१७ घरपरिवार रातभर जाग्राम [divider]
रत्ननगर । साना झुप्रा छन् । छानोबाट शितका थोपा भित्र छिर्छन् । जाडोमा सिरेटो छेक्ने कपडासमेत छैन । यो समस्या रत्ननगर नगरपालिका ७ कपरखोरी बालुवाटारको मुसहर समुदायमा परेका हो ।
यस क्षेत्रमा बसोबास गर्दै आएका मुसहर बस्तीमा जाडोको समयमा न्यानो लुगा र राम्रो बासको व्यवस्था नहुँदा यसरी नै वर्षेनि कठ्याङ्ग्रिन बाध्य हुने गरेका छन् । यहाँ रहेका मुसहर समुदायका १७ घर परिवार बढ्दो जाडोसँग अहिले बिचल्ली अवस्थामा रहेका छन् ।
एउटा सानो झुप्रोमा ६ जनादेखि १४–१५ जनासम्म बस्नुपर्ने बाध्यता त्यहीमाथि न्यानो ओड्ने कपडाको अभाव हुँदा रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनीहरु बताउँछन् । कहीँकतैबाट न्यानो कपडाको व्यवस्था हुन्छकी भन्ने आशमा उनीहरु बसेका छन् ।
करिब १८ वर्ष अघिदेखि यस स्थानमा बस्दै आएका उनीहरुलाई हरेक चुनावमा नेताहरुले न्यानो आश्वासन दिने गरे पनि त्यो आश्वासन पूरा हुन सकेको छैन । वर्षेनि हुने शितलहरसँगै जाडोलाई छेक्न कपडा नहुँदा कम्ती सास्ती त पाएका छैनन् मुसहर समुदायले ।
विभिन्न समयमा यस बस्तीलाई राहत सामाग्री वितरण गर्ने गरेपनि दीर्घकालीन हुन भनेको सकेको देखिँदैन । वर्षेनि बाँडिने राहतभन्दा उनीहरु एउटा न्यानो ओतको व्यवस्था होस् भन्ने चाहना राख्छन् ।
जिल्ला विपत् व्यवस्थापन समितिले गत शुक्रबार जिल्लाका सबै निकायलाई जाडोबाट पीडितहरुको उद्दार र सहयोगमा लाग्न अनुरोध गरेको छ । समितिले विपन्न वर्गलाई न्याना कपडा वितरण गर्ने योजना पनि ल्याएको छ । उक्त योजनाले यो बस्तीलाई न्यानो दिओस् ।
Discussion about this post