काठमाडाँै । नेपालको तेस्रो महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित चितवनमा पुस ११ गतेदेखि दसाँै अन्तर्राष्ट्रिय हात्ती महोत्सव आयोजना गरिने भएको छ ।
अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई खेल पर्यटनको प्रमुख गन्तव्यस्थलका रूपमा पहिचान गराई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन र वन्यजन्तु संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले चितवन क्षेत्रीय होटल संघद्वारा आयोजना गर्न लागिएको पाँच दिने सो महोत्सवमा हात्ती दौड प्रतियोगिता, हात्तीका छावाको फुटबल, हात्तीको शृङ्गार, टाँगा दौड, गाडा दौड, डुङ्गा दौड प्रतियोगिता आयोजना गरिने छ ।
साथै थारुलगायतका सांस्कृतिक कार्यक्रम, खाद्यान्न प्रदर्शनी र विविध मनोरञ्जनात्मक कार्यक्रम पनि गरिने आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
ती प्रतियोगितामा सात वटा विदेशी संस्थाका साथै लाइन्स क्लब, व्यापारिक संस्थालगायत वाणिज्य बंैकगरी करिब बीस वटा टोलीले प्रतिस्पर्धा गर्ने र विजयी टोलीलाई नगद तथा कदरपत्र दिइने महोत्सवका संयोजक केशव पाण्डेले बताउनुभयो ।
हात्तीको राजधानी भनेर चिनिएको चितवनमा महोत्सवका बेला यहाँ रहेका करिब १०० हात्तीलाई प्रदर्शनीमा ल्याइने होटल संघका सदस्य घनश्याम श्रेष्ठले बताउनुभयो ।
एसियाको सर्वोत्कृष्ट राष्ट्रिय निकुञ्जमध्येको एक चितवन राष्ट्रिय निकुञ्जमा बर्सेनि ठूलो सङ्ख्यामा विदेशी पर्यटकहरू वन्यजन्तु, चराचुरुङ्गी र जैविक विविधताको अध्ययन र अवलोकन गर्न आउने गरेका छन् ।
यहाँका करिब १०० होटल र घरबास (होमस्टे)ले राम्रो व्यापार गरिरहेको छ । चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचिकृत छ भने यहाँका सौराहा, माडी, थारु सङ्ग्रहालय, बाघमारा क्षेत्र पर्यटकीय गन्तव्यस्थल हुन् । रासस
Discussion about this post