शितलहरबाट जोगाउन कम्बल जुटाउँदै प्रशासन

अन‌ि यो पनि

भरतपुर । शितलहरबाट बच्न प्रशासनले तयारी सुरू गरेको छ । मान्छे, घरपालुवा, पशुपंक्षी र खेती जोगाउन सम्बन्धित निकायहरु सक्रिय भएका छन् । बचाउका लागि सूचनाहरु प्रशारण हुन थालेका छन् । केही दिनयता तराई क्षेत्रमा शितलहर सुरू भइसकेको छ भने चितवनमा पनि घाम कम लाग्ने र चिसो बढ्न थालेको छ ।
पुस ३ मा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले शितलहरको प्रभावबाट हुने असरलाई व्यवस्थापन गर्न ११ सदस्यीय समिति निर्माण गरेको थियो । समितिको बिहीबार बसेको बैठकले प्रभावित क्षेत्रको पहिचान गरेर शितलहर चलेमा आगो बाल्ने र कम्बल वितरण गर्ने योजना बनाएको छ ।
‘कमजोर आए भएका व्यक्तिहरु जसले न्यानो कपडा र राम्रो बस्ने ठाउँको व्यवस्था गर्न सक्दैनन्, त्यस्तालाई सहयोग गर्न आवश्यक छ । कहाँ कतिलाई कसरी सहयोग गर्ने हो हामी तयारी गर्दैछौँ’ समितिमा आवद्ध चितवन जिल्ला विकास समितिका सूचना अधिकृत बलराम लुइँटेलले भने ।
चिसो बढेसँगै खेती र पशुपंक्षीमा समस्या देखा पर्न सक्छ । जिल्ला कृषि विकास कार्यालयले बालीनालीमा पर्न सक्ने असर र जोगिने उपायका बारेमा कृषक समूहलाई जानकारी गराउनका साथै सार्वजनिक सञ्चारमाध्यमबाट सूचनासमेत दिन थालेको छ । जाडोमा माछामा आउने समस्या र समाधान पनि कृषि कार्यालयले बताउने गरेको छ ।
जिल्ला पशु सेवा कार्यालय पनि जाडोयाममा पशुमा आउने समस्याका बारेमा व्यवसायिक किसान समूहहरुलाई सचेत बनाएको र अन्य किसानको माझमा पुुग्ने योजना बनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले मानव स्वास्थ्यमा आउने समस्याका बारेमा सजग रहन सर्वसाधरणलाई सचेत बनाएको छ ।
‘यो बेला श्वासप्रश्वाससँग सम्बन्धित रूघा, खोकी, ज्वरो आउँछ । के कसरी बच्ने भन्ने बारेमा केन्द्रले तयार गरेका सूचनाहरु सर्वसाधरण माझ फैलाउने योजना बनाएका छौँ’ जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले भने । सिंगान आएमा पुछेर हात सफा गर्नेसम्मका सूचना सो कार्यालयले जारी गर्दैछ ।
सूचना प्रशारणका लागि सञ्चार माध्यमको सहयोगसमेत मागिने बैठकमा छलफल भएको छ । चिसोको असर कम गर्न जिल्लाका विभिन्न गाविसको अवस्था बारेमा सचिवहरुको बैठकमा विशेष छलफल र निर्देशन दिने कार्यक्रम पनि रहेको समितिका संयोजक स्थानीय विकास अधिकारी तिलक पौडेलले जानकारी दिए ।
चेपाङ, मुसहर, कुमाल, बोटे, माझी दराईको बसोबास रहेको क्षेत्रमा शितलहरबाट बढी प्रभाव पर्ने प्रशासनको आंकलन छ । उनीहरुको बसोबास रहेको क्षेत्रमा विद्यालय पढ्ने बालबालिकामा रूघाखोकी निमोनिया देखापरे नपरेको अनुगमन गर्न प्रशासनको निर्देशन छ ।
यी क्षेत्रमा ओढ्न लगाउने न्यानो लुगाको समेत अभाव रहन्छ । समितिको बैठकले कम्बल संकलन गर्ने निर्णय गरेको छ । रेडक्रसलगायत विपद् र प्रकोपको क्षेत्रमा काम गर्दै आएका अन्य संघ संस्था, गैरसरकारी निकाय र व्यवसायिक संघ संस्था तथा प्रतिष्ठानहरुको सहयोगमा कम्बल संकलन हुने लुँइटेलले बताए ।
त्यस्तै, चोक–चोकमा मुढा बालेर आगो ताप्ने व्यवस्था मिलाउन निर्णय पनि समितिले गरेको छ । यसका लागि सामुदायिक वन र जिल्ला वन कार्यालयले मुढा उपलब्ध गराउने भएका छन् । घरमा झ्याल ढोका थुनेर न्यानोका लागि आगो बाल्नु भने घातक हुने समितिको भनाइ छ ।
चितवनको पहाडी क्षेत्रमा चेपाङहरुको बसोबास छ । धेरै चेपाङहरुको न राम्रो घर छ न ओढ्ने न्याना कपडाहरु नै हुन्छ । त्यस्तै, नदी किनारमा बस्ने बोटे, माझी मुसहरको अवस्था पनि चेपाङहरुको जस्तै छ । पहाडी क्षेत्र र नदी किनारमा नै चिसोले बढी सताउने गर्छ ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया