माडी । अयोध्यापुरी गाविस–४ शिवद्वार गाउँकी २८ वर्षीया सचिना खाँणको जीवनमा गत वर्षदेखि नाटकीय परिवर्तन आएको छ । र, निर्धन परिवारकी बुहारी उहाँको आर्थिक अवस्थामा पनि अकल्पनीय सुधार भएको छ ।
सम्पत्तिको नाममा दुई कट्ठा जमिन भएकी उहाँले बन्दा र बरेलाखेती गरेर परिवारका नौ सदस्यको भरणपोषण मात्र गर्नुभएको छैन पूरै गाउँमा अब्बल किसानको परिचयसमेत बनाएर गाउँलेलाई उद्यमी बनी आत्मनिर्भर हुन हौस्याइरहनु भएको छ ।
कुनै बाली नलाग्ने बलौटे खेतमा पोहोरदेखि सिँचाइ सुविधा उपलब्ध भएपछि पौरखी सचिनाले खनिखोस्री गरी सुन फलाउन थाल्नुभएको हो । एसियाली विकास बैंक (एडिबी)को अनुदान सहयोगमा सरकारले सञ्चालन गरेको रियु–टमटा–घागर सिँचाइ आयोजनाबाट अयोध्यापुरीका २६५ बिघा जग्गामा वर्षैभरि पानीको जोहो भएपछि उहाँजस्ता मिहिनेती किसानको आर्थिक–सामाजिक रूपान्तरण सम्भव भएको हो ।
धान, गहुँ र मकैजस्ता परम्परागत बालीमात्र होइन मौसमी र बेमौसमी तरकारी खेतीसमेत गर्न थाल्नुभएकी सचिनाले अघिल्लो वर्ष रु ४० हजारको तरकारी बेचेको राससलाई बताउनुभयो । एउटा काउली साढे दुई केजीसम्मको फलाएको बताउँदै उहाँले प्रशस्त पानीको सुविधा भएकाले श्रम गर्ने जाँगर भए कमाउन विदेसिनु नपर्ने अनुभव सुनाउनुभयो ।
सिँचाइ आयोजना र जिल्ला कृषि कार्यालयले सञ्चालन गरेको अल्पकालीन तालिममा सिकेका सीप व्यवहारमा अनुवाद गर्नुभएकी उहाँले यो वर्ष छिमेकीसँग जग्गा भाडामा लिएर तरकारी खेती विस्तार गर्ने योजना बुनिरहनुभएको छ ।
“मनग्गे आम्दानी हुन्छ, बजारको समस्या छैन,” आफ्ना दुई सन्तानलाई बोर्डिङमा पढाउन सफल उहाँले उन्नत जातको मलखाद र बीउबिजन भए आम्दानी दोब्बर बढ्ने उल्लेख गर्दै भन्नुभयो । ठोरी–माडी–भरतपुर हुलाकी सडक सञ्चालनमा आएपछि स्थानीय उत्पादन बजारसम्म पु¥याउन किसानलाई सजिलो भएको छ ।
कृषि उत्पादकत्व वृद्धिका साथै किसानद्वारा व्यवस्थित सिँचाइ प्रणालीको दिगोपना सुनिश्चित गर्ने उद्देश्यले सातवर्ष अघि सुरु भएको उक्त आयोजना आगामी वर्ष पूरा हुँदैछ । जातीय अल्पसङ्ख्यक तथा दलितहरूको जीवनस्तरमा सुधार ल्याउन तथा निरपेक्ष गरिबीको रेखामुनि रहेका वर्गको आर्थिक उत्थानमा केन्द्रित आयोजनाबाट अयोध्यापुरीका २६५ बिघा जग्गामा सिँचाइ सुविधा उपलब्ध भएको छ । आयोजनाबाट २१३ परिवार लाभान्वित भएका छन् ।
“मुस्किलले २० मुरी धान फल्ने खेतमा पानीको असुविधा हटेपछि ४० मुरीले उत्पादन बढेको छ,” रियु–टमटा–घागर सिँचाइ आयोजनाले बढाएको उत्पादकत्व र त्यसबाट भएको खाद्यान्न बचतबारे जानकारी दिँदै सिँचाइ उपआयोजनाका प्रमुख पूर्णभद्र पनेरुले भन्नुभयो, “एक हजार ३३२ मेट्रिक टनमा सीमित यहाँको उत्पादकत्व हाल एक हजार ७१७ मेट्रिक टनको हाराहारीमा पुगेको उहाँको कथन छ ।”
एकसय १८ जना किसानको खेत हुँदै प्रवाहित हुने दुई किलोमिटर लामो कुलोमा रु तीन करोड १० लाख ८३ हजार खर्च भइसकेको छ भने स्थानीय किसानले पनि मुहान निर्माणका लागि जग्गा दान गर्नुका साथै पानीको व्यवस्थापन, कुलोको सरसफाइ र सञ्चालनका निम्ति झन्डै रु ८० लाख योगदान गरेका मध्यमाञ्चल सिँचाइ विकास डिभिजन नं ५ का सङ्गठन सघाउकर्ता रामेश्वर लोहनीले बताउनुभयो ।
उहाँका अनुसार जग्गाधनीले प्रतिबिघा रु तीन हजारले योगदान गरेका छन् । उनीहरूले सङ्कलन गरेको रकम मूलतः कुलोको व्यवस्थापन, मर्मतसम्भार एवम् सरसफाइ, सुरक्षाकर्मीमा खर्च हुन्छ । किसानले दुई जना सुरक्षाकर्मीलाई रोजगारी दिएर कुलोको व्यवस्थापन गर्दै आएका छन् । उनीहरूले स्वतःस्फूर्तरूपमा सिँचाइका निम्ति जग्गा पनि उपलब्ध गराएका छन् ।
“वर्षायाममा खोलामा हेलिएर खेतमा पानी पटाउनुपर्ने दुःखका दिन गए,” सिँचाइ आयोजना सुरु भएपछि खेतबारीमा पानी लगाउन सहज भएकामा हर्षित अयोध्यापुरी–५ का ७० वर्षीय टेकबहादुर भण्डारीले भन्नुभयो । यद्यपि उहाँ चारैतिर सिँचाइ सुविधा उपलब्ध नभएकामा भने केही खिन्न हुनुहुन्छ । सिँचाइ कुलोले नछोएका माथिल्लो भेगमा रहेको आफ्नो र अन्य किसानका खेत प्रकृतिमा निर्भर हुनुपरेको गुनासो पनि उहाँले व्यक्त गर्नुभयो ।
स्थानीय जनजीवन उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक शोभाकर गौतम सिँचाइ सुविधासँगै किसानमा जागृत भएको उद्यमशीलताले उनीहरूको आर्थिक जीवनमा पनि उल्लेख्य परिवर्तन ल्याएको बताउनुहुन्छ ।
“पहिलेपहिले विद्यालयको शुल्क समयमा नबुझाएर परीक्षामा आफ्ना भुरालाई सामेल गराउन हम्मेहम्मे पर्ने किसान अहिले हरेक महिना शुल्क तिर्छन्,” विगतको तुलनामा विद्यार्थी भर्नामा पनि उल्लेख्य वृद्धि भएको उहाँको भनाइ छ । यो रूपान्तरणको कृषि उत्पादकत्वमा भएको वृद्धि र त्यसले बढाएको आम्दानी हो ।
एडिबीको रु तीन अर्ब ८६ करोड ऋण सहयोगमा समुदायद्वारा व्यवस्थित कृषि सिँचाइ क्षेत्र आयोजना पूर्वाञ्चल विकास क्षेत्रका १६ र मध्यमाञ्चल विकास क्षेत्रका १९ जिल्लामा लागू भएको उक्त आयोजना आगामी वर्ष पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना निर्देशक सरिता दवाडीले बताउनुभयो । सात वर्षअघि यो आयोजना सुरु भएको हो ।
आयोजना पूरा भएपछि १५ हजार छ सय ७७ हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनका साथै किसानद्वारा व्यवस्थित २१० वटा सिँचाइ प्रणाली विकास हुने छन् । त्यसैगरी, कृषि उत्पादकत्व ३४.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ भने दुई लाख ७० हजार गरिब किसान लाभान्वित हुनेछन् ।
Discussion about this post