युवाशक्तिलाई विदेश पलायन हुनबाट रोकौँ

अन‌ि यो पनि

-रमा घिमिरे
नेताहरुको सफल नेतृत्व र कार्यकर्ताको निस्वार्थ सेवाभावले मात्र मुलुक र मुलुकवासीको हित हुँदै जान्छ । आजसम्म हामीले राजनीतिक परिवर्तन धेरै गरिसकेका छौँ । सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन पनि भइरहेको छ । नेपाललाई आधुनिक विकासले समृद्ध बनाएर विदेशका युवालाई काम खोज्न नेपाल आउने वातावरण बनाउन वुद्धिजीवीहरुको ध्यान जानु जरूरी छ । नेपाली युवाहरु कामको खोजीमा विदेश धाइरहँदा नेपालले पुँजी, मस्तिष्क र युवाशक्ति गुमाइरहेको छ । आजका नेपाली जनताले शिक्षा, स्वास्थ्य, रोजगार चाहेका हुन् ।
मानिस अहिले भौँतारिएको अवस्थामा छन् । एक व्यक्ति मात्र समृद्ध भएर गाउँ समृद्ध हुन सक्दैन । व्यक्तिमा परिवार, गाउँ, जिल्ला, परिवर्तन हुने सोच आउनु जरूरी छ । मानिस विदेशमा श्रम गर्न जान्छन्, त्यसले विदेशी नै धनी हुने हुन् । आफ्नै ठाउँमा रोजगारीको सिर्जना गर्न सकियो भने आफ्नो ठाउँ पनि विकास हुन्छ । हमी विश्वमा नै गर्व गर्न सक्ने ठाउँ आफ्नै देशमा बनाउन सक्छौँ । नेपाली समाजमा बढ्दै गएको परनिर्भरतालाई पर सारेर आत्मनिर्भर कसरी हुन सकिन्छ, अहिले सोच्ने बेला आएको छ । हामी सरकारले केही गरिदेला र रोजगार हुन पाइएला भनी बस्नुभन्दा हामीले नै केही आँट गर्नुपर्दछ, तबमात्र रोजगारी सिर्जना हुन सक्छ ।
प्रकृतिले हराभरा सौन्दर्य, अनेकौँ हिमश्रृङ्खला, धेरै नदी, ताल, झरना, छहरा, लहरा, पहरा, विविध हावापानी, विविध धर्म र संस्कृति, बुद्धको शान्ति भूमिजस्तो ठाउँ नेपालीलाई दिएको छ । धेरै ठाउँहरुले विकास गर्न नपाएकोमा छटपटाइरहेको छ । जसरी थोपा–थोपा भएर सागर बनिरहेको छ, त्यसरी नै नेपालीले नेपाललाई राम्रो बनाऊँ भन्ने सोच आएमा देश समृद्ध बन्न समय लाग्दैन । जीवनमा संघर्ष नै गरिरहनुपर्दछ । नेपालबाट रोग, भोक, अशिक्षा हटाउन संघर्ष गरौँ । नेपाललाई सस्तोमा श्रमिकहरु उत्पादन गर्ने देश भनिरहेछन् विदेशीले । हामीकहाँ भएका उद्योगहरु बन्द भइरहेका छन्, हाम्रा पौरखी हातहरु विदेश गइरहेका छन् । विदेशमा कमाएर ल्याएको पैसाले कति दिन चल्छ ?
हाम्रा राजनीतिक पार्टीले जनतालाई राजनीतिक चेतना राम्रैसँग दिएका छन् । अझै पनि आर्थिक, शैक्षिक, औद्योगिक चेतनामा विकास हुन सकेको छैन । देशमा रहेको श्रमशक्तिलाई यहीँ राखेर उद्योगधन्दा कलकारखानामा काम लगाउन सकेमा आफ्नै ठाउँमा रोजगार हुन्छन्, नेपालीहरु । विदेश जाँदा देश, गाउँ, परिवार सम्झेर पीडा र छटपटी भइरहन्छ । आफ्नो आफन्त नभएको ठाउँमा गई रातदिन खटेर काम गर्दा पनि मालिकको डाँको चलिरहन्छ । साना–साना पुँजी संकलन गरेर गाउँगाउँमा सहकारी स्थापना गरौँ । आफ्ना सदस्यलाई तालिम, बिमा सुविधा दिँदै शिक्षा, स्वास्थ्य, रोजगार बनाउन लागौँ ।
साना–साना सहकारी संघसंस्थाहरु स्थापना गरेर देशका धेरै भागमा राम्रो काम भइरहेको छ । समूहमा आबद्ध भएर आर्थिक रुपमा सम्पन्न र बौद्धिक रुपमा सचेत भएका छन् । आफ्नै पैसा आफ्ना समूहका सदस्यलाई वितरण गरेर उद्योग व्यवसाय चलाउन सक्षम भएका छन् । अहिले गाउँमा बाख्रापालन, कुखुरापालन, पशुपालन, तरकारीखेती, माछापालन, फलफूल खेती फूल खेती, घरेलु उद्योग, व्यापार व्यवसाय वृद्धि भएको छ । महिलाहरुले ऋणको सदुपयोग गरेर गाउँलाई फेरेका छन् । विदेश गएर आफ्नो परिवारको रेखदेख नहुने, दुईतिर हुँदा बालबच्चाले बाबुआमाको माया नपाउने हुँदा आजभोलि विदेशको नोकरी छोडेर देशमा आएर अनेकौँ व्यवसाय गरेर बस्नेको संख्या बढेको छ ।
