मुद्दा दर्ता बढेन [divider]
-दिपेन्द्र अधिकारी
भरतपुर । अघिल्लो आर्थिक वर्षमा कुल ६७४ मुद्दा चितवन प्रहरीमा दर्ता भएको थियो । मासिक रुपमा यो संख्या औषत ५६ रहेको थियो । यस आर्थिक वर्षको बितेको पाँच महिनामा पनि प्रहरीमा दर्ता भएअनुसार चितवनमा मासिक मुद्दा दर्ता संख्या ५६ कै हाराहारीमा छ ।
तर, आर्थिक वर्ष ०६७÷०६८ मा कुल मुद्दा ४५९ रहेकोमा वर्ष २०६८÷०६९ मा यो संख्या १५४ ले बढेर ६२३ पुगेको थियो । त्यस्तै, आर्थिक वर्ष ०६९÷०७० मा जम्मा ५१ ले बढेर ६७४ पुगेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । कुनै समय वर्षमै १५० भन्दा बढीले उकालो लागेको चितवनको आपराधिक घटनाहरुको विवरण पुनः कम हुँदै आएको उल्लेखित तथ्याङ्कबाट पुष्टि हुन्छ ।
मुद्दा संख्या नबढ्नु र जिल्लामा अपराधिक क्रियाकलापमा कमी भई आम जनताले शान्तिको अनुभूति गर्न पाउनुका मुख्य कारण प्रहरीको सक्रियता नै हो । प्रहरी उपरीक्षक दीपककुमार थापाले दबाएको यहाँको अपराधिक गतिविधिलाई अर्का प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले पनि दबाएकै छन् । गत चुनावको समयमा अशान्ति फैलाउने अपराधिक त¤वहरुको प्रयास चितवन प्रहरीले असफल पारेको थियो । तत्पश्चात चितवनमा अपराधिक कार्य गर्नेहरु पनि अहिले भागाभाग भएका प्रहरीको भनाइ छ ।
चितवनका प्रहरी प्रवक्ता डीएसपी संजय राउत भन्छन्, ‘यहाँको मूल समस्या भनेको गुण्डातन्त्र रहेछ, जसलाई हाम्रो नियन्त्रण र निस्तेजको प्रयासले मुन्टो उठाउन दिएको छैन ।’ चितवन प्रहरीमा मुद्दा संख्या बढ्नुमा गुण्डागर्दीको आडमा हुने अपराध मूख्य कारण रहेको र गुण्डागर्दी नै नियन्त्रणमा लिएपछि मुद्दा नबढेको डीएसपी राउतले बताए ।
बढ्दो सहरीकरण, आधुनिकीकरणसँगै मौलाएको गुण्डागर्दीले चितवन कुनै समय त्रासयुक्त जिल्ला थियो । दैनिकजसो अपराधिक घटनाले यस जिल्ला तातीरहेको हुन्थ्यो । तर एक वर्ष यता चितवनमा अपराधिक घटना कम भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनमा पाँच महिनाको अवधिमा २८१ मुद्दा दर्ता भएको छ । यस आर्थिक वर्षको बितेको पाँच महिनाको अवधिमा विभिन्न शीर्षकमा झण्डै ३०० मुद्दा दर्ता भएका हुन् । यसबीचमा सबैभन्दा बढी कुल ९१ वटा मुद्दा सार्वजनिक अपराधअन्तर्गत परेको छ । यससम्बन्धी मुद्दाको आदेश तथा फैसला जिल्ला प्रशासन कार्यालयबाट हुने गर्छ ।
सार्वजनिक अपराधअन्तर्गत साउन महिनामा १७, असारमा १८, भदौमा २१, कार्तिकमा २५ र मंसिर महिनामा १० वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अघिल्लो वर्षभर शीर्षकको कुल मुद्दा संख्या १८७ रहेकोमा यस वर्ष पाँच महिनाकै अवधिमा झण्डै आधा पुगेको छ । चितवन प्रहरीका अनुसार कर्तव्य ज्यानका ७ वटा मुद्दा बितेका पाँच महिनामा दर्ता भएका छन् । त्यस्तै, ज्यान मार्ने उद्योगका ६, गैरकानुनी गर्भपतनको एक, लागूऔषधसम्बन्धी १९ र सवारी ज्यानसम्बन्धी २७ मुद्दा प्रहरीमा दर्ता भएको छ ।
जवरजस्ती करणीका ६ र करणी उद्योगका २ मुद्दा दर्ता भएका छन् । हातहतियार तथा खरखजनासम्बन्धी जम्मा २ वटा मात्र मुद्दा दर्ता भएको छ । गत पाँच महिनाको अवधिमा ५४ जनाले आत्महत्या गरेका छन् । यसबीचमा फुटकर ज्यानका १८ र भवितव्य ज्यानका २७ मुद्दा प्रहरीमा दर्ता भएको छ ।
साउन महिनामा कुल ५८, भदौमा ५९, असोजमा ५६, कात्तिकमा ६५ र मंसीर महिनामा कुल ४३ मुद्दा चितवन प्रहरीमा दर्ता भएको छ ।
समाजमा आपराधिक घटना हुनु स्वभाविक हो, तर त्यस्ता घटनालाई निस्वार्थ भावनाले काम गर्ने सक्षम प्रहरी नेतृत्वको हातमा सुरक्षा जिम्मेवारी पुग्यो भने ऊ मातहतका कर्मचारीले पनि उत्तिकै सक्रिय भई निस्वार्थ भावनाले काम गर्ने रहेछन् भन्ने उदाहरण बनेर प्रहरी उपरीक्षक दीपक थापा र प्रद्युम्न कार्कीले देखाइदिएपछि कुनै समयमा अपराधको चंगुलमा फसेको यो समाजले पुनः सुरक्षित महसुस गरेको छ भन्दा दुई मत नहोला ।
Discussion about this post