उच्च परिषद्द्वारा परीक्षा प्रणालीमा सुधार

अन‌ि यो पनि

भक्तपुर । उच्च माध्यमिक शिक्षा परिषद् परीक्षा नियन्त्रण कार्यालयले बारकोड युक्त मार्कस्लिप प्रयोगमा ल्याएको छ ।
परिषद्द्वारा सञ्चालन गर्दै आएको कक्षा ११ र कक्षा १२ को परीक्षा प्रणालीका सुधार गर्दै परिषद्ले उत्तरपुस्तिकामा बारकोड र अप्टिकल मार्क रिडर प्रयोगमा ल्याइएको परिषद्का कामु परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिनुभयो ।
परीक्षा प्रणालीमा सुधार आएपछि परीक्षाबारे विगतमा जस्तो विवाद नआउने दाबी गर्दै उहाँले यसमा कक्षा ११ मा रजिस्ट्रेसन आवेदन भर्दादेखि प्रयोग गरेको फोटो, विद्यार्थीका दस्तखत लगायतका सबै कुरालाई स्क्यान गरी विद्यार्थीलाई रजिस्टे«सन प्रमाणपत्र उपलब्ध गराइने जानकारी दिनुभयो । यसै अनुरुप विद्यार्थीको परीक्षा फारामदेखि परीक्षाफल प्रकाशन भएर प्रमाणपत्र लैजाँदासमेत बारकोडमार्फत रुजु गर्ने भएकाले नक्कली परीक्षार्थीले परीक्षा दिने र नक्कली प्रमाणपत्र बनाउने सम्भावना नरहने उहाँले बताउनुभयो ।
परिषद्ले भिपिएन (भर्चुअल प्राइभेट नेटवर्क) विधि द्वारा ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्रसम्बन्धी कार्य गर्न र नक्कली प्रमाणपत्रको अन्त्य गर्न कार्ययोजना अगाडि ल्याएको छ । परीक्षा प्रणालीमा गरिएको समग्र सुधारबारे जानकारी दिँदै परीक्षा नियन्त्रक अर्यालले परिषद्ले आम्दानीलाई व्यवस्थित गर्न कम्प्युटर बिलिङ प्रणालीको सुरु गरेको बताउनुभयो ।
परिषद्का अनुसार विगतमा विद्यार्थीले प्रमाणपत्र माग गरी रसिद काटेपछि कम्प्युटरमा पुनः प्रविष्ट गर्नुपर्नेमा कम्प्युटर बिलिङ प्रणालीको सुरुवात भएपछि विद्यार्थीले रसिद काटेलगत्तै सोही नेटवर्किङमार्फत कम्प्युटर शाखामा उपलब्ध भई विद्यार्थीले माग गरेको प्रमाणपत्र छापिने भएपछि परिषद्को काम सहज भएको छ ।
विगतका वर्षमा प्रश्नपत्र छपाइ लगायतका कार्यमा करोडौँ रुपैयाँ पेस्की दिएर मात्र छपाइ गर्ने गरिएकामा अहिले पेस्की नदिई प्रश्नपत्र लगायतका छपाइ कार्य गर्न सुरु गर्दा परिषद्को लगानीसमेत बचेको छ । भारतमा छापिँदै आएको कक्षा ११ र १२ को प्रश्नपत्र नेपालमै गोप्यरूपमा छपाइ सुरु गरेपछि परिषद्लाई प्रश्नपत्र छपाइबाट मात्रै वार्षिक ५० देखि ७० लाखसम्म बचत हुने गरेको अर्यालले जानकारी दिनुभयो ।
त्यसैगरी परिषद्ले सुरुमा ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल लगायतका प्रमाणपत्रहरू छपाइ गर्दा प्रतिप्रमाणपत्र १८ रुपैयाँ तिर्ने गरेकामा अहिले आर्थिक ऐननियमको पालना गरी एक रुपैयाँ ५० पैसामा नै छपाइ गर्ने गरेको उहाँले बताउनुभयो । यस्ता प्रमाणपत्रहरू परिषद्ले अहिले जिल्लास्थित कार्यालयहरूबाटै वितरण गर्न थालेपछि विद्यार्थीहरूलाई समेत निकै सहज भएको छ ।
परिषद्ले परीक्षा सञ्चालन निर्देशिकाअनुसार काम, कर्तव्य र अधिकारको व्यवस्था गरी केन्द्रीय समन्वय समितिको व्यवस्था, सबै सुरक्षा निकायबीच समन्वय, मन्त्रालयदेखि जिल्ला तहसम्मको निकायमा समन्वय एवम् सम्बन्ध विस्तार गरेको छ । जसले परीक्षा सञ्चालनमा टेवा पुग्नुका साथै परीक्षा केन्द्र निर्धारण एवम् परीक्षा सञ्चालनमा आएको समस्या समाधानको अधिकार जिल्लास्थित परीक्षा समन्वय समिति गठन गरी उसैलाई जिम्मा दिएको छ ।
परिषद्ले विगतमा भन्दा छिटो नतिजा प्रकाशन गर्ने व्यवस्था गरेको छ भने परीक्षामा प्रमाणपत्रलगायत मार्क लेजर र मार्कसिट छिटो छाप्न तीव्र गतिको प्रिन्टरको व्यवस्था गरी अभिलेखलाई व्यवस्थित गरेको छ ।
परिषद्ले विगतमा जस्तो विद्यार्थीको उत्तरपुस्तिका परीक्षणका लागि शिक्षकको घरघरमा पठाउने परम्पराको अन्त्य गरेको छ । त्यसको बदलामा उत्तरपुस्तिका परीक्षण केन्द्र नै निर्धारण गरेर त्यही नै उत्तरपुस्तिका परीक्षण गर्न सुरु गरेपछि उत्तरपुस्तिका हराउने र एउटाको नाममा उत्तरपुस्तिका लगेर अर्कोले परीक्षण गर्ने लगायतका समस्याहरूको समाधान भएको परिषद्को दाबी छ ।
उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकको सबै विवरण भरिने भएकाले त्यस्ता परीक्षकलाई आफू संलग्न रहेको उच्च माविभन्दा फरक स्थानको उत्तरपुस्तिका मात्रै परीक्षण गर्न दिइने व्यवस्था गरेको छ । परीक्षाको केन्द्राध्यक्ष, परीक्षकलाई समेत तालिम दिने व्यवस्था गर्नाले सहज भएको परिषद्को दाबी छ । त्यसैगरी परिषद्ले विगतमा देशैभर एउटै प्रश्नपत्र बनाउने गरेकामा अहिले भने मल्टिपल प्रश्नपत्र सेट अर्थात् विभिन्न क्षेत्रअनुसार मुख्य मुख्य विषयको प्रश्नपत्र फरकफरक बनाउने व्यवस्था गरेको छ ।
परिषद्ले स्थायी कर्मचारीको अभावमा भने व्यापक समस्या झेल्नु परेको छ । परीक्षा नियन्त्रक अर्यालका अनुसार परिषद्मा ३२० जना कर्मचारी रहेकामा ११० जना कर्मचारी मात्रै स्थायी रहेको र आफ्नै शिक्षकसमेत अभाव नभएकाले समस्या झेल्नु परेको हो । साथै सरकारको कम लगानीका कारण समस्या भोग्दै आएको परिषद्ले भौतिक पूर्वाधारको अभावमा समेत धेरै समस्या परेको छ । रासस

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया