भरतपुर । चितवनमा जारी राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत आज मंगलबारदेखि जिल्लास्तरीय खेलकुद प्रतियोगिता सुरू हुँदैछ ।
गत पुस २ गतेबाट सुरू भएको क्षेत्रीय स्तरका खेलहरुबाट छनोटमा परेका खेलाडीहरुको अन्तिम खेल नारायणगढको क्याम्पाचौरमा हुने जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष उत्तम गुरूङले जानकारी दिनुभयो । निर्वाचन क्षेत्रअन्तर्गत ५ वटै क्षेत्रमा सामुदायिक र संस्थागत विद्यालयका छात्रछात्रहरुले छनोट खेलमा भाग लिएका थिए ।
क्याम्पाचौरमा हुने जिल्लास्तरीय प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला खेलकुद विकास समिति चितवनका प्रवक्ता रामहरि सेढार्इंले जानकारी दिनुभयो । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा एथलेटिक्सअन्तर्गत दौड, सटफुट, हाइजम्प, लङजम्प, रिलेखेल एवम् भलिबललगायतका विभिन्न खेलहरु सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति चितवनका सचिव रामजी ढकालले बताउनुभयो ।
Discussion about this post