सौराहा । चितवनको पर्यटन प्रर्वद्धनको लागि सौराहामा आयोजना हुने हात्ती महोत्सव भोलि शुक्रबारबाट सुरू हुँदैछ ।
क्षेत्रीय होटल संघ चितवनले आयोजना गरेको महोत्सवको पर्यटनमन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष नारायण भट्टराईले जानकारी दिनुभयो । ११ गतेदेखि १५ गतेसम्म चल्ने महोत्सव अन्तर्गत हात्तीदौड, टाँगादौड, गाडा दौड, डुंगा दौड, हात्तीका छावाहरुको रोमाञ्चकारी फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको दिनचर्याबारे जानकारीलगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।
हात्ती दौडतर्फ भारत, युके, स्लोभाकिया, हङकङ, अष्टेलिया, जर्मनका ६ वटा टिम र स्वदेशी १४ गरी २० वटा टिमले प्रतिस्पर्धा गर्ने संयोजक ज्ञानेन्द्रकुमार विष्टले जानकारी दिनुभयो । टाँगा दौडमा २०, गाडा दौडमा २०, डुंगा दौडमा १०, हात्तीका छावाहरुको रोमाञ्चकारी फुटबल प्रतियोगितामा ४ र हात्ती सुन्दरी प्रतियोगितामा ५ वटा टिमको प्रतिस्पर्धा हुने संयोजक विष्टले बताउनुभयो ।
हात्ती महोत्सवको १० औं संस्करणसम्म आइपुग्दा पर्यटकलाई हात्ती दौड हेर्न मिनी स्टेडियमसमेत बनाइएको छ । पाँच दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति तथा खानाका स्टलहरु समेत रहने क्षेत्रीय होटल संघका कार्यालय सचिव मनोज सुनारले जानकारी दिनुभयो । हात्ती दौड प्रतियोगिताको प्रचार–प्रसारका लागि बुधबार मोटरसाईकल ¥यालि निकालिएको छ ।
Discussion about this post