शुक्रनगर । चितवनको शुक्रनगरका महिलाहरुले सामूहिक रुपमा खेती गरेर उदाहरणीय कार्यको थालनी गरेका छन् ।
मातृभूमि महिला कृषि सहकारी संस्था शुक्रनगर ३ मा आवद्ध
५० जना महिलाहरुले सामुहिकरूपमा आलुखेती गरेर संस्थाको विकासमा जुटेका छन् । ०६८ सालमा गठन भएको संस्थाले करिब डेढ विगाहा क्षेत्रमा आलुखेती सुरू गरेको छ । सामुहिक रुपमा गरिएको खेती रेखदेख गर्न ४ वटा उपसमिति समेत बनाइएका पनि छन् । घरको काम छोडेर सामुहिक कार्यमा जुटेका महिलाहरुले सिचार्इंको अभाव रहेको बलौटे माटोमै आलुखेती प्रारम्भ गरेका छन् । प्रभात चोक, प्रभात उच्च मावि अगाडि रहेका इनार नजिकका जग्गामा महिलाहरुले कृषि सेवा केन्द्र गुञ्जनगरमार्फत उपलब्ध भएको टीपीएस र कार्डिनल जातका आलु बीउ रोपेर यति बेला गोडमेल गर्नमै व्यस्त देखिन्छन् ।
महिलाहरुलाई आयआर्जनको बाटोको दिशामा अघि बढाउने अभियानअन्तर्गत सामुहिक खेती सुरू गरिएको संस्थाकी अध्यक्ष मुना सुवेदीको भनाइ छ । बचतभन्दा पनि सामुहिक कार्यमा लाग्ने सोच लिएर गठन भएको यो सहकारीले कृषि उत्पादनलाई विषादीरहित बनाउन आइपिएमसँग समन्वय गरेर १६ हप्ते कार्यक्रमसमेत सुरू गरिसकको छ ।
सामुहिक रुपमा टमाटर, गहुँ र अन्य तरकारीखेती गर्ने सोचमा समेत महिलाहरु रहेका छन् । वडादेखि लिएर सबै क्षेत्रमा सामुहिक खेतीको अवधारणा विकास गर्ने योजानामा रहेको संस्थाकी सचिव अञ्जना भण्डारी बताउँछिन् ।
Discussion about this post