एक वर्षभित्र संविधान देऊः मन्त्री श्रेष्ठ [divider]
-होमनाथ सापकोटा
सौराहा । चितवनको पर्यटन प्रबद्र्धनको लागि आयोजना गरिएको चितवन हात्ती महोत्सव बिहीबारबाट पर्यटकीय नगरी सौराहामा सुरू भएको छ । महोत्सवको पर्यटनमन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा पर्यटनमन्त्री श्रेष्ठले राजनीतिक दलहरुले एक वर्षभित्र जनतालाई नयाँ संविधान दिनुपर्ने बताउनुभएको छ । ‘दलहरु अब सत्ताको खेलमा लाग्नु हुँदैन’ उहाँले भन्नुभयो, ‘जनताको म्यान्टेडलाई आत्मसाथ गरी दलहरुले एक वर्षभित्र संविधान निर्माण गर्नुपर्छ । मन्त्री श्रेष्ठले दलहरुको नेतृत्वमा बन्ने सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरेर द्वन्द्वकालीन मुद्दाको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
पर्यटन विकासका लागि पूर्वाधार निर्माण आवश्यक रहेको भन्दै उहाँले त्यसका लागि सरकारले काठमाडाँैको त्रिभुवन विमानस्थलको स्तर उन्नती र लुम्बिनी र पोखरामा अन्तर्राष्ट्रिय विमान स्थल बनाउने प्रक्रिया सुरू गरिसकेको बताउनुभयो । ‘पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रसँग जोडिएको छ’ उहाँले भन्नुभयो, ‘मुलुकको सम्मृद्धिको लागि पनि पर्यटन क्षेत्रले फड्को मार्नुपर्छ । मन्त्री श्रेष्ठले पर्यटन विकासको लागि राज्यले ठूला विमान खरिद गर्न जरूरी रहेको बताउनुभयो ।
सौराहामा हुने हात्ती महोत्सवले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले महोत्सवलाई अझ परिष्कृत गरेर विश्वमै नमुना बनाउन आवश्यक रहेको बताउनुभयो । क्षेत्रीय होटल संघ चितवनले आयोजना गरेको सो महोत्सवका अवसरमा वन्यजन्तु संरक्षण र पर्यटन विकासमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । कार्यक्रममा संरक्षणकर्मी डा.हेमराज मिश्र, पर्यटन व्यवसायी गिरिधारी चौधरी र पर्यटन विकासमा योगदान दिने जंगीलाल चौधरीलाई सम्मान गरिएको छ ।
यस्तै, हात्तीका माहुतेहरु लालबाबु चौधरी, रविन्द्र चौधरी र सोमकुमार कुमाललाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा सभासद शेषनाथ अधिकारी, होटल संघ नेपालका अध्यक्ष श्याम कक्षपति, संरक्षणकर्मी डा.हेमराज मिश्र, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर, चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संघका अध्यक्ष नारायण भट्टराईको अध्यक्षतामा सम्पन्न महोत्सवको उद्घाटन कार्यक्रममा महोत्सवको उद्देश्यको बारेमा मूल आयोजक समितिका संयोजक ज्ञानेन्द्रकुमार विष्टले जानकारी दिनुभएको थियो । पाँच दिनसम्म चल्ने महोत्सवअन्तर्गत हात्तीदौड, टाँगादौड, गाडा दौड, डुंगा दौड, हात्तीका छावाहरुको रोमाञ्चकारी फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको दिनचर्याबारे जानकारीलगायतका कार्यक्रमहरु हुने छन् । महोत्सव अन्तर्गत बिहीबार हात्तीदौडको पहिलो चरणको खेल भएको छ । प्रतियोगिताका समावेश अन्य खेलहरु आज शुक्रबारबाट हुने महोत्सवका सदस्य सचिव सुमन घिमिरेले जानकारी दिनुभयो ।
हात्तीदौडतर्फ भारत, युके, स्लोभाकिया, हङकङ, अष्टेलिया, जर्मनका ६ वटा टिम र स्वदेशी १४ गरी २० वटा समूहले प्रतिस्प्रर्धामा भाग लिएका छन् । प्रतियोगिताअन्तर्गत टाँगादौडमा २०, गाडा दौडमा २०, डुंगा दौडमा १०, हात्तीका छावाहरुको रोमाञ्चकारी फुटबल प्रतियोगितामा ४ र हात्ती सुन्दरी प्रतियोगितामा ५ वटा टिमको प्रतिस्पर्धा रहेको आयोजकले बताएका छन् । हात्ती महोत्सवको १० औं संस्करणसम्म आइपुग्दा पर्यटकलाई हात्तीदौड हेर्न मिनी स्टेडियम समेत बनाइएको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुती तथा खानाका स्टलहरु समेत रहेको मिडिया उपसमितिका सदस्य दामोदर रेग्मीले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन हुनुअघि विहान चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट शोभायात्रा निकालिएको थियो । विभिन्न संघ संस्थाको सहभागिता रहेको सो शोभायात्रा खेल मैदानमा पुगेर सभामा परिणत भएको थियो । महोत्सवमा पर्यटकलाई स्वागत गर्न व्यवसायीहरुले पर्यटकीय नगरी सौराहालाई सजाएका छन ।
Discussion about this post