागत स्कुलहरुको दुनियाँमा एउटा छुट्टै नमुना र पृथक् छाप बनाउँदै लगेका छन्, यस विद्यालयका प्राचार्य बिमल कुमार क्षेत्रीले । उनले स्मल हेभन मोडेललाई स्मार्ट स्कुल बनाउने गृहकार्य सुरू गरेका छन् । प्रस्तुत छ, उनको स्मार्ट स्कुलको अवधारणालाई केन्द्रविन्दुमा राखी उनीसँग चितवन पोष्ट दैनिकले गरेको साक्षात्कार :
१) स्मल हेभन मोडेल स्कुलले अहिलेका नयाँ पुस्ताका बालबालिकालाई कस्तो किसिमको शिक्षा दिइरहेको छ ?
— स्मल हेभन मोडेल स्कुलले नामजस्तो मोडेल शिक्षा दिइरहेको छ । यस विद्यालयले एक्काइसौँ शताब्दीको युग सुहाउँदो गुणस्तरीय शिक्षा पस्किरहेको छ । यसले पढिखाने हैन गरिखाने शिक्षा दिइरहेको छ । हामीले समयसापेक्ष, समाधानमूलक, राष्ट्रप्रति निष्ठावान्, इमानदार र जिम्मेवार बनाउने खालको शिक्षा दिइरहेका छौँ, जसबाट विद्यार्थी, अभिभावक, समुदाय सबै सन्तुष्ट छन् ।
२) महानगरका अभिभावकले स्मल हेभन मोडेल स्कुल नै किन रोज्ने ? यसका आधारहरु केके छन् ?
— धेरै आधारहरु बनेका छन् । स्मल हेभन मोडेलले कहिल्यै गुणस्तरीय शिक्षामा सम्झौता गर्दैन । यो स्कुल भौतिक पूर्वाधारले सम्पन्न छ । सबै विषयमा चितवनकै योग्य शिक्षकहरु हुनुहुन्छ । अतिरिक्त क्रियाकलापमा मुख्य फोकस हुन्छ । सुरक्षित पारिवारिक वातावरण छ । अभिभावकको सुझावलाई आत्मसात् गर्दै, विद्यार्थीहरुलाई सूचना तथा प्रविधिमैत्री वातावरण बनाउँदै गुणस्तरीय शिक्षा दिएर राष्ट्रको सञ्चा नागरिक बनाउने हामीले संकल्प गरेका छौँ । त्यही संकल्पलाई विश्वास गर्दै अभिभावकले स्मल हेभन मोडेल स्कुल रोजेका छन् ।
३) स्मल हेभन मोडेल स्कुलमा सञ्चालक, शिक्षक, कर्मचारी परिवर्तन भइरहन्छन् भन्ने आरोप छ, वास्तविकता के हो ?
— स्मल हेभन मोडेल स्कुल र चितवन मोडेल स्कुल मर्ज भएर स्मल हेभन मोडेल स्कुल बनेको हो । विभिन्न विचारका साथीहरु एउटै थलोमा बसेर सबैको विश्वास जित्ने गरी काम गर्ने वातावरण भएको पनि हो ।
समय गतिशील छ, समयको गतिशीलतासँगै केही साथीहरु गतिशील हुनुभयो र अन्य स्कुललाई राम्ररी सञ्चालन गर्न सक्छु भन्ने विचार लिनुभयो । म त भन्छु, महानगरका सबै स्कुल एक से एक राम्रो हुनुपर्छ । सबैको विचार एउटै हुँदैन । फरक फरक विचार सबैमा हुन्छ । केही सीमित साथीहरुले फरक विचार राख्दा अन्य शैक्षिक संस्थामा आबद्ध हुन जानुभयो । हिजो हामी पनि अन्य संस्थाबाट यहाँ आएका हौँ । यो संसारमा चलिरहने प्रक्रिया हो । आउने मान्छे कस्तो आयो भन्ने कुरा ठूलो कुरो हो । जाने गौण हो ।
४) तपाईं स्मल हेभन मोडेल स्कुलको प्रिन्सिपल भइरहँदा बीचमा छोडेर अर्को स्कुलमा प्रिन्सिपल हुन जानुभयो । फेरि फर्केर यहीँ आउनुभयो, किन ?
— विगतमा स्मल हेभन मोडेल स्कुलमा काम गरिरहँदा सैनिक आवासीय महाविद्यालयमा विभिन्न छनौट चरण पार गरी प्रिन्सिपलमा नियुक्ति भएँ । पेसागत ज्ञानलाई अझ परिष्कृत गर्नलाई, आफ्नो क्षमतालाई शैक्षिक शिखरसम्म पु¥याउन र सैनिक आवासीय महाविद्यालयका विद्यार्थीहरुलाई युग सुहाउँदो शिक्षा प्रदान गर्नलाई म सैनिक आवासीय महाविद्यालयमा गएको हुँ । ६ वर्ष लामो सैनिक आवासीय महाविद्यालयको अनुभवले मेरो पेसागत दक्षता बढ्यो । दृढ विश्वास अझ बलियो बन्यो । अनुभव र शैक्षिक परिपक्वताले म भरिपूर्ण भएँँ । त्यसपछि मेरो अनुभव, पेसागत दक्षता, शैक्षिक आधुनिक ज्ञानलाई पुरानै आफ्नो स्कुल (स्मल हेभन मोडेल स्कुल)मा खनाउँछु भन्ने मलाई लाग्यो र म आफ्नै घर फर्केको छु । अब यसैलाई सुन्दर, शान्त र विशाल बनाउँछु ।
५) तपाईं स्कुललाई स्मार्ट स्कुल बनाउन खोज्दै हुनुहुन्छ । कस्तो स्कुललाई स्मार्ट स्कुल भनिने हो ? कस्ता छन् योजना ?
— मेरो बुझाइमा स्मार्ट भनेको हरेक क्षेत्रमा राम्रो हो जस्तो लाग्छ । स्मार्ट भनेपछि कार्यालय सहयोगीदेखि प्रिन्सिपलसम्म, विद्यालय प्रशासनदेखि सञ्चालक समिति अध्यक्षसम्म, विद्यार्थीदेखि अभिभावकसम्म सबै स्मार्ट हुनुपर्छ । म यस स्कुललाई महानगरकै स्मार्ट स्कलु बनाउँछु । यहाँका हरेक कुराहरु स्मार्ट बनाउने गृहकार्य मैले सुरू गरिसकेको छु ।
विद्यार्थीहरुलाई सूचना प्रविधिको अधिकतम प्रयोग गर्न दिएर स्मार्ट बनाउने हो । शिक्षकलाई लगनशील, मिहिनेती बन्न सिकाएर स्मार्ट बनाउने हो । त्यस्तै, स्कुल प्रशासनलाई चुस्तदुरूस्त बनाएर स्मार्ट बनाउने हो । अभिभावकलाई काउन्सिलिङबाट उनीहरुको सुझाव ग्रहण गर्दै स्मार्ट बनाउने हो । गुणस्तरीय शिक्षा दिएर विद्यार्थीहरुलाई स्मार्ट बनाउने हो । राष्ट्रप्रति समर्पित हुने असल स्मार्ट नागरिक उत्पादन गर्ने अठोट हामीले गरेका छौँ ।
६) स्कुलका अहिलेका कार्यक्रमहरु कस्ता छन् ?
— कक्षा कोठाभित्र पूर्ण बालमैत्री वातावरण छ । गुणस्तरीय शिक्षा पस्कने शिक्षकहरु छन्, जो अहोरात्र विद्यार्थीको भविष्य बनाउन तल्लीन छन् । कक्षाबाहिरका सिकाइलाई प्रभावकारी बनाइएको छ । अतिरिक्त क्रियाकलापलाई विशेष जोड दिइएको छ । नृत्य, संगीत, चित्रकला र खेलकुदलाई प्राथमिकतामा राखिएको छ । शैक्षिक शिक्षकसहित विभिन्न अतिरिक्त क्रियाकलापका शिक्षकहरुको सिकाइले विद्यार्थी एक्स्ट्रा करिकुलममा अगाडि छन् । अभिभावकसँग राय, सल्लाह र सुझावसहित अन्तक्र्रिया गरिएको छ । एसईईको नतिजामा हरेक वर्ष जिल्लाकै उत्कृष्ट बनिरहेको छ ।
७) अन्त्यमा, स्कुलका भावी लक्ष्यहरु केके छन् ?
— आगामी शैक्षिक सत्र २०७५ देखि नै कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन संकायमा पठनपाठन सञ्चालन गरिने छ । पिजी टु पिजी (प्ले गु्रपदेखि पोस्ट ग्रयाजुएट) सम्मका कक्षाहरु एउटै थलोमा सञ्चालन गर्ने हाम्रो लक्ष्य छ । पिजी (प्ले गु्रप) मा आउने बच्चाहरुलाई मास्टर तहसम्म पढाउने हाम्रो अभियानले अभिभावक पुलकित भएका छन् । आगामी वर्षहरुमा स्नातक तहका कक्षाहरु पनि सञ्चालन गरिने छ । थप भौतिक पूर्वाधारहरु थपिने गृहकार्य भइरहेको छ ।