भरतपुर । मंगलपुरका एक युवकको २७ महिनाअघि भएको हत्या अभियोगका फरार अभियुक्तलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । गत २०६८ साल असोज १ गते मंगलपुर–८ का १७ वर्षीय विराज विकको हत्या अभियोगमा मंगलपुर–२ का २४ वर्षीय विश्वप्रकाश बास्तोलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
विराजलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा उनीसहित ११ जना विरूद्ध जिल्ला अदालतमा प्रहरीले मुद्दा दायर गरेको थियो । उनी हालसम्म फरार रहेका थिए । अन्य १० आरोपीलाई भने जिल्ला अदालत चितवनले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
फरार अवस्थामा रहेका बास्तोलाविरूद्ध ज्यानमार्ने उद्योगअन्तर्गत पनि मुद्दा चलाइएको छ । उनले फरार अवस्थामै भरतपुर १३ कल्याणपुरका अशोककुमार श्रेष्ठलाई गत २०६९ असोज ८ गते छुरा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीको भनाइ छ ।
Discussion about this post