*शिखर घिमिरे
टोलटोलमा आजभोलि
गुडियाहरूको माग छ
गुडियाहरूकै उपस्थिति
र, अभिनयको खोजी हुन्छ ।
समाज त्यही रहेन
जुन हिजो–अस्ति देखिन्थ्यो
सोच त्यस्तै हुने भएन
जुन पहिला–पहिला केन्द्रमा हुन्थ्यो ।
एक्कासि
यिनै टोलहरूमा
मेरी बहिनीको
घुम्टो उठाएर
खराब नजरहरू डुलिरहन्छन् ।
भोलिपल्ट सबेरै
गल्लीमा तमासेहरू
लामबद्ध हुँदै बसिरहेका हुन्छन्
बहिनीलाई हेर्दै
कानेखुसी गर्छन्
मुख पड्काउँछन्
र, सिठ्ठी बजाउँछन् ।
जब मेरी बैनी
गल्ली कटेर
मूल सडकमा पुग्छे
मान्छेहरूको भित्री मन
बज्न थाल्छ
सिठ्ठीको स्वर त झन्झन्
चर्को–चर्को सुनिन्छ
मेरी बहिनी
चुपचाप–चुपचाप
आफ्नो घरतिर लाग्छिन् ।
फेरि अर्को कुनै दिन
त्यही बाटोमै
त्यही समयको
सेरोफेरोमै रमाएर
मानिसहरू
नयाँ ट्यागका साथमा
बसिरहेका हुन्छन्,
बहिनी चरित्रहीन छे
बहिनी बद्नामी कमाएर हिँड्छे ।
लामो सुस्केरा निकाल्दै
मेरी बहिनी चिच्याउँछे
मानिसजस्तै भएर
मानिस नै हुन के–के चाहिन्छ ?
लाग्छ,
यी टोलहरूमा
मानिसभन्दा बरु
गुडियाहरू सुरक्षित छन्
गुडियाहरूको अस्तित्व
सुरक्षित रूपमा बाँच्दछन् ।
गुडियाहरू सहरदेखि गाउँसम्म
बिनाखतरा पुग्छन्
गुडियालाई मान्छेहरूले
नराम्रो नजरले हेर्नै सक्दैनन्
यतातिर पल्टाउँछन्
र, उतातिर पल्टाउँछन्
र, भन्छन्–
आहा, कस्तो सुन्दर गुडिया !
मानिसहरू गुडियाको भावना बुझ्छन्
मानिसहरू गुडियालाई
असाध्यै मन पराउँछन्
मानिसहरू गुडियाको
भित्री अर्थ महसुस गर्छन्
र, निर्धक्क राख्छन्
सधैँभरिलाई
गुडियाका सबै हिस्सा
र अनन्त भागहरूलाई ।
यही कुरा
अर्थात्, गुडियाका कुरा
म बुझ्न नै सक्दिनँ
मान्छेहरू बुझ्दैनन्
बरु गुडियाजस्तै राम्री हुनु
अभिशाप ठहरिन्छ
मान्छेका रहस्यमय मनहरूमा ।
आखिर मानिस भएर
मानिसले छरपस्ट भावनालाई
किन बुझिरहेका हुँदैनन् ?
किन गिथोलिन्छन्
मानिसका मनहरू त्यत्तिकै ?
किन समालिँदैंन
मानिसका आवेगहरू एकत्रित हुँदै ?
टोलटोलमा र गल्लीगल्लीहरूमा
मानिस अब खतरामुक्त हुन
गुडिया चाहिने कुरा
महसुस भएको छ
ती गुडियाहरू बनाउन
एउटा गतिलो
र, बलियो कारखाना चाहिएको छ ।
एउटा त्यस्तो कारखाना
जसले मान्छेका मनहरूलाई
निर्मल बनाइदेओस्,
एउटा त्यस्तो कारखाना
जसले बुझोस्
मन र भावनाविहीन समयलाई
हो,
आज आवश्यक भएको छ
एउटा गुडिया कारखाना
मान्छेहरूको बस्तीमा
गुडियाहरू मात्र बनाउने कारखाना ।
Discussion about this post