गैंडाले हान्दा एक घाइते [divider]
भरतपुर । चितवनमा आइतबार जंगली हात्ती र गैंडाले छुट्टाछुट्टै ठाउँमा मान्छेमाथि आक्रमण गरेका छन् । जंगली हात्तीको आक्रमणमा परेका व्यक्तिको उपचारको क्रममा निधन भएको छ । गैंडाले हानेको व्यक्तिको उपचार जारी छ । उनी खतरा मुक्त रहेका छन् ।
चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार गीतानगर गाविस वडा नंं १ बस्ने वर्ष ३० का रामबहादुर खवासको हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो । स्थानीय सामुदायिक बनमा घाँस काट्न गएका उनलाई जंगली हात्तीले दिउँसो दुई बजे आक्रमण गरेको थियो ।
आक्रमणपछि घाइते भएका रामबहादुरलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको निधन भएको बरण्डाभार मध्यवर्ती उपभोक्ता समितिका कार्यबाहक अध्यक्ष बामदेव अधिकारीले जानकारी दिए । चितवन निकुञ्जको जंगलसँग जोडिएको सो क्षेत्रमा यसअघि पनि हात्तीले बेला बेलामा मान्छेमाथि आक्रमण गरेर ज्यान लिने गरेको थियो ।
मध्यवर्तीका कार्यबहाक अध्यक्ष अधिकारीका अनुसार ठीक एक वर्षअघि पनि सोही क्षेत्रमा हात्तीले हानेर एकजनाको निधन भएको थियो । गत वर्ष माडी क्षेत्रमा ‘ध्रुबे’ भनिने जंगली हात्तीले यसै समयमा आतंक मच्चाएको थियो । माडी क्षेत्रमा मात्रै सो हात्तीले मध्य कात्तिकदेखि मंसिरको अन्तिमसम्ममा पाँचजनालाई मारेको थियो ।
माडीमा ‘ध्रुबे’ आतंक कायम रहँदा गीतानगरमा मान्छेको ज्यान लिने जंगली हात्ती अर्कै रहेको थियो । सो क्षेत्रमा रोनाल्डो नाम गरेर अर्को जंगली हात्ती घुम्ने गर्छ । घटनाको बारेमा खबर आएपछि निकुञ्जको टोलीले विवरणहरु संकलन गरी रहेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत टीकारमा पौडेलले बताए ।
यो वर्ष रौतहट क्षेत्रमा हात्ती आतंक बढेको छ । चितवन निकुञ्जले गत वर्ष ‘ध्रुबे’लाई नियन्त्रणमा लिन निकै जोड गरेको थियो । दर्जनौं गोली प्रहार भए पनि ‘ध्रुवे’ म¥यो या जिउँदै के छ पत्ता लागेको छैन । ‘ध्रुवे’को विस्थापनपछि पनि माडीमा अन्य जंगली हात्ती गाउँ छिरेर बालि नाल खाने गरेका छन् । तर माडी क्षेत्रमा गत वर्षको जस्तो ज्यानै लिने घटना यो वर्ष भएको छैन ।
हात्ती आक्रमणका बारेमा जिल्ला प्रशासन कार्यालय पनि चनाखो भएको छ । शनिबार मात्रै चितवन निकुञ्जको मुख्यालय कसराबम वन मन्त्रालयका सचिव, वन विभाग र निकुञ्ज विभागका महानिर्देशकहरु सम्मिलत कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले हात्तीबाट जोगाउने उपायहरु अवलम्कन गर्न अपिल गरेका थिए । चितवन माडीको बगई, प्याउली, इमलिया, बनकट्टा र पाण्डव नगर जस्ता गाउँहरु हात्तीको आक्रमणको उच्च जोखिममा छन् ।
त्यस्तै पश्चिम चितवनको मेघौली, गीतनागर र पूर्वीचितवनको पिप्लेमा हात्तीले बेला बेलामा दुख्ख दिने गर्छ । त्यस्तै आइतबार नै पूर्वी चितवनमा गैंडाले आक्रमण गर्दा एकजना घाइते भएका छन् ।
प्रहरीले दिएको जानरकारी अनुसार रत्ननगरका ५५ वर्षीय नरबहादुर श्रेष्ठलाई गैंडाले हानेर घाइते बनाएको हो । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । जंगली जनावरले निकुञ्जको सिमानाभन्दा बाहिर आएर आक्रमण गर्दा मान्छेको ज्यान गएमा मृतकका परिवारले तीन लाख रूपैयाँ राहत पाउँछन् । घाइतेले अधिकतम ५० हजार रूपैयाँ उपचार खर्च पाउँछ ।
Discussion about this post