काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले राजनीतिक दलहरूबीच सहमति भएमा स्थानीय निकायको निर्वाचन गराउन निर्वाचन आयोग तयार रहेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “तपाईंहरू (राजनीतिक दलहरू)ले राजनीतिक सहमति कायम गरी स्थानीय निर्वाचन गराउनु प¥यो भनेर आवश्यक ऐन नियम संशोधनसहितको पत्र फागुन १५ सम्ममा आयोगमा पठाइदिनुहोस्, आगामी चैत÷वैशाखभित्रमा स्थानीय निर्वाचन गराउन आयोग तयार छ ।”
लुम्बिनी अञ्चलमा कार्यक्षेत्र गरी विभिन्न चारवटा गैरसरकारी संस्थाद्वारा निर्माण भएको किस कन्सोर्टियमद्वारा स्थानीय निकायको निर्वाचन अपरिहार्यसम्बन्धी आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त उप्रेतीले स्थानीय निकायको निर्वाचन गराउन आयोगले तयारी थालिसकेको पनि जानकारी दिनुभयो ।
“आयोग स्थानीय निकायको निर्वाचन गराउन तयारी अवस्थामा छ, कुन प्रणालीको निर्वाचन गराउने हो, सहमति गरेर दलहरूबाट आयोगमा आउनुप¥यो, आयोग दलहरूको आग्रह कुरेर बसेको छ, आग्रह आउनेवित्तिकै हामी निर्वाचनमा लाग्छौँ”, उहाँले भन्नुभयो ।
मङ्सिर ४ मा सम्पन्न संविधानसभाको निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) लगायतका प्रमुख दलहरूले सार्वजनिक गरेका प्रतिबद्धतापत्रमा संविधानसभाको निर्वाचन सम्पन्न भएको एक वर्षभित्रमा स्थानीय निकायको निर्वाचन गर्ने भन्ने कुरा उल्लेख गरिएका थिए ।
स्थानीय निकाय निर्वाचित प्रतिनिधिविहीन भएको ११ वर्ष बितिसकेको छ । जिल्ला विकास समिति महासंघ, नगरपालिका संघ र गाउँ विकास समिति महासंघजस्ता निकायले छिटोभन्दा छिटो निर्वाचनको गराउन माग गरिराखेका छन् ।
Discussion about this post