अधिकारकर्मीले भने, ‘चितवन किन चुपचाप ?’ [divider]
भरतपुर । गोरखा फुजेलका कृष्ण अधिकारी हत्या प्रकरणका बारेमा चितवन प्रहरीले गरेको अनुसन्धान प्रक्रियाको अनुगमनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली शुक्रबार चितवन आएको छ । सो हत्या प्रकरणमा समातिएका अजिव भनिने परशुराम पौडेललाई हिरासतमा प्रहरीले राख्नका लागि अदालतबाट पाएको म्याद नसकिँदासम्म टोली चितवन नै रहनेछ ।
अनुसन्धान प्रक्रिया प्रभावकारी हुन नसकेको भन्ने जानकारी आयोगमा पुगेपछि मानवअधिकार आयोग सक्रिय बनेको हो । यो प्रकरणमा अनुसन्धान थाल्न गत भदौंमा आयोगले नै सरकारलाई निर्देशन दिएको थियो । त्यस्तै पत्रकार तथा अधिकारकर्मी कनकमणि दीक्षितसहितको टोली पनि शुक्रबार चितवन आएर नागरिक समाज र सरोकारवाला तथा अन्यसँग भेटघाट गरेको छ ।
अघिल्लो महिना आफ्नो घर भरतपुरबाट समातिएका पौडेललाई अनुसन्धानका लागि प्रहरीले पुस १६ गतेसम्म हिरासतमा राख्न पाउँछ । त्यसपछि उनका विरूद्ध अदालतमा अभियोग दायर गर्नुपर्छ । कृष्ण अधिकारी हत्या प्रकरणमा यसअघि समातिएका एकजना आरोपी रामप्रसाद अधिकारीलाई पनि प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।
अनुसन्धानका लागि २५ दिनभन्दा धेरै हिरासतमा राख्न पाइँदैन । २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेपछि मुद्दा दायर गर्न प्रहरीले जिल्ला न्यायाधीवक्ता (सरकारी वकिल) समक्ष प्रतिवेदन पठाएको थियो । तर प्रहरीले पठाएको प्रतिवेदनका आधारमा आरोपी रामप्रसाद अधिकारी विरूद्ध मुद्दा चलाउन प्रमाण नपुग्ने देखिएपछि सरकारी वकिलले मुद्दा नै नचलाई अधिकारीलई छोड्न निर्देशन दिएका थिए ।
माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षका बेला विसं. २०६१ सालको जेठ २४ मा अधिकारीको चितवन रत्ननगरमा हत्या भएको थियो । एसएलसी दिएपछि हजुरबा आमालाई कृष्ण गोरखाबाट चितवन आएका बेला घटना भएको हो । सुराकीको आरोपमा अधिकारीको हत्या गरेको माओवादीको भनाइ छ । अधिकारीको हत्यापछि सुरूमा उनका बाबु र त्यसपछि दाजुले अनुसन्धान र कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका थिए ।
कृष्णका बाबु नन्दप्रसाद अधिकारीले दिएको उजुरीमा कसैको नाम छैन । दाजु नुरप्रसाद अधिकारीले रामप्रसाद, अजिवसहित ११ जनाविरूद्ध नामै किटेर विसं. २०६२ सालमा प्रहरीमा जाहेरी दिएका थिए । लामो समयसम्म कुनै कारबाही नभएपछि मृतकका बाबुआमा नन्दप्रसाद र गंगामायाले लामो समय अनसन बसेपछि मानवअधिकार आयोगको निर्देशनमा प्रहरीले गएको भदौमा अनुसन्धान सुरू गरेको थियो ।
रामप्रसाद समातिएपछि कृष्णका बाबुआमाले अनशन तोडेका थिए । मुद्दा नचलेर उनी रिहा भएपछि दसँैंपछि कृष्णका बाबुआमाको अनसन फेरि सुरू भएको छ । मंसिर २२ मा फेरि अजिव समातिए पनि उनीहरुले अनशन जारी राखेका छन् । अनशन बसेका नन्दप्रसाद र गंगामायाको अवस्था नाजुक हुँदै गएपछि प्रहरीले अजिवलाई समाएर अनुसन्धान सुरू गरेको हो । रामप्रसादलाई जस्तै अजिवका विरूद्ध पनि मुद्दा चल्न नसक्ने सम्भावना बढेर गएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले बिहीबारमात्रै विज्ञप्ति जारी गरेर अनुसन्धानको दायरा फराकिलो बनाउन अपिल गरेको थियो । सो मुद्दामा प्रहरीको अनुसन्धान प्रक्रिया प्रभावकारी नभएको भनेर जानकारी आएपछि आयोगले प्रेश विज्ञप्ति नै जारी गरेर त्यस्तो अपिल गरेको हो । आयोगको उपक्षेत्रीय कार्यालय बुटवलबाट अनुसन्धान प्रक्रियाको अनुगमन गर्न दुई सदस्यीय टोली चितवन आइसकेको छ । शनिबार काठमाडौँबाट थप टोली आउँदैछ ।
त्यस्तै, शुक्रबार नै काठमाडौंबाट अधिकारकर्मीहरुको टोली पनि भरतपुर पुगेर नागरिक समाज तथा सरोकारवालासँग अन्तक्र्रिया सुरू गरेको छ । कनकमणि दीक्षित, दिनेश त्रिपाठी, अमुदा श्रेष्ठ र सशस्त्र संघर्षका बेला सेनाबाट हत्या गरिएकी मैना सुनारकी आमा देवी सुनारको टोलीले चितवनमा भेटघाट सुरू गरेको हो । घटनाका प्रत्यक्षदर्शी कोही भए प्रहरीलाई सहयोेग गर्न र त्यस्ताको संरक्षण गर्न सरकार तयार हुनुपर्ने उनीहरुको धारणा छ ।
‘घटना व्यस्त बजारको चोकमा भएको छ । देख्ने धेरै छन् । उहाँहरुको बयानले अपराधीलाई कारबाही गर्न ठूलो सहयोग मिल्न सक्छ । चितवनजस्तो सचेत जिल्लामा न्यायका लागि यस्तो सहयोग हुन्छ भन्ने अपेक्षा छ’ पत्रकार भेटघाटमा कनकमणि दीक्षितको आग्रह थियो ।
Discussion about this post