भरतपुर । जिल्ला शिक्षा कार्यालय भरतपुरले जिल्लामा प्रयाप्त मात्रामा उच्च माविहरु भएको भन्दै नयाँ उच्च मावि सञ्चालनका सीमा तोकेको छ । जिल्ला शिक्षा समितिको बिहीबार साँझ बसेको बैठकले ऐनमा उल्लेख भएका आधारबाहेक थप आधारहरु पूरा गर्नुपर्ने निर्णय गरेको छ ।
बैठकले उच्च मावि थप गर्नका लागि जिल्लाभित्र थप तीनवटा आधारहरु पूरा गर्नुपर्ने निर्णय गरेको हो । अब जिल्लामा उच्च मावि थप गर्दा विद्यालयको भौगोलिक अवस्थाको समेत अध्ययन गरिन्छ ।
त्यस्तै, जिल्लामा उच्च मावि थप गर्नको लागि सम्बन्धित क्षेत्रमा रहेका उच्च माविमा विषय तथा प्राविधिक विषयहरुको कक्षा सञ्चालन गर्नुपर्ने वैठकले निर्णय गरेको छ । त्यस्तै, उच्च मावि कक्षा सञ्चालन गर्न चाहने विद्यालयले कक्षा ११ को लागि आवश्यक विद्यार्थी संख्याको अनुपातमा माध्यमिक तहमा पनि विद्यार्थी उत्तीर्ण गराउनुपर्ने छ ।
त्यस्तै, बैठकले शिक्षा विभागको निर्देशनबमोजिम उच्च मावि कक्षा सञ्चालन गरेका विद्यालयलाई एकै सिफ्टमा कक्षा सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेको छ । यदी विद्यालयको भौतिक अवस्थाको कारणले दुई सिफ्टमा कक्षा सञ्चालन गर्नुपरेमा जिल्ला शिक्षा समितिको अनुमति लिएर मात्र कक्षा सञ्चालन गराउन पाउने व्यवस्था लागू गर्ने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिए ।
Discussion about this post