चितवन पोष्टसँग मेरो यात्रा र अविस्मरणीय पलहरु

अन‌ि यो पनि

-केशव भट्टराई

हेर्दाहेर्दै चितवन पोष्ट दैनिकले सोह्र वर्षे यौवन पार गर्दै सत्र वर्षमा प्रवेश गरेको छ । यस वार्षिकोत्सवका अवसरमा चितवन पोष्टसँग भौतिक तथा भावनात्मक सम्बन्धका विषयमा केही अनुभूति प्रकट गर्न पाउँदा अत्यन्त खुसी लागेको छ । चितवन पोष्टसँग पारिवारिक तथा पारस्परिक रुपमा मेरो सानिध्यताको प्रसङ्ग संक्षेपमा राख्ने जमर्को गरेको छु ।
विगतबाटै सुरू गरौँ । साप्ताहिकबाट दैनिक प्रकाशन सुरू भएसँगै चितवन पोष्टमा एउटा सूचना प्रकाशित भएको थियो । म त्यतिबेला शहीद स्मृति बहुमुखी क्याम्पस रत्ननगरमा प्रमाणपत्र तहको पहिलो वर्षमा अध्ययन गर्दैथिएँ । अध्ययन गर्नेक्रममा साहित्यिक रचनाहरुमा चाख भए पनि पत्रकारितासम्बन्धी कुनै चाहना थिएन र चाख पनि । म मात्र पैसा कमाउने जागिर चाहन्थेँ, जसका कारण क्याम्पसमा सानका साथ पढ्न सकियोस् । र, पकेट खर्चको राम्रो प्रबन्ध हुन सकोस् ।
२०५६ साल साउन १९ गतेको पत्रिकामा वितरकको आवश्यकता भनिएको थियो । संयोग पनि कस्तो प¥यो भने त्यसबेला मेरो घरमा दुई जना बंगाली भाडामा बस्थे र उनीहरुले नक्कली नोट छापेर मालामाल भइन्छ भनेर थुप्रै छिमेकीहरुलाई ठगेका थिए । ठगिनेमध्येका एक जना कृष्ण पौडेल पनि मसँगै चितवन पोष्ट प्रधान कार्यालय पुगेका थिए । जुनबेला पिया मार्केटको चौँथो तल्लामा यसको कार्यालय थियो । निवेदनको असरले हो वा बोलीको प्रभाव, सम्पादक धर्मराज अर्यालले अत्यन्त भावनात्मक रुपले ‘रेस्पोन्स’ गर्नुभयो । निवेदन दिनेबित्तिकै काम गर्न पाइने भयो । र, साउन २० देखि मेरो जागिर पक्का भयो । भोलिपल्ट मेरै भनाइ उद्धृत गर्दै बंगालीको ठगी समाचार पनि पत्रिकामा छापियो । जीवनमै पहिलोपल्ट जागिर पाइएको थियो । त्यसमा पनि जागिर सुरू भएकै मितिमा समाचारमा आफ्नो नाम आएको थियो । त्यसबेला पत्रिकामा नाम आउनु हर्षको विषय पनि हुन्थ्यो । मेरो काम थियो– सौराहामा ग्राहक विस्तार गर्ने र ती ग्राहककोमा पत्रिका पु¥याउने । मसँग उसबेला साइकल थिएन । मेरा मिल्ने साथी थिए प्रकाश पौडेल, जो मेरा सहपाठी पनि थिए । र, अहिले पनि हितैषी मित्र हुन् । मोही माग्नु ढुङ्ग्रो लुकाउनु किन गर्नु थियो र ? मैले उनकै साइकल मागेर पत्रिका वितरण गरेको हुँ । साउनको महिना सौराहा जलमग्न हुने । फर्किंदा एक–दुई समाचार पनि मिल्ने । यस्तैमा चित्रसारीमा एक मित्रले भने– ‘सौराहामा मान्छे बगायो ।’ पत्रिकामा समाचार बनाउँदा सौराहामा मान्छे बगाएको भनेर लेखियो । तर, मान्छे उत्रिएछन् तर घाँसमात्र बगाएको रहेछ । त्यसपछि हचुवाको भरमा समाचार बनाउनुहुँदैन रहेछ भन्ने ज्ञान भयो ।
