भरतपुर । गीत–संगीतको प्रयोग गर्दा प्रतिलिपि अधिकार ऐनबमोजिमको रोयल्टी रकम पाउनुपर्ने भन्दै गायक तथा संगीतकारहरु एकजुट हुन थालेका छन् । संगीत रोयल्टी संकलन समाज नेपाल डेढ वर्षदेखि रोयल्टीको माग गर्दै देश दौडाहामा लागेको छ ।
समाजका अध्यक्ष संगीतकार सुरेश अधिकारीले १२० वर्ष पहिले स्रष्टाहरुलाई प्राप्त अधिकार स्थापित हुन नसक्नु दुःखद भएको भन्दै सञ्चारमाध्यममार्फत रोयल्टी दिनुपर्ने माग गर्नुभयो । आफूहरु अधिकारका लागि लडेको भन्दै उहाँले सार्वजनिक वा व्यापारिक स्थलमा गीत–संगीतको प्रयोग गर्दा प्रयोगकर्ताले सिर्जना प्रसारणको अनुमति लिन पनि रोयल्टी तिर्नुपर्ने बताउनुभयो ।
गीत–संगीतका स्रष्टाहरु मिलेर गठन भएको संगीत रोयल्टी संकलन समाज नेपालले रोयल्टीको दर निर्धारण गर्ने, संकलन गर्ने, वितरण गर्ने कार्य गर्दै आइरहेको छ । गायककार स्वरूपराज आर्चयले संगीत प्रयोगकर्ताहरुको व्यवसायको प्रकृति र प्रयोग गरिएको संगीत अनुसारको निर्धारित रोयल्टी तिरेर नैतिकता निर्वाह गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रेमविनोद नन्दन, सत्यराज आर्चाय, महेश खड्का, बसन्त सापकोटालगायतले बोलेका थिए । सहभागीले सञ्चार मन्त्रालयमै पुगेर सञ्चारमाध्यम नवीकरण गर्दा अनिवार्य रूपमा रोयल्टी तिरेको प्रमाण माग गर्ने हो भने समस्या नआउने तर्क राखेका थिए । व्यपारिक तथा सार्वजनिक स्थलमा सिर्जनको प्रयोग गर्दा अधिकार धनीको अनुमति विना प्रयोग गरिए प्रतिलिपि अधिकार ऐन ०५९ अनुसार कारबाही हुन सक्ने व्यवस्था छ ।
Discussion about this post