चितवन पोष्टको १७औँ वार्षिकोत्सव[divider]
-धनराज गिरी
१६ वसन्तहरु बितेछन् । १७ वर्षको यात्रामा एउटा पत्रिका पुग्नु भनेको चानचुने उपलब्धि होइन । यहाँनेर आइपुग्दा म आफैँलाई पनि आफैँले चिन्न नसकेझैँ लाग्दछ । जीवनमा धेरै मोडहरु आए । देशमा पनि उथलपुथल भयो । पुस ९ गते आएपछि मन सारै रमाउँछ । मित्र भनौँ वा मीतज्यू भनौँ, दाजु भनौँ वा लेखनीको गुरू भनौँ, धर्मराज अर्यालको अथक र अविश्रान्त तपस्याको प्रतिफल हो, आजको चितवन पोष्ट । चितवन पोष्टलाई यहाँसम्म ल्याइपु¥याउन धेरैले पसिना बगाएका छन्, मसी खर्चिएका छन् । चितवन पोष्ट एउटा पाठशाला पनि हो । यसले धेरैलाई परिचय दिएको छ । सञ्चारजगत्को मह¤वलाई आजको मानवसमाजले न्यूनीकरण गर्न सक्दैन ।
‘थाहा’ एउटा दर्शन बनाएर गए, मकवानपुरे दार्शनिक रुपचन्द्र विष्टले । जनताले धेरै कुरा थाहा पाएमात्रै समाजमा चेतना जागृत हुन्छ । चेतना जागृत भएको समाज अग्रगामी हुन्छ । अन्धकार र अँध्यारो ओडारबाट मानिसलाई उज्यालोतिर डो¥याउन ज्ञानज्योतिको आवश्यकता पर्दछ । त्यही ज्ञानज्योति फैलाउने अनेक माध्यमहरुमध्ये पत्रिपत्रिका पनि एउटा मह¤वपूर्ण माध्यम हो । लोकल वा स्थानीय भनेर राशीफल हेर्ने काममा मात्र प्रयोग गर्ने महान् विद्वान्हरुलाई म केही पनि भन्न सक्दिनँ । तर, हाम्रो राष्ट्रिय दैनिक, चितवनको पहिलो दैनिक, चितवन पोष्टले सबै वर्गका पाठकहरुलाई खुराक पुग्ने मसला पस्किएको हुन्छ । समाज विकासका क्रममा समाजको आर्थिक, शैक्षिक, धार्मिक, राजनीतिक, सामाजिक सबै जीवनमा आमूल परिवर्तन र परिमार्जन हुनुपर्दछ । यसका लागि विचारमा परिवर्तन अपरिहार्य हुन्छ । मान्छेको सोच बदलिएन भने केही पनि बदलिन्न । जीवन ढुंगा होइन, नदीको पानी हो । परिवर्तनबिना प्रगति सम्भव हुँदैन । यही भएर होला, चितवन पोष्टसितै सहकार्य गर्दै जिल्ला शिक्षा कार्यालय भरतपुरले यही पुस २ गते एउटा अर्थपूर्ण कार्यक्रम राख्यो । मित्र रमाकान्त शर्मा पनि त्यसै मौन बसिरहने पात्र होइनन् । सरकारी निकाय घाम ताप्ने र तलब पकाउने काममा मात्रै सीमित नरहेको प्रमाण हो यो । सडकहरुको दुर्दशा देख्दा मलाई यो देशमा सडक विभाग नै नभएझैँ लाग्दछ ।
आज म चितवन पोष्टको सत्रौँ वार्षिकोत्सवका उपलक्ष्यमा चितवन पोष्टकै बारेमा लेख्दैछु । विषयान्तर भएमा क्षमाप्रार्थी छु । यसो कमर्सियल ब्रेक भइहाल्छ । यति भन्छु, राष्ट्रिय जीवनका हरेक पाटोलाई चितवन पोष्टजस्ता पत्रिकाहरुले छुनुपर्दछ । जनतालाई सुसूचित बनाउनुपर्छ । फेरि ‘पीत पत्रकारिता’ बाट आफूलाई जोगाउनु पनि पर्दछ । जसरी नेता, वकिल र क्लिनिके डाक्टरहरु, हेल्मेट टिचरको नाम सुन्दा समाजका आमनागरिकको कान र मन त्यति रमाउँदैन, त्यसैगरी पत्रकारहरु पनि त्यति लोकप्रिय हुन सकेझैँ लाग्दैन, यो सन्न्यासीलाई । पत्रकारहरु अति संवेदनशील हुनुपर्दछ । मानवीय संवेदनालाई ध्यानमा राखिएन भने जे पनि हुन सकछ । यदाकदा सुनिने अप्रिय घटनामा को बढी दोषी हो ? त्यो कुरा राम्रोसित छानबिन हुनुपर्दछ ।
मलाई मेरा आदरणीय पाठकहरुले चितवन पोष्टको पर्यायवाची भन्नुहुन्छ । यो साल विविध कारणले मेरो उपस्थिति पातलो रह्यो । सधैँभरि एउटै रफ्तारमा लेखिरहन सम्भव पनि नहुने रहेछ । फेरि धेरै लेखेपछि लेख्न हुने र लेख्न नहुने कुराहरुका बीचमा भेद पनि थाहा हुँदै जानेरहेछ । म लेखेर प्रख्यात मात्रै भएको छैन, बद्नाम पनि भएको छु । धेरै–धेरै शत्रु कमाएको प्रमाण बल्ल प्रमाणित हुँदैछ । हुन त, कलम समाएपछि कसले पो परिणामको चिन्ता गर्छ र ? धेरै सोचियो भने केही पनि बोलिँदैन र केही पनि लेखिँदैन । हो, मैले अन्यायको विरूद्धमा, सामाजिक कुरीति र विसंगतिहरुको बर्खिलाफ कलम उठाएकै हो । चितवन पोष्टमा लेखेर मैले गल्ती गरेँ, यो अनुभूति मलाई कहिल्यै पनि भएन । लेख्नु भनेको साँच्ची नै ‘तेस्रो नेत्र’ उघार्नु हो । यो पनि त्यति नै सत्य हो– हामी जति राम्रो कुरा बोल्छौँ, लेख्छौँ तर व्यवहारमा उतार्न सकदैनौँ । त्यही भएर हामी हाम्रा चेलाचेलीहरुलाई भन्ने गर्दछौँ, म जे भन्छु त्यो गर्नू । म जे गर्छु, त्यो तिमीहरुले नगर्नू । यो मानवजीवनमा जन्ती जाँदाको व्यवहार र मलामी जाँदाको व्यवहार एउटै हुन्न नै । निजी जीवन र सार्वजनिक जीवन पनि आकाश–जमिनजत्तिकै फरक हुन्छ । तर, मान्छेले सार्वजनिक जीवनमा मानवता र परकल्याणलाई ध्यान दिनुपर्ने रहेछ ।
५६ वसन्त पार गर्दा मैले आफ्नै जीवनमा पनि धेरै विरोधाभासहरु पाएँ । म स्वयम्लाई त्यति असल मान्छे भन्नै सक्दिनँ । त्यही भएर एक पटक लेखेँ– यो संसारको सबैभन्दा खराब मान्छे अरु होइनन्, म हुँ । मैले यसो भन्दा मलाई माया गर्ने, प्राकृतिक माया गर्ने मित्रहरुले भन्नुभयो– तपाईं आफूलाई खराब भन्नुहुन्छ, त्यही भएर तपाईं असल मान्छे हो । यो कस्तो विरोधाभास ? यिनै कुराहरु मैले पत्रिकामा लाजै नमानी लेखेँ । मेरा मित्र, मेरा हमराज, चिचिपापा, प्रख्यात गजलकार प्रभाकर पण्डित भन्नुहुन्छ– गुरू, आफ्नै बारेमा यसरी पूर्ण पारदर्शिता अलि जोखिमपूर्ण हुन्छ कि ? यो पनि पण्डितजीको मप्रतिको प्रेम नै हो । हामी एकअर्काका प्रेमी हौँ । शब्द–संसारमा रमाउने प्रेमी । चितवन पोष्टमा १६ वर्ष लेखेर मैले जे–जति दृश्य÷अदृश्य कमाइ गरेँ, त्यसको तुलनामा केही पनि गुमाएको छैन । लाभैलाभ भएको छ मलाई । अब म आफ्नो कुरा गर्दिनँ ।
चितवन पोष्टले चितवनका साहित्यकारहरुलाई ठूलो गुन लगाएको छ । अलि बेग्लै स्वभावका, कविडाँडाका धेरै–धेरै युवाकविहरुका साहित्यिक गुरू, मेरा प्रिय भाइ सङ्गीत आयामको नाम छुटाएमा अनर्थ हुन्छ । आयामको आगमनभन्दा पहिले पनि चितवन पोष्टले साहित्यकारहरुलाई राम्रै सम्मान र स्थान दिएको हो । फरक त्यसपछि के कुरामा भयो भने सङ्गीतको आगमनपछि यसले रुप र सारमा निखार ल्यायो । नयाँ–नयाँ प्रयोगहरु भए । पहिलो पटक छापामा स्थान पाउँदा नवसर्जकको मन कस्तो हुन्छ, त्यो हामी सबैलाई थाहा छ । स्वनामधन्य मानक स्रष्टाहरुको जीवन–कहानी पढिएमा अझ रमाइला कुराहरु थाहा पाइन्छ । भाइ सङ्गीत आयामको प्रयास लोभलाग्दो छ । म साहित्यकारहरुलाई ज्यूँदो सहिद भन्दछु । जिन्दगी त सहिद होला÷नहोला, खल्ती अवश्य सहिद हुन्छ । आजको चरम भौतिक युगमा खल्ती सहिद हुँदा कता–कता धक्का पर्दछ, थाहा हुन्न । श्रीमतीले पारपाचुके गरिन् भने बुद्धि पु¥याइन् भन्नुपर्दछ । यस्ता दुःखी जमात हुन्, साहित्यकारहरु । एउटा निस्तो दोसल्ला पाउँदा मख्ख पर्दछन् । अचेल त खादाले नै आधा काम गरिदिन्छ । चितवन पोष्टले चितवनका सर्जकहरुलाई यथेष्ट स्थान दिएर हाम्रो वाङ्मयलाई ठूलो गुन लगाएको छ । भाइ सङ्गीत आयामलगायत सम्पूर्ण चितवन पोष्ट परिवारलाई म धन्यवाद दिन चाहन्छु । चितवन पोष्ट चितवनमा मात्रै पढिने पत्रिका होइन । अहिले यसलाई संसारभरिकै पाठकहरुले पढ्छन् । हाम्रो रचना पनि भूमण्डलीकृत भइसकेको छ । हाम्रा नेपाली आफन्तहरु जहाँ–जहाँ पुगेका छन् र प्रविधिलाई सदुपयोग गरेका छन्, उनीहरुले पढ्छन् ‘चितवन पोष्ट’ । मुहार पुस्तक (फेसबुक) मार्फत् हामी यसको जानकारी पाइरहेका छौँ ।
१७औँ वसन्तको बधाई, मेरो प्यारो चितवन पोष्टलाई ! पोष्ट परिवार आफैँ अनुभवी र विज्ञ भएकाले म उपदेशक बन्दिनँ । समयसापेक्ष भएर यो अग्रगामी हुने कुरामा म ढुक्क छु । यसले आफूलाई पनि पाल्नेछ र लेखकहरुको खल्तीमा पनि केही हाल्नेछ । बाँच्न सबैले पर्दछ । हरेक पुरेतको आफ्नै धर्म हुन्छ । स्वयम् धर्मराजसित धर्मको कुरा गर्नै परेन । आउने दिनहरुमा अझ स्तरीय, अझ समसामयिक लेखहरु, आधिकारिक समाचारहरु लिएर अझै परिष्कृत र परिमार्जित भएर आउने छ, चितवन पोष्ट । म ढुक्क छु । नियमित लेखिरहनुहुने लेखक मित्रहरुको जाँगर अझै बढोस् । हरेक मान्छेले चितवन पोष्ट पढोस् । केदार गुरू भन्नुहुन्छ– ‘चितवन पोष्ट दैनिक चितवनको कान्तिपुर हो ।’
Discussion about this post