आफ्नै देशमा पौरखी हात लगाउने हो भने तरकारी खेतीबाटै एक रोपनीबाट लाखौँ रूपैयाँ लिन सकिन्छ । बालबच्चासँगै रहेर आफ्नै देशमा काम गर्दा दुःख–सुखमा साथ पाइन्छ । बुद्धि हुने मानिसले गरेर देखाए अरुले त्यसैको सिको गर्दछन् । जग्गाजमिन जेका लागि काम लाग्छ, त्यसैका लागि प्रयोग गर्ने गरेमा जमिनबाट नै धनी बन्न सकिन्छ । हामी परम्परागत खेतीमै अल्झेर उकासिन सकेका छैनौँ । आजभोलि घिउकुमारी पनि निकै फस्टाएको छ । आफूले लगाई मात्र दिए पनि बजार पाउन गाह्रो छैन । आजभोलि मानिसले अर्गानिक चीज खोजिरहेका छन् । हरेक चीजको विषादीले मानिसको आयु छोटो हुनुका साथै मान्छे पनि रोगी भएका छन् । सकिन्छ भने करेसाबारीमा तरकारी फलाएर खाऊँ । दिनभरि काम नगरी बसेर रोगी नबनौँ, शारीरिक परिश्रम गरेर निरोगी बनौँ । आफ्नै घरगाउँमा कृषि, पशुपालन, उद्योग गरौँ । देशको बेरोजगारी हटाऊँ, अनुशासित समाज बनाऊँ ।
देशमा प्रजातन्त्र स्थापना भएदेखि अहिलेसम्म राजनीतिक, सामाजिक कार्यकर्ताले विद्यालय, मन्दिर, चौतारो, विद्युत्, टेलिफोन, बाटोजस्ता पूर्वाधार निर्माणमा लागेको देखिन्छ । हाम्रो शक्तिलाई देशभित्रै आय आर्जन, उत्पादन वृद्धि र रोजगारी दिलाउनेतर्फ राजनीतिक, सामाजिक अगुवाहरु लाग्नु आवश्यक छ । अबका पुस्तालाई ढुंगा हान्न, गाडी जलाउन, भौतिक संरचना नष्ट गर्न, बाटोघाटो अवरूद्ध पार्न, स्कुल–क्याम्पस बन्द गर्न हैन र कसैको समर्थनमा अनि कसैको विरोधमा नारा–जुलुस गर्न पनि हैन, हाम्रो देशको कृषि व्यवसायलाई आधुनिकीकरण गर्ने कृषि क्रान्तिमा लगाउनुपर्दछ ।
हाम्रो स्थानीय ग्रामीण इलाकामा भएका बालीनालीलाई कसरी धेरैभन्दा धेरै उत्पादन गर्न सकिन्छ, त्यतातर्फ सबैको ध्यान जान सकेमा हाम्रा व्यापार व्यवसाय त्यहीँबाट वृद्धि हुँदै जान्छ । खाद्य बाली धान, मकै, गहुँ, कोदो उत्पादन गरेर मुलुकभरिका मानिसलाई पु¥याउन सक्दा खाद्यान्न बाहिरबाट ल्याउनुपर्दैन, हाम्रो पैसा यहीँ रहन्छ । हामीकहाँ हुने चिया, कफी, मह, उखु, सुर्ती, अचैँची, फलफूल धेरै उत्पादन गरेर अन्य देशमा पठाउन सक्दा त्यहीँबाट प्रशस्त आम्दानी गरेर देशमै रमाउन सकिन्छ ।
अहिले गाउँघरबाट सहर पस्नेहरुको संख्या बढिरहेको छ । गाउँका जग्गामा वनजंगल बढिरहेको देखिन्छ । पैसा लगानी गर्न सक्ने युवाहरु मिल्दै गाउँका जमिनलाई लिजमा लिएर त्यहाँ के गर्दा उत्पादन धेरै लिन सकिन्छ, त्यही व्यवसाय गरी, लगानी गर्न नसक्नेलाई त्यही काम लगाई, रोजगार बनाउने व्यवस्था गर्न सके अहिलेको जस्तो बेरोजगारीले सताएर दिनमै हजारौँ युवायुवतीहरु पैसा लगानी गर्दै अन्य देशमा जानुपर्ने थिएन । विदेश जाने युवायुवती पनि पारिवारिक रुपमा विखण्डित भएर सुख, आनन्दको प्राप्तिभन्दा दुःख, पीडा आत्मसात् गरिरहेको देखिन्छ । हिजोकै पारिवारिक मेलमिलाप, एकापसमा सहयोगको भावना ल्याउने काम पनि कृषि क्रान्तिबाटै गर्न सकिन्छ । आफ्नै देशमा रोजगार हुने कामको थालनी गर्न ढिला नगरौँ । हाम्रा जमिनहरु बाँझो नराखौँ । भूक्षय हुने काम नगरौँ । खाद्यान्न, मासु, दूधमा आत्मनिर्भर बनौँ । आफ्नै देशमा केही गरौँ ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया