ज्यान जोगियो, धन जोगिएन [divider]
दिपेन्द्र अधिकारी
जुटपानी । विहान दस बजेतिर घटनास्थल पुग्दा गोपीनाथ भट्टराई, उनको श्रीमती र छोरा आगोेले सखाप पारेको घरका केही फलामे सामग्रीहरु झिक्दै थिए ।
घटना गत मंसिर १३ गते राति १ बजेतिरको हो । बेलुकीको खाना खाइ मस्त निद्रामा रहँदा गुहार–गुहार भनी चिच्याएको स्वरले गाउँलेको निद्रा पनि तोडियो. । गाउँमा मध्यरातमा के अनौठो भएछ भनी हेर्दा छिमेकीले घरछेउमै रहेको दुईघर दन्दनी बलिरहेको देखे ।
गाउँलेले तत्कालै प्रयास गरे पनि ठूलो मुस्लो भइसकेको आगो नियन्त्रण गर्न गाह्रो भयो । गाउँमा रुवावासी नै चल्यो । ‘हुनेहार दैव नटार’ भनेझैं त्यो मध्यरातको विपत्ति स्थानीय दुई घरपरिवारको धनसम्पत्ति क्षणभरमै ध्वस्त पारिदियो । नाताले मामा पर्ने छिमेकी धु्रव पोखरेलको घरबाट निस्किएको आगोले पोखरेल र भट्टराईको घर ध्वस्त बनायो ।
घरमा भएको कुनै पनि धनमाल, लत्ताकपडा, खाद्यान्न जोगाउन नभ्याएका यी दुई परिवारले जसोतसो ज्यान भने जोगाउन भ्याएका थिए । ध्रुव पोखरेलको घरको काठको खाँबोमा विद्युत सर्ट भइ लागेको आगोले उनीहरुको बास र गाँस लुटेको छ । भट्टराई परिवारको २० लाख बढी र पोखरेल परिवारको ३० लाख बढीको धनसम्पत्ति नष्ट भएको सम्बन्धित परिवारले बताए ।
रातको समयमा भएको आगलागीबाट घर पूरै ध्वस्त भएपछि जुटपानी ३ का दुई घरपरिवार अहिले निकै अप्ठ्यारोमा जीवन गुजारिरहेका छन् । ‘ज्यानमात्र जोगायौँ, धन जोगाउन सकिएन, आगलागीपीडित गोपीनाथ भट्टराईले भने, ‘हामी सहयोगको प्रतीक्षामा छौँ ।’ उनले राज्यले आफूहरुलाई खासै सहयोग नगरेको गुनासो पनि गरे । ‘जिल्ला प्रशासन कार्यालयबाट तत्काल ५ हजार पायौँ, गाविस, जिविस धाइरहेका छौँ । तर, राहत पाउन सकिएको छैन,’ उनले भने ।
जुटपानी ३ का स्थानीय धु्रव पोखरेल र गोपीनाथ भट्टराईको घरमा भएको आगलागीका कारण दुवै परिवारको उठिवास लागेको छ । यी दुई परिवार अहिले नजिकैको महिला समूहको कार्यालय र आत्मज्ञान नामक संस्थाको कार्यालयमा बस्दै आएका छन् ।
वर्तमान अवस्थामा उनीहरुलाई गाउँलले केही खाद्यान्न जुटाइदिएका छन् । त्यस्तै नजिकै रहेको नेपाली सेनाको सिंहनाथ गण, नेपाल रेडक्रस सोसाइटी र जुटपानीस्थित एक स्कुलको स्काउट समूहबाट केही राहत मिलेको छ ।
भर्खरै थन्काएको ३६ मुरी धान, ११ क्वीन्टल मकै, हालसालै विदेशबाट आएको छोरा शिवले ल्याएको पैसा र घरमा रहेको गरगहना सबै आगोमा स्वाहा भयो । ६८ वर्षीय गोपीनाथले भने, ‘अहिलेसम्म यस्तो विपत्ति देख्न, भोग्न परेको थिएन, साथमा केही नहुँदा अहिले निकै दुःखपीडाका साथ दिनहरु गुजारिरहेका छौँ ।’
भट्टराई परिवारको गोठ र टौवा पनि जलेर नष्ट भएको थियो । त्यस्तै पोखरेल परिवारको पनि १५ क्वीन्टल धान, ९ क्वीन्टल मकै केही तोरी आगलागीका