‘नदीमा प्रदुषण बढ्नाले र आहारा कम हुनाले मरे गोही’ [divider]
कसरा । घडियाल गोहीका लागि नदीभन्दा राम्रो वासस्थान अरू होइन, तर प्रजनन् केन्द्रमा हुर्काएर नदीमा छोडेका घडियालले बगाल बढाउनुको साटो आफैँ नासिएर जान थालेका छन् । नदी र खोला उनीहरुको लागि बधशालामा परिणत भएको छ ।
चितवन निकुञ्जले शनिबार १० वटा घडियाल गोही निकुञ्ज मुख्यालय कसरानजिक राप्ती नदीमा छोडेको छ । प्रजनन् केन्द्रमा हुर्केका गोहीहरुलाई प्राकृतिक वासस्थानमा छोडिएको हो । प्रजनन केन्द्रमा हुर्केर देशका विभिन्न नदीहरुमा यसअघि पनि पटक–पटक घडियाल छोडिएको छ, तर छोडेकामध्ये निकै कम मात्रै बाँँच्न सफल भएका छन् ।
निकुञ्जले सन् १९८१ देखि विभिन्न नदीमा गोही छोड्न लागेको हो । शनिबार छोडेका १० वटा गरेर हालसम्म ९२१ वटा गोही प्रजनन् केन्द्रबाट नदीहरुमा छोडिएको केन्द्रका प्रमुख तथा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले बताए, तर अघिल्लो वर्ष भएको अनुगमनमा नदीहरुमा जम्मा १२४ वटामात्रै घडियाल गोही भेटिएको उनको भनाइ थियो ।
चितवन निकुञ्जमा सन् १९७५ मा घडियाल गोही प्रजनन् केन्द्र स्थापना भएको हो । प्राकृतिक बासस्थानमा हुर्कन बढ्न नसकेर लोप हुने अवस्थामा पुगेपछि गोहीको अण्डा संकलन गरेर बच्चा हुर्काइ प्राकृतिक बासस्थानमा छोड्ने उद्देश्यले केन्द्र खुलेको खड्काले बताए । केन्द्र खुलेको छ वर्षपछि हुर्केका गोही नदीमा छोड्न थालिएको हो ।
नदीमा प्रदुषण बढ्नु र घडियालले खाने माछा कम हुनाका कारणले गोही बढ्न र हुर्कन नसकेको खड्का बताउँछन् । नेपालका नदीहरुमा माछा बढ्ने र प्रदुषण घट्ने अवस्था छैन, तर प्रजनन् केन्द्रमा गोही भने हुर्किरहेका छन् । त्यसैले नदीमा छोड्नैपर्ने बाध्यता छ । नदीको स्तर घडियालको प्राकृतिक वासस्थान भन्न सुहाउने खालेको नभएको संरक्षणकर्मीको भनाइ छ ।
‘घडियालको लागि उपयुक्त बासस्थल भनेको सफा र शान्त नदी हो । यहाँका नदी न सफा छन् न शान्त नै । त्यसैले छोडिएका गोही राम्रोसँग हुर्केर अण्डा पार्न र बच्चा कोरल्न सकेको छैन’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मेघबहादुर पाण्डेले भने । नदी वरपर मान्छको चापले घडियाल संरक्षणमा चुनौती थपेको उनले बताए ।
घडियाल ताजा र सफा पानीमा बस्छ अनि माछा खान्छ । छोडिएका गोही नबाँच्नु भनेको नेपालका नदी प्रदुषणको चपेटामा परेको छर्लङ्ग हुनु हो भन्छन् चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर । प्रदुषणका कारण नदीमा माछा कम भएको छ । आहार र प्रदुषणको अवस्था सुधार गर्न सरकारले चासो दिनुपर्ने संरक्षणकर्मी रामपृत यादव बताउँछन् ।
‘घडियाल संकटमा परेको जलचर हो । यसको संरक्षणमा सरकारले चासो दिएको छ । प्रजनन् केन्द्रको स्थापना घडियाल जोगाउनु हो । प्रदुषण नियन्त्रण र आहारका लागि विशेष योजना आवश्यक छ’ वन मन्त्रालयका सचिव गणेशराज जोशीले भने । प्राकृतिक वासस्थानमा घडियालका अण्डाबाट निस्कने ९९ प्रतिशत बच्चा मरेर नष्ट हुन्छन् । त्यसैले हुर्काउन केन्द्र स्थापना भएको हो ।
नदी किनारका घडियालका गुँडबाट अण्डा खोजेर प्रजनन् केन्द्रमा ल्याइन्छ । घडियाल लोप हुन थालेको जलचर हो । र्गैंडाभन्दा २० गुणा बढी संकट घडियालले सामना गरिरहेको खड्का बताउँछन् । नेपाल र भारतमा मात्रै घडियाल पाइन्छ ।
प्राकृतिक बासस्थानमा रहेका घडियालको संख्या तीन सयको हाराहारीमा मात्रै छ भन्छन् खड्का । नेपालमा कर्णाली, बबई, नारायणी र राप्ती नदीमा मात्रै घडियाल भेटिएका छन् । प्रजनन् केन्द्रबाट कोशीमा समेत गोही छोडिएको थियो, तर बच्न सकेनन् । घडियाल पाँच वर्षभन्दा माथि र दुई मिटरभन्दा बढी लामो भएपछि केन्द्रबाट ल्याएर नदीमा छोडिन्छ ।
Discussion about this post