-नन्दलाल आचार्य
१. नसिब
‘सर ! हम बहुत दुःखी लोग छी । कहियौ सुख नही भेटलियै ।’ (सर ! म धेरै दुःखी मान्छे हुँ । कहिल्यै सुख भेटिनँ ।) ठेलावालले पसिना पुछ्दै मनको पीडा ओकल्यो ।
‘दुःख र सुख जीवनका दुई पाटा हुन् । यी साथै रहन्छन् । एकलाई पन्छाए अर्काको समेत नाम रहन्न । दुःख पचाउनेले सुख भेट्छ, सुखलाई जतन गर्नेले लाभैलाभ आर्जन गर्छ ।’ मेरो कथन सुनेर ऊ आश्चर्यमा प¥यो ।
‘बात नही बुझलिए । कनि निक सँ कहु न ।’ (कुरा बुझिनँ । अलिक राम्ररी भन्नुस् न ।)
‘दुःखमा पनि हाँस्नुस् । सुखमा पनि सचेत रहनुस् । मैले भन्न खोजेको कुरा यही हो ।’
‘कि हाँसब आओर कि सचेत हैबै । हमरा सभक नसिब खराब अछि ।’ (के हाँस्नु र के सचेत हुनू ! हामीहरुको भाग्य नै खराब छ ।) उसको जवाफले म अवाक् भएँ र जवाफ फर्काउन नसकेर घोरिन थालेँ ।
‘पसिना बगाएर कमायो, हावामा उडायो । दिनभरि ठेला चलायो, रातभरि भट्टीमा बितायो । स्वास्नीलाई पाखुरी सुर्कियो । छोराछोरीलाई दाह्रा किट्यो । यसको दिनचर्या यसरी नै बितेको छ । तपाईं अरु के बुझ्न चाहनुहुन्छ र, मास्टरजी !’ घर मालिकको प्रश्नले म तर्सिएँ । ठेलावालालाई हेरेँ । ऊ केही लज्जित देखियो ।
‘काज गरैछी त, शरीरके भोजनों चाही । रोज एक गिलास रेडबुल नही लेबै त भर रात निंद नही आबैछै ।’ (काम गर्छु त, शरीरका लागि भोजन पनि चाहिन्छ । रोज एक गिलास रेडबुल (रक्सी) नलिने हो भने भररात निद्रा आउँदैन ।) उसले सफाइमा स्पष्टीकरण दियो ।
आफ्नो नसिब बुझाउन उसले मलाई घरसम्म लग्यो । दलानमा ७ जना नाङ्गैभुतुङ्गै केटाकेटी थिए ।
‘बेटाके खातिर सात गो बेटाबेटी भेलै सर ! एकरो लालनपोषणमे हमरा खुन सुकल छै ।’ (छोराका लागि सात सन्तान भए सर ! यिनीहरुको लालनपोषणमा मेरो खुन सुक्छ ।) उसले मेरो ध्यान खिच्न खोज्यो । म भने उसको नसिब पढेको पढ्यै भएँ ।
२. अपाङ्ग प्रधानाध्यापक
‘जो परीक्षामा निरीक्षक बन्दा वा रिजल्ट निकाल्दा पदीय जिम्मेवारी निर्वाह गर्दैन, त्यसको नामावली मलाई दिनुस् । सख्त कार्बाही हुनेछ ।’ विद्यालय निर्देशकले आदेश दिएका थिए ।
मलाई बोर्डिङ स्कुलको अपाङ्ग प्रशासक बन्नु जीवनकै दुर्भाग्य हो भन्ने महसुस थियो । त्यसैले पनि फुकीफुकी पाइला चाल्नुको विकल्प थिएन । शिक्षक, कर्मचारीहरु कोही जानेर त कोही नजानेर काम बिगार्छन् । नजान्ने भन्दा पनि बुझ पचाउनेहरुको सङ्ख्या बढी हुन्छ । कार्बाहीको सुरूवात कसबाट, केका लागि गर्ने ? म आफैँ निरूत्तर थिएँ ।
निरीक्षण गरेर कापी बुझाउने दिन २८ गते थियो । मैले सूची तयार पार्नुथियो । पार्नै प¥यो भनी सुरू गरेँ ।
स्कुल नै नआउनेको नामावली– रमेशकुमार, वसन्त, अजय ।
समयमा नआउने र फोन गरीगरी बोलाउनु पर्नेहरुको नामावली– कञ्चन, राहुल, रिङ्कु, शिवकुमारी, सञ्जीव, अमरकिशोर, कोमल, कृति, रामनारायण ।
नामावली लामै थियो । पचास प्रतिशत शिक्षक, कर्मचारीबाट जिम्मेवारी वहन नगरेको प्रतिवेदन तयार भयो ।
अब सूची निर्देशककहाँ पु¥याऊँला । उनले आर्थिक दण्ड तोक्लान् । कतिपय शिक्षक रिसाएर स्कुल छोड्लान् । कतिपयले दोष मेरै थाप्लामा खन्याउलान् । स्कुलमा पो म प्रशासक, स्कुलबाहिर त सडकछाप नै हुँ । यस्तैयस्तै विश्लेषणमा घोरिइरहेको थिएँ ।
‘सबै बौद्धिक श्रमजीवी नै हुन् । जस्तो म, त्यस्तै उनीहरु । उनीहरुको गल्तीले नाफामा निर्देशक रहन्छन्, घाटामा म रहन्छु । शिक्षक पनि मलाई नै धोका दिन्छन्, निर्देशक पनि त्यसै गर्छन् । समयमा शिक्षक राखिँदैन, कक्षा खाली हुन्छ । त्यो पिरलो पनि मलाई नै छ । शिक्षक रिसाएर म विरूद्ध खनिएलान्, त्यो पनि मलाई नै पिरलो थुप्रिएको छ ।’ म एक्लै भुत्भुताउन पुगेछु ।
‘बहुत बात नही छै । शिक्षकके जायज तलब सुविधा दियौ । आओर, काज बिगाडैवलाके आर्थिक दण्ड तोकूँ । समस्याके समाधान भ जायत । मुदा, अपाङ्ग प्रधानाध्यापक से उपर उठू ।’ (धेरै कुरा छैन । शिक्षकलाई जायज तलब सुविधा दिनुस् । र, काम बिगार्नेहरुलाई आर्थिक दण्ड तोक्नुस् । समस्याको समाधान भइहाल्छ । तर, अपाङ्ग प्रधानाध्यापकबाट माथि उठ्नुस् ।) स्कुलका वरिष्ठ शिक्षक प्रकाशको बोलीले मेरो तन्द्रा भङ्ग भयो । म उनकै मुखाकृति हेरेको हे¥यै भएँ ।
३. छ जना सहिद
चारैतिर सुनसान छ । गाडीहरुको आवाज पनि बन्द भइसकेको छ । रात गहिरिँदो छ । लेखक लेख्नमै मस्त छ । बिजुली छैन । पङ्खा घुम्दैन । इन्भर्टरको उज्यालोमा ऊ शब्द चुहाइरहेको छ । पसिनाले निथ्रुक्क भिजेको छ । लेख्ने धुनमा पसिना पुछ्ने फुर्सद पनि छैन । लेखिरहेको कापी पनि भिजिरहेको छ ।
त्यस कोठामा हावा पस्न मनाही छ । हावासँगै मच्छड पनि छिर्ने भएकाले ढोका नउघार्न चेतावनी दिएर श्रीमती रात्रि विश्राममा छे । ऊ गाउँकी नारी हो, सहर पसेकी छे । मच्छडबाट तर्सेकी छे । तर्संदै निदाउन प्रयत्न गर्छे । नभन्दै ऊ घुरेको आवाज लेखकको कानसम्म पुग्छ, तर त्यसको हेक्का राख्दैन । पहिले नै कोठाभित्र छिरिसकेका कीराफट्याङ्ग्रा इन्भर्टरको त्यस उज्यालोमा झुम्मिन्छन् । त्यसको पनि उसलाई वास्ता छैन । एकोहोरो जोतिँदो छ । कलम रूक्न नमाने झैँ भएको देखिन्छ । ऊ घरीघरी शरीर चलमलाउँछ । टाउको हल्लाउँछ । तर, कापीबाट हात उठाउन मान्दैन ।
गर्मीले छट्पटिँदै श्रीमती उठ्छे । देख्छे, एकोहोरो मस्त भावमा डुबेको पतिदेवलाई । नजिकै जान्छे, पति पत्तो पाउँदैन । शरीर पसिनाले लत्पतिएको पाउँछे । अझ नियालेर हेर्छे । ऊ हैरानमा पर्छे । तुरून्तै हात उठाउँछे र पतिदेवको पाखुरीमा कस्सेर हान्छे ।
लेखकको तन्द्रा भङ्ग हुन्छ । ऊ क्रोधित नजरले श्रीमतीतर्फ हेर्छ ।
“छ टा सहिद भेलै एकै ठाम ।” (छ जना सहिद भए एकै ठाम ।) आवाज सुनेर लेखक हत्प्रभ हुन्छ ।
“सहिद ! कस्तो सहिद ! को सहिद ! के सपना त देखिनौ !” लेखक भयभीत हुन्छ । “अब फेरि राज्यकोष रित्तिने प¥यो । १० लाखका दरले ६ जनाको ६० लाख जाने प¥यो ।” ऊ एकै श्वासमा मनको कुरा ओकल्छ ।
पत्नी मुस्कुराउँछे । तल हेर्न सङ्केत गर्छे । लेखक आँखा गाडेर हेर्छ । केही देख्दैन ।
“ई देखु त ! एक टा सहिद ! दुई टा सहिद ! तीन टा सहिद…..!” (यी हेर्नुस् त ! एक जना सहिद ! दुई जना सहिद ! तीन जना सहिद…..!) श्रीमती गन्दै जान्छे ।
नियालेर हेर्दा त छवटा मच्छड पो मरेका रहेछन् ।
Discussion about this post