रामपुर । शिक्षणका अतिरिक्त अनुसन्धान र प्रसारलाई मुख्य प्राथमिकता दिने गरी स्थापना भएको कृषि तथा वन विज्ञान विश्वविद्यालयले अनुसन्धानको कार्यलाई तीव्ररूपमा अगाडि बढाएको छ ।
विश्वविद्यालयको आफ्नै आर्थिक स्रोत नभए पनि दाताहरूको सहयोगमा प्राध्यापक र अध्ययनरत विद्यार्थीले कृषि र वन क्षेत्रका अति उपयोगी विषयमा अनुसन्धान गरिरहेका छन् ।
विश्वविद्यालयका प्राध्यापकहरूले गत वर्ष सुरू गरेका २८ वटा विभिन्न शीर्षकमा अनुसन्धान भइरहेको छ । विश्वविद्यालयका अनुसन्धान निर्देशक प्रा डा नवराज देवकोटाका अनुसार विभिन्न बालीको उत्पादक¤व बढाउने, पशुको बिजवृद्धि एवम् उनीहरूमा लाग्ने रोगका विषय र साना पोखरीहरूमा माछाको उत्पादनका विषयमा अनुसन्धान भइरहेको छ ।
विश्वविद्यालयका रजिष्ट्रार डा सूर्यकान्त घिमिरेले बालीको आनुवंशिक अनुसन्धान गरिरहनुभएको छ भने विश्वविद्यालयकै प्राडा माधवकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय माछा अनुसन्धान केन्द्रको सहयोगमा साना पोखरीमा कुन जातका माछा बढी उत्पादन गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गरिरहनुभएको छ ।
अनुसन्धान निर्देशक देवकोटाका अनुसार जङ्गली जनावरबाट घरपालुवा हुँदै मानिससम्ममा सर्ने रोगहरू, पशुको आन्तरिक परजीवी, धान, गहुँ, मकै, तरकारी, फलफूललगायतको रोग र उत्पादन बढाउने विषयमा प्राध्यापकहरूले विद्यार्थीको सहयोग लिएर अनुसन्धान गरिरहेका छन् ।
विश्वविद्यालयका रजिष्ट्रार घिमिरेका अनुसार विश्वविद्यालयलाई अन्य विश्वविद्यालयझैँ शिक्षणका लागि मात्र बजेट विनियोजन गरिएपछि अनुसन्धान प्रभावित बनेको छ ।
किसानमा पर्ने समस्यालाई निराकरणका लागि प्रविधिको विकास गरी प्रसारको माध्यमबाट ती प्रविधिलाई किसानकोे बीचमा लागि कृषिमा परिवर्तन ल्याउने विश्वविद्यालयको उद्देश्य रहे पनि बजेटका कारण प्रभावित बनेको उहाँले बताउनुभयो ।
सिमित स्रोत साधन र दाताहरूको सहयोगमा महत्वपूर्ण अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । विद्यार्थीको पठनपाठनलाई मुख्य आधार बनाई गत वर्ष थालिएका २८ वटा अनुसन्धानका नतिजाहरू यसै वर्षबाट आउन थाल्ने रजिष्ट्रार घिमिरेले बताउनुभयो ।
अन्तर्राष्ट्रिय अनुसन्धान कोषमा प्रतिस्पर्धा गरी कतिपय अनुसन्धान भइरहेका छन् भने कतिपय कोलोराडो स्टेट युनिभर्सिटी अमेरिकाको सहयोगमा विद्यार्थीले अनुसन्धान गरिरहेको विश्वविद्यालयले जनाएको छ ।
त्यसैगरी सो विश्वविद्यालयले पशुसेवा विभाग र कृषि अनुसन्धान परिषद्सँग मिलेर अमेरिकाको मिथिकन स्टेट युनिभर्सिटीसँगको सहकार्यमा कतिपय अनुसन्धान गरिरहेको पशुु विज्ञान पशु चिकित्सा र मत्स्य विज्ञान संकायका डीन प्राडा ईश्वरीप्रसाद ढकालले बताउनुभयो ।
बजेट अभावका कारण स्वदेशी र विदेशी दातृ निकायहरूसँग प्रस्तावपत्र पेस गरिएको डीन ढकालले बताउनुभयो । विश्वविद्यालयको अनुसन्धान मुख्य पाटो भए पनि बजेट अभावका कारण चाहेजति अनुसन्धान हुन नसकेको उहाँको भनाइ छ ।
कृषि र वन क्षेत्रको अध्यापनका साथै अनुसन्धानका लागि खुलेको सो विश्वविद्यालयका प्राध्यापकहरू पुराना र अनुभवी भएकाले अनुसन्धान प्रभावकारी बन्ने विश्वविद्यालयको दावी छ ।
Discussion about this post