भरतपुर । संघीय मामिला तथा स्थानीय विकास मन्त्री विद्याधर मल्लिकले ग्रामीण क्षेत्रको विकासका योजनालाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ ।
पश्चिम चितवनको जगतपुरमा बनेको केरुङ्गा खोलाको पुलको आज उद्घाटन गर्दै मन्त्री मल्लिकले ग्रामीण क्षेत्रको विकास नभएसम्म देश विकास नहुने भएकाले ग्रामीण क्षेत्रको विकासका योजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ भन्नुभयो ।
उहाँले केन्द्रीय बजेट आउने कुरामात्रै ठूलो नभएको भन्दै बनेका संरचनाहरूको संरक्षण गर्न स्थानीयस्तरबाट पहल हुनुपर्ने बताउनुभयो ।
स्थानीय विकास अधिकारी तिलक पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक भीमप्रसाद उपाध्याय, जगतपुर गाविसका पूर्व सचिव हरिबाबु ढकाललगायतले बोल्नुभएको थियो ।
जिल्ला विकास समिति चितवनले करिब रु दुई करोड ६० लाख ७९ हजारको लागतमा सो पुल निर्माण गरेको हो । ६६ मिटर लम्बाइ भएको सो पुलको निर्माण कार्य दुई वर्षमा पूरा भएको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर जगदीश शर्माले जानकारी दिनुभयो । सो पुलले जगतपुरको १ र ४ नम्बर वडालाई जोड्ने काम गर्दछ ।
Discussion about this post