भरतपुर । सवारी दुर्घटना न्यूनीकरणका लागि अनेकौँ प्रयास भए पनि दुर्घटना घटेका छैनन् । न त दुर्घटनाबाट मृत्यु हुने र घाइते हुनेको संख्या नै घटेको छ । गत आर्थिक वर्षभन्दा यस आर्थिक वर्षमा पनि दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढ्ने तथ्यांकले देखाउँछ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरका अनुसार चालु आर्थिक वर्ष २०७०÷०७१ को पहिलो पाँच महिनामा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या ३४ पुगिसकेको छ । सोही अवधिमा सवारी दुर्घटनाबाट ४२ घाइते भएको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष २०६९÷०७० मा सवारी दुर्घटनाबाट ६७ जनाको मृत्यु भएको थियो । त्यस्तै, सोही अवधिमा सवारी दुर्घटनामा १२४ जना घाइते भएका थिए । जसमध्ये ३२ जना गम्भीर घाइते भएका थिए ।
यता चालु आर्थिक वर्षको ७ महिना बाँकी छँदा सवारी दुर्घटना दर बढ्ने देखिन्छ । आर्थिक वर्षको जाडो याम सुरू हुँदै गर्दा सवारी दुर्घटना बढ्ने अघिल्ला वर्षका तथ्यांकले देखाउँछ ।
बाक्लो हुस्सु र चिसो सडकका कारण तीव्र गतीमा आएका सवारीहरु अनियन्त्रित भई दुर्घटनामा पर्ने गरेको कार्यालयका प्रहरी नायव निरीक्षक हुमानन्द खनालले बताए ।
जिल्लामा बढ्दै गएको सवारी चापका कारण पनि दुर्घटना दर बढेको उनको भनाइ छ । मुख्यतया चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा दुर्घटना बढी हुने गरेको प्रहरी नायव निरीक्षक खनालले बताए ।
‘भत्किएका सडक त्यही पनि साँघुरो छ, यसैमा सवारीको चाप बढी हुन्छ’, उनले भने, ‘त्यही कारण पनि यस क्षेत्रमा दुर्घटना बढी हुने गरेको छ । त्यस्तै सवारी दुर्घटना हुनुको अर्को प्रमुख कारण भनेको माधक पदार्थ सेवन गरी सवारी चलाउनु भएको उनले बताए ।
‘भारी गाडी दगुराउँदा मापासे गरेर चलाउँछन्, यसैले दुर्घटना निम्त्याउँछ ।’, उनले भने । मापासे सेवनका घटना ट्राफिकको सक्रियताका कारण कम हुँदै गएको उनले दावी गरे ।
यता, जिल्ला ट्राफिक कार्यालयमा जनशक्ति कम हुनाले समेत दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी कदम कार्यालयले चाल्न सकेको छैन । अहिले चितवनमा आवश्यकता भन्दा करिब तीन चौथाई जनशक्ति कम छ ।
(नरमाया गुरुङ प्रशिक्षार्थी)
Discussion about this post