बसन्त पराजुली
भरतपुर । दुई महिना अघिसम्म उनको परिचय ‘खलासी’ अर्थात् गाडी चालकका सहयोगी थियो । हरेक दिन उनको दिनचर्या ‘जाऔँ–जाऔँ गुरूजी’ भन्दै भाडाका गाडी चालकलाई सहयोग गरिरहन्थे, तर अहिले उनको परिचय फेरिएको छ । १६ वर्षीया किशोर सुशील कुँवर अहिले फलफूल बच्ने व्यापारी बनेका छन् ।
‘सानै उमेरमा पढ्न छोडेर गाडीमा लागियो । डेड वर्षजति गाडीमा हिँडेपछि घर फकाइयो’ बाबु आमासँगै भरतपुरमा डेरा गरी बस्ने कुँवरले भने, ‘घरको आर्थिक अवस्थाले गर्दा गाडीको खलासी हुन पुगियो, तर अहिले छोडियो ।’
बालकै उमेरमा श्रम गरेको पाइएपछि दियालो परिवारद्वारा सञ्चालित पारिवारिक पूनर्मिलन कार्यक्रमले उनलाई घर फर्काएको हो । युनिसेफको सहयोगमा भरतपुर नगरपालिका मार्फत आएको सो कार्यक्रममार्फत बालश्रमिकका परिवारलाई आयआर्जनका लागि आर्थिक सहयोग दिने गरेको छ ।
‘सहयोग पाएको १५ हजार रूपैयाँले ठेला किनें, अनि त्यसमा सुन्तला राखेर बिक्री गर्न थाले’, उनले सुनाए, ‘खलासी हुँदा दिनमा सय रूपैयाँ पनि कमाउन सकिएको थिइनँ । अहिले सुन्तला बिक्री गरेर मात्रै दिनमा ५०० देखि एक हजार रूपैयाँसम्म कमाउँछु ।’ कुँवरको फूलफूल व्यवसायमा उनकै आमा बुद्धिमाया कुँवरको पनि सहयोग छ ।
‘फलफूल व्यापार सुरू गरेपछि दैनिक ज्यालादारी गर्न जान पनि परेको छैन’, उनले भनिन्, ‘फलफूलको व्यापारले अहिले ८ जनाको परिवार सहजै धानिएको छ ।’
भरतपुरकै मोटरसाइकल ग्यारेजमा काम गर्दै गरेका लम्जुङ घर भई भरतपुरमा डेरा लिई बसेका १३ वर्र्षीय सुशील मराकोटी पनि अहिले ग्यारेज छोडेर घरमा बस्न थालेका छन् । उनकी आमा दुर्गा पनि अहिले ठेलामा बदाम र सुन्तला बिक्री गर्छिन् ।
‘ठेलामा व्यापार गर्न थालेपछि छोरालाई ग्यारेजबाट निकालेर राखें’, उनले चितवन पोष्टसँग भनिन्, ‘अब यस (छोरा )लाई पढाउन पाए हुन्थ्यो ।’ बाबुको मृत्युपछि कक्षा सात पढ्दापढ्दै छोडेर ग्यारेजमा काम गर्न पुगेका उनी आफँै पनि पढ्ने मनस्थितिमा छन् ।
पछिल्लो समय बालश्रमिकको संख्या बढेसँगै उनीहरुलाई पारिवारिक पूनर्मिलन गराउने कार्य पनि जारी रहेको छ । अहिले दियालो परिवारले ९० जना बालश्रमिकका परिवारलाई सहयोग गरेर आयआर्जनमा लगाएको छ ।
‘बालबालिकालाई कुनै पनि किसिमको श्रममा लगाउन पाइँदैन’, दियालो परिवारका कार्यकारी निर्देशक केदारनाथ खनालले भने, ‘बढ्दो बालश्रमिक नियन्त्रणका लागि पनि उनीहरुका परिवारलाई आयआर्जनको कार्यक्रम जरूरी परेको हो ।
युनिसेफले तीन वर्षअघि एक गैरसरकारी संस्थाको सहयोगमा गरेको अध्ययनअनुसार भरतपुर नगरपालिकाभित्र मात्रै एक हजार ६७२ बालश्रमिक छन् । उनीहरु घरेलु श्रमदेखि होटल, ग्यारेज र सवारी साधनमा बढी भेटिन्छन् ।
‘बालश्रमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले प्रतिबन्ध गराएको छ’, खनालले भने, ‘नेपालमा अझै पनि जोखिमपूर्ण रूपमा श्रम गर्ने बालबालिकाको संख्या ठूलै भेटिन्छ ।’
गरिबीसँगै चेतनाको कमीका कारण बालबालिकाहरु श्रममा आउने गरेका हुन् । खनाल थप्छन्, ‘आयआर्जनका माध्यमबाट बालश्रमिकलाई घर फर्काउने प्रयास चितवनमा जारी छ ।’ उनले यो प्रयासले बालश्रमिकको संख्यामा कमी आउने विश्वास पनि व्यक्त गरे ।
Discussion about this post