चन्द्रबहादुर सुवेदी
नेपालको राजनीतिक इतिहासमा बेलाबखत वरिष्ठ नेताहरुबाट हुने पदको त्याग अनौठो कुरा होइन । पदको त्याग स्वयम्मा ठीक वा बेठीक के हो ? त्यो लामो समयको मूल्याङ्कन र त्यसले पार्ने प्रभावबाट अन्दाज गर्न सकिन्छ । पद त्याग विविध कारणहरुबाट हुन्छ, जस्तैः व्यक्तिगत स्वार्थका लागि सजिलो मार्ग अपनाउनु, आफ्नो दलभित्र हुने विविध छलफल, विचार–विमर्श एवम् निकासका लागि जटिलता बनाउनु । अथवा, आत्मकेन्द्रित सोचाइको उपज हुनु, पार्टीभित्र उत्पन्न भएका अनेक विकृति, विसंगति, पदमोह, स्वार्थी भावना, नातावाद, कृपावाद, भ्रष्टाचार, दुराचार एवं कुसंस्कारका विरूद्ध दरिलो मुक्का प्रदान गर्नु र पार्टीका आमूल जनपक्षीय नीति एवम् कार्यक्रमलाई सहज तरिकाले कार्यान्वयनको वातावरणमा ल्याउनु ।
नेपालको राजनीतिक इतिहासमा वि.सं. २००७ सालको क्रान्तिपश्चात् नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइरालाले पार्टी त्यागको घोषणा गर्नुभयो । फलस्वरुप, उहाँले नेपालमा सामन्तवादको जग दरिलो बनाउन नेपाल प्रजा परिषद् नामको पार्टी बनाउनुभयो । त्यसैबाट उहाँ प्रधानमन्त्री पनि हुनुभयो ।
त्यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता डा. केशरजंग रायमाझीले केन्द्रीय कमिटीबाट पद त्याग गर्नुभयो । जसको फलस्वरुप उहाँ तत्कालीन राजतन्त्रको सबैभन्दा ठूलो सल्लाहकार (राजपरिषद् स्थायी समितिका सभापति) बन्नुभयो । उहाँले नेपाली जनताको मुक्ति आन्दोलनलाई निकै ठूलो धक्का दिनुभयो ।
त्यसैगरी, नेपाली कांग्रेसका संस्थापक नेता, अभिभावक एवं २०४६ सालसम्मका जनआन्दोलनका नायकका रुपमा रहेका कृष्णप्रसाद भट्टराईलाई नेपाली कांग्रेसले दुई पटकसम्म राष्ट्रको गौरवान्वित तथा सम्मानित पदका रुपमा रहेको प्रधानमन्त्रीजस्तो पद दिलायो । आखिर उहाँले पनि २०६२÷०६३ मा भएको जनताको जनआन्दोलनको उपलब्धिलाई अस्वीकार गर्नुभयो । अन्तिम समयसम्म पनि उहाँ बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रमा सीमित हुनुभयो । आखिर, उहाँले पनि कांग्रेसको केन्द्रीय समितिबाट पद त्याग नै गर्नुभएको थियो । कृष्णप्रसाद भट्टराईजत्तिको नेताले जनताको परिवर्तनको आकांक्षालाई सम्मान गर्नुभएको भए उहाँ साँच्चैको अटल नेता हुन सक्नुहुन्थ्यो, यद्यपि नेपाली कांग्रेसको आधिकारिक धारणा परिवर्तनलाई आत्मसात् गर्ने पक्षमा नै छ । यसबाट नेता भट्टराईको पद त्यागले राम्रो सन्देश दिएन ।
एनेकपा माओवादी माक्र्सवाद–लेनिनवाद–माओवादको दार्शनिक तथा सैद्धान्तिक अवधारणाबाट प्रेरित दल हो, जुन विश्वभरका शोषित, पीडित जनताको मुक्तिको आधार पनि हो । हालको अन्तर्राष्ट्रिय परिवेश र नेपालको भू–धरातलीय अवस्थामा लोकतन्त्रको संस्थागत विकास गर्ने, राष्ट्रमा भोक, रोग र अशिक्षा हटाई दिगो शान्तिको वातावरण कायम गर्ने, माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक तथा दार्शनिक आधारलाई नेपालको शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रियाअनुरुप राष्ट्रमा उच्च छवि कायम राखी विश्वजनमानसमा नै नयाँ राजनीतिक प्रणालीको आधारशीला विकास गर्नु यसको मूल राजनीतिक आधार हो । दीर्घकालीन जनयुद्ध र शान्तिपूर्ण राजनीतिक वातावरणबाट आएको एकीकृत माओवादी दलको भूमिका सर्वपक्षीय रुपमा नै व्यापक महसुस गरिएको छ । यसका नेता र कार्यकर्ताहरु लामो जनसंघर्षको आँधीबेहरी खपेर आएका, कुनै उत्तेजना र भावावेशबाट नभई देशको वास्तविक राजनीतिक पद्धतिबाट सुसूचित र निर्देशित भएको कुरा अनुभूत गर्ने गरिएको छ ।
बाबुराम भट्टराई नेपाली जनताको मुक्ति आन्दोलनलाई नेतृत्व गर्ने होनाहार नेता एवं आशा र भरोसाको केन्द्रबिन्दुमा हुनुहुन्छ । सार्वजनिक रुपमा उहाँले बताउनुभएको थियो कि पार्टीको जुनसुकै तहमा बसेर जस्तोसुकै त्याग गर्दा पनि म खुशी नै हुनेछु । यदि उहाँको यस्तो सोचाइ कुनै आग्रह–पूर्वाग्रह र भावावेश नभई पार्टीभित्र उठेको पदमोहलाई साम्य पार्ने दिशामा आएको हो भने उहाँ अत्यन्त ठूलो कृतज्ञताका पात्र हुनुहुन्छ । उहाँजस्तो वरिष्ठ नेताले यस्तो उदाहरण दिनु स्वयम् कम्युनिस्ट पार्टीका लागि र अन्य प्रतिपक्षी पार्टीका लागि उदाहरणीय विषय बन्नेछ ।
पक्कै पनि नेपालका धेरै नेता र कार्यकर्ता ठूलो पदमा पुग्ने, धेरै आर्थिक लाभ लिने र व्यापक जनसमुदायभन्दा पृथक् तडकभडकको अवस्थामा छन् । पद, प्रतिष्ठा, धन, दौलत र शक्ति हाबी वर्तमान राजनीतिमा छ । ठूला–ठूला अपराधी, कुख्यात एवम् भ्रष्ट व्यक्तिहरुको तालमेलबाट सत्ता प्राप्त गर्ने र सत्ता प्राप्तिपछि उनैको निर्देशनमा काम गर्ने, उनैको सेवा गर्ने प्रवृत्ति नेपाल र यस्तै अल्पविकसित एवम् विकासशील देशको राजनीतिक चरित्र बन्न पुगेको छ । धेरै हदसम्म देश पछि पर्नु, सामाजिक विद्रोह हुनु, अशान्ति हुनुका पछाडि यिनै कारक त¤वहरु लुकेका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय यो परिवेशमा एनेकपा माओवादीका नेताहरुले पार्टी शुद्धीकरणका लागि, क्रान्तिकारी शुद्धीकरणका लागि एवम् पदका लागि नेता र कार्यकर्ताको बीचमा हुने वैमनस्यता एवम् मनमुटाव शिथिल पारी पार्टीलाई अत्यन्त दरिलो, संगठित एवम् जनताको हृदयमा स्थापित गराउनका लागि भनिएका कुरा व्यवहारमा देखाउन सक्ने र निर्णयलाई कार्यान्वयनमा लगिने भए यो अत्यन्त स्वागतयोग्य छ । यसले नेपालको राजनीतिमा सकारात्मक र दूरगामी प्रभाव पार्नेछ ।
आखिर, पद त्याग गरे पनि वा जे भने पनि राष्ट्रको नेतृत्व वरिष्ठ तथा सक्षम नेताहरुले नै लिनुपर्ने कुरामा कुनै दुई मत छैन । नेपालमा गरिब किसान एवम् श्रमजीवी सर्वहारा जनताको राज्यव्यवस्थामा केही पहुँच पुगेको यो अवस्थालाई कसैले पनि अवमूल्यन गर्नुहुँदैन । अब नेता, कार्यकर्ता र जनता प्रतिगमनका विरूद्ध सजग रहनु आवश्यक देखिन्छ । वामपन्थी, कम्युनिस्ट पार्टी र प्रगतिशील जनसमुदायको ठूलो हिस्सा भएको अवस्थामा नयाँ संविधानसभाबाट जनपक्षीय संविधान घोषणा गराउनु आज समयले दिएको चुनौती हो । कम्युनिस्ट पार्टीका नेताहरुले शान्तिपूर्ण जनसंघर्षको माध्यमबाट सडक र सदन दुवैलाई आफ्नो पहुँचमा राख्दै, विपक्षीसँग हातेमालो गर्दै सुदृढ नेपाल बनाउनु आजको आवश्यकता हो ।
Discussion about this post