जनकपुरधाम । जनकपुर–जयनगर रेल्वे सेवालाई विस्तार गर्ने योजनालाई एक महिनाभित्रै सुरु गरिने नेपाल रेल्वेले जनाएको छ । रेल्वे विस्तारका लागि भारतीय ठेकेदारमार्फत सम्पूर्ण प्रक्रिया सुरू भइसकेका कारण रेल्वे विस्तार कार्य चाँडै सुरु गरिने जानकारी रेल्वेले दिएको छ ।
विस्तारका लागि आवश्यक पर्ने सामानहरू नेपाल भित्र्याउन अर्थ मन्त्रालयले स्वीकृति दिइसकेकाले तीनचार दिनभित्रै सामानहरू आउने रेल्वे विभाग साइट कार्यालयका प्रमुख टोपराज बोहराले जानकारी दिनुभयो । रेल्वे विस्तारका क्रममा रेल्वे सञ्चालन बन्द गरिने छ ।
नेपालको एक मात्र रेल्वे अत्यन्त जीर्ण अवस्थामा रहेको र पटकपटक बन्द हुने गरेका कारण यस भेगका जनताले सास्ती खेप्दै आइरहेका छन् । रेल्वेलाई भारत सरकारको सहयोगमा विस्तार गरी ब्रोडगेजमा लैजान लागिएको हो । साथै, यो सेवालाई जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म लैजाने तयारी भइरहेको बोहराले जानकारी दिनुभयो ।
ब्रोडगेज निर्माणका क्रममा जनकपुर रेल्वेले ९१ बिघा १३ कट्ठा जग्गाबापत सर्वसाधारणलाई दुई करोड रुपैयाँ क्षतिपूर्ति वितरण गरिसकेको डिभिजन इन्जिनियर बोहराले बताउनुभयो ।
यो रेल विस १९९४ मङ्सिर १६ गतेदेखि बिजलपुराबाट इनर्वा र त्यसपछि जयनगरसम्म चलाउन थालिएको हो । सुरूमा जङ्गलबाट काठ निकासीको ठेक्का गर्ने उद्देश्यले सञ्चालन गरिएको यो रेललाई ठेक्का सकिएपछि यात्रु ओसार्नका लागि प्रयोग गर्न थालिएको हो । रासस
Discussion about this post