पत्रिका पाँच दिनजति बाँडेपछि मेरो प्रमोसन भयो, संवाददातामा । सौराहा क्षेत्रमा अर्को मान्छेलाई पत्रिका बाँड्ने जिम्मेवारी दिएर म समाचारको खोजी गर्न थालेँ । त्यतिबेला पूर्वी चितवनमा मेरो एकलौटी राज चल्यो । पत्रकारका रुपमा कहलिएको म नै पहिलो थिएँ । संघसंस्थादेखि कलेजमा पत्रकारका रुपमा मैले धेरै सम्मान पनि पाएँ । भदौदेखि मेरो फेरि प्रमोसन भयो, शाखा प्रमुखका रुपमा । त्यसबेला उत्सुकता र जिम्मेवारीको हैसियतले मलाई हौस्यायो । र, आफूसँग केही गर्न सक्ने क्षमता रहेको अनुभूति भइरहेको थियो । रत्ननगर शाखाबाट बजार व्यवस्थापन, विज्ञापन तथा वितरणको जिम्मेवारी तथा परिचालन गर्नुपर्ने दायित्व थपियो । पत्रकारितामा पनि राम्रो छवि निर्माण गर्दै गएपछि रहरमा खाइएको जागिर मेरो पेसामा परिणत भयो । त्यसबेला कलेजहरुमा पत्रकारिता अध्ययन गर्ने सुविधा पनि थिएन । अध्ययन गर्न राजधानी जान सम्भव पनि भएन । विभिन्न तालिमकै भरमा पत्रकारितालाई पेसाका रुपमा अँगालियो । यस पेसालाई छाड्न नसकिएका, पढाइअनुसारको पेसा अँगाल्न नसकिएका र पत्रकारिताबाट टाढा हुन नसकिएका धेरै प्रसङ्ग छन् । जे भए पनि चितवन पोष्ट दैनिकसँग सामीप्यता जोडिएको र भावनात्मक रुपमा बाँधिएकै कारण म यस संस्थाबाट टाढिन नसकेको हुँ ।
मेरो शाखा प्रमुखबाट प्रमोसन भएर नाइट डेक्स इन्चार्जका रुपमा केही वर्षपछि नारायणगढमा सरूवा भयो । यस अवधिमा मैले पूर्वी चितवनबाट धेरै जना पत्रकारहरु जन्माएँ । आफ्नै उदाहरण दिँदै पत्रकारितामा प्रवेश गराएँ । अधिकांश पत्रकारितामा मबाट प्रत्यक्ष प्रभावित भएरै यो पेसामा आकर्षित भए । नाइट डेक्सको जिम्मेवारी पाए पनि काम ज्यादै गाह्रो र सकसपूर्ण थियो । अहिलेजस्तो सूचना प्रविधि भित्रिएको थिएन । फ्याक्सबाट आएका दर्जनौँ समाचार बनाउनुपथ्र्यो भने राति सुत्दा दुई बज्थ्यो । त्यसबेला द्वन्द्वकालीन अवस्था थियो । द्वन्द्वसम्बन्धी समाचार लेख्दालेख्दै दिक्क भएपछि विकट क्षेत्रका सामाजिक विषयमा फिचर बनाउने होडमा कान्तिपुरका तत्कालीन भरतपुर समाचारदाता खुमानसिं तामाङ र म प्रायः चितवनका पहाडी गाविसहरुमा रिपोर्टिङका लागि जाने ग¥थ्यौँ । त्यसैक्रममा २०६१ साल जेठ महिनामा एउटा अविस्मरणीय घटना घट्यो । त्यतिबेला संकटकाल लगाइएको थियो । र, मोटरसाइकलमा दुई जना चढ्न निषेध गरिएको थियो । खुमानसिं, मालेका नेता तबहादुर विक, म र एक जना मोटरसाइकल वर्कसपका मित्र शक्तिखोरबाट फर्किएका बेला जुटपानीमा झन्डै ज्यान गएको थियो । विद्युतीय धराप र स्पोट डेथको कारबाहीबाट झन्डै बाँचिएको थियो । हामी कुनै सिआईडी थिएनौँ । र, माओवादीविरूद्व गुप्तचर गरेर हिँडेका पनि थिएनौँ । तर, हामीमाथि आर्मीको सिआईडीको आरोप लगाइएको थियो । त्यसबेला कारबाहीमा खटिएका कार्यकर्ताले ‘ठूलो संयोगले तपाईंहरु बाँच्न सफल हुनुभयो, स्पट डेथको कारबाहीमा बाँचेको तपाईंहरु नै पहिलो हो’ भनेर भन्दा पुनर्जन्म पाएको अनुभूति भयो । त्यसबेला जे हुनुभयो भइहाल्यो, मिडियामा चाहिँ नल्याउनुहोला भने । त्यसबेला रिपोर्टरको डायरीमार्फत् मैले संस्मरण लेखेँ । केही दिनपछि खुमानजीले पनि कान्तिपुरमा झन्डै–झन्डै बाँचेको संस्मरण लेखे । त्यसपछि खुमानजीलाई चितवन फापेन । पेसागत असुरक्षा देखेर उनी काभ्रे सरूवा भए ।
चितवन पोष्टमा काम गर्ने क्रममा अनगिन्ती आरोह–अवरोह भोग्नु परेको छ । एक पटक चितवन पोष्टमा छापिएको एउटा सामान्य विषयलाई लिएर अतिरञ्जित तवरले चितवन पोष्ट तोडफोड गरियो । श्यामश्वेत तस्बिर प्राविधिक कारणले अर्को विज्ञापनमा छापिन पुगेकोमा केही युवाहरुले कार्यालयमाथि आक्रमण गरे, जसमा मैले व्यक्तिगत रुपमा सञ्चालन गरेको ‘इजी मिडिया कर्नर’समेत ध्वस्त बनाए । केही सामग्री चोरिए, ठूलो दुःखले किनेको डिजिटल क्यामेरासमेत जलाइदिए । केही व्यक्तिहरुलाई सार्वजनिक अपराधमा किटानी जाहेरी दिइयो । त्यो मुद्दा अहिले पनि स्थगित नै छ । म स्वयं कतिपल्ट गृह मन्त्रालयदेखि शान्ति समितिको कार्यालयमा दौडधूप गरेँ । थकित भएर फर्किनुप¥यो । त्यस घटनाका दोषी सामान्य धरौटीमा रिहा भए र हामीले क्षतिपूर्ति पाउन सकेनौँ । पूर्वी चितवनमा एउटा पत्रकारका रुपमा गर्नुपर्ने जति त्याग र समर्पण गरेको व्यक्तिलाई पूर्वाग्रही भएर जुन किसिमले आगजनी गरियो, त्यसले मलाई नराम्ररी विक्षिप्त बनायो । धेरथोर योगदान त मैले दिएकै थिएँ । पूर्वाग्रही भएर कसैको समाचार पनि छापेको थिइनँ । तर पनि मप्रति सहानुभूति राख्नुको साटो प्रतिकारमा उत्रिए ।
त्यसपछि मैले दिवा डेक्सको जिम्मेवारी सम्हालेँ । प्रत्येक शनिबार चितवनका हस्तीहरुसँग साक्षात्कार गरेँ । तर पनि मनमा शान्ति छाउन सकेन । समाचार लेख्ने चाहना भए पनि डेक्सको जिम्मेवारीले गर्दा समय पाउन सकिएन । चितवन पोष्ट तोडफोडको घटनापछि मलाई पत्रकारिता पेसाप्रति वितृष्णा लाग्न थालेको थियो । म वैकल्पिक पेसाको खोजीमा थिएँ । तर, पत्रकारितामा लामो समयदेखि काम गरिसकेकाले अरु क्षेत्रमा आत्मसन्तुष्टि हुने कुरै भएन । परिवारदेखि इष्टमित्रसम्मले कमाइ हुने पेसामा लाग्न सुझाव दिइरहेका थिए । न पैसा, न पेसागत सुरक्षा, न त जीवनवृत्तिमा नै कुनै सहयोग । यस्तो पेसामा लागेर समय व्यतीत गर्नुमात्र हो भन्ने लागिरहेको थियो । सम्पादन समूहमा रहेर काम गरे पनि मन रमाउन सकेको थिएन । मनमनै सोचिरहन्थेँ– कस्तो दुःखको पेसा अँगालिएछ ! न वर्तमानमा सन्तोष छ, न भविष्यका लागि त्यस्तो केही आशा । हुन पनि त्यसबेला त्यस्तो लाग्नु स्वाभाविक नै थियो । सामाजिक जीवनभन्दा भूमिगत शैलीमा मैले त्यस समय पत्रकारिता गर्थें । दैनिक रुपमा समाचार नलेख्ने भएपछि पत्रकारितामा सक्रियता पनि देखिँदैन । फिल्डमा र जनसम्पर्कमा नरहेपछि मलाई मेरा शुभेच्छुकहरुले कहाँ हराउनुभएको भनेर सोध्न थाल्थे । क्रियाशीलतामा पनि अलिक कमी आइरहेको र मनमा अनेकौँ कुरा खेलिरहेकाले म पत्रकारिताबाट अलग हुन चाहिरहेको थिएँ । तर, संस्थागत हिसाबले सम्पादकले अति नै माया गर्ने कारण पनि छोड्न सकिरहेको थिइनँ ।
एक दिन यस्तै विकल्पको खोजी गरिरहेका बेला सँगै कलेज पढेका एक मित्रले एजुकेसन कन्सल्टेन्सी खोल्ने सुझाव दिए । मैले केही विचारै नगरी २०६५ साउन ३२ गते एक्कासि स–सम्मान राजीनामा दिएँ । मेरो अकस्मात्को राजीनामा–पत्रले सम्पादकलाई समेत चकित तुल्यायो । त्यो अवधिसम्म एक बचन पनि नराम्रो भएको थिएन । र, सम्पादकले निर्देशनात्मक हिसाबले कहिल्यै पनि काम गराउनुभएन । म हस्तक्षेप गर्दिनँ, स्वविवेक प्रयोग गर्नुस् भन्ने उहाँको अनुरोधलाई मैले जिम्मेवार भएर काम गरेँ । र, स–सम्मान बिदाइ पनि भएँ ।
मेरो कन्सल्ट्यान्सीले सोचेजस्तो सफलता हासिल गर्न सकेन । ममा धैर्य पनि रहेन । एबोर्ड स्टडीमा अस्ट्रेलिया जाने कि कन्सल्ट्यान्सीलाई निरन्तरता दिने भन्ने विषयमा द्विविधा भएपछि त्यसलाई पनि बीचैमा छाड्नुप¥यो । पारिवारिक रुपमा ‘घरजम’ गर्ने चर्चा र दबाब पनि बढेको थियो । आफ्नो प्रतिष्ठाको पेसा स्वविवेकले छाडिएको थियो र कन्सल्ट्यान्सीको मोहभंग हुने अवस्थामा थियो । र, कन्सल्ट्यान्सी सेवाबाट पनि स्वैच्छिक अवकाश लिन बाध्य हुनुप¥यो । समय र परिस्थिति आफूअनुकूल नहुँदा अब झन् संकटग्रस्त अवस्था सिर्जना भएको थियो । अब भने म साँच्चैको बेरोजगार भएको थिएँ । आफैँले राजीनामा दिएर गएको संस्थामा पनि म आउँछु भनेर भन्न मेरो स्वाभिमानले दिएन ।
पत्रकारितामा ख्याति कमाए पनि, जति पीडा भोगे पनि मेरा शुभचिन्तकहरुले पेसाबाट पलायन भएकोमा दुःख–मनाउ गरिरहेका थिए । तर पनि एकाध लेखहरु लेखेर सिर्जनशीलता मरेको छैन भनेर देखाउँथे । त्यसैबेला करिब एक वर्ष म एक पत्रिकामा आबद्ध भएँ । तर, समाचारभन्दा पनि ‘तीतोपिरो’ स्तम्भमा व्यङ्ग्य लेख लेखेर चर्चा पाएँ । त्यतिबेला पनि झल्झली चितवन पोष्ट नाचिरहेको थियो । र, मेरो विगतको इतिहासले पछ्याइरहेको थियो । त्यसपछि मैले अर्कै बिजनेसमा हात हालेँ । त्यो पनि सफल हुन सकेन । हरेक दिन तपाईंले पत्रकारिता नछाड्नु पर्ने भनेर मित्रजनले पेल्न थालेका थिए । भर्खरै पत्रकारितामा प्रवेश गर्नेहरुले समेत दाइलाई पत्रकारितामा आएको देख्न मन लागेको छ भनेर शुभेच्छा प्रकट गर्थे । तर, पत्रकारितामा मेरो प्रवेश सहज थिएन । त्यसपछि मैले नयाँ बिजनेस गर्ने सोच बनाएँ, त्यो पनि चितवनबाहिर । हेटौँडामा २५ वर्ष पुरानो एउटा ख्यातिप्राप्त रेस्टुरेन्ट बिक्रीमा थियो । रातारात किनेपछि म व्यवसायी भएँ । तर, पत्रकारितामा नाम कमाएको मान्छेलाई दाम कमाए पनि सन्तुष्ट बनाउन सकेन । हेटौँडामा दर्जनौँ मित्रहरु भए पनि गोपनीयताका हिसाबले जानकारी दिइएन । जब २५ जना कर्मचारीहरु आन्दोलित भए र भाँडासमेत आफैँले माझ्नुपर्ने अवस्था आयो, त्यसपछि चाहिँ रेस्टुरेन्टप्रति मन मरेर आयो । पत्रकारिताको अनुभव अबचाहिँ पूर्ण रुपमा मर्ने सम्भावना थियो । र, रहरैरहरमा गरिएको व्यवसाय  छाडियो । रेस्टुरेन्ट छाडेपछि चाहिँ साँच्चैको बेरोजगार भएको थिएँ ।
रेस्टुरेन्टको ‘ह्याङ्आउट’ पछि चितवन पोष्टबाट फोन आयो । तपाईं चितवन पोष्टमा आउनुप¥यो । यो संस्थालाई तपाईंको खाँचो छ । संस्थामा राम्रो गरेकै कारण संस्थाले पुनः स्वागत ग¥यो । यसमा खुसी पनि लाग्यो । कति मान्छे विभिन्न संस्थामा काम गर्छन्, जाने बेलामा नराम्रो छवि निर्माण गरेर जान्छन् । स–सम्मान बिदाइ भए सम्मानपूर्वक नै स्वागत गरिँदोरहेछ । अहिले मेरो पुनरागमन भएको छ । म फेरि पत्रकारितामै स्थापित भएको छु ।
पत्रकारिताको मेरो पहिलो स्कुल भन्नु नै चितवन पोष्ट हो र पहिलो शिक्षक भन्नु नै धर्मराज सर हो । तर, म चितवन पोष्टमा काम गर्दा स्वाभिमान उँचो नै भएको पाउँछु । चितवन पोष्टमा काम गर्दागर्दै पनि मैले धेरै सञ्चार–संस्थामा संवाददाता तथा सह–सम्पादकका रुपमा काम गरेँ । तर, ती ठाउँहरुमा मैले स्वाभिमान र आफ्नोपन पाउन सकिनँ । २०५६ सालदेखि आजसम्मको मेरो यात्रामा एउटा पत्रिका वितरकदेखि सह–सम्पादकसम्म बन्न सफल भएको छु । सम्पादकले मप्रति यतिधेरै विश्वास, भरोसा र आशासहित संस्थामा पुनस्र्थापना गर्नुभएकोमा म आभारी छु । आज यस संस्थाको वार्षिकोत्सव भइरहँदा र म यस संस्थाको सबैभन्दा पुरानो पत्रकारका रुपमा कार्यरत हुन पाउँदा अत्यन्त हर्षित भएको छु । चितवन पोष्टको यो यात्रामा मेरो पहिचान नै चितवन पोष्ट भएको छ । र, मेरो पर्यायवाची नै चितवन पोष्ट भएको छ । पत्रकारितामा मेरो पुनरागमनले मेरा शुभेच्छुकहरुलाई पक्कै पनि खुसी तुल्याउने छ भन्ने मैले ठानेको छु । र, आगामी दिनमा इमानदारितापूर्वक पत्रकारितामा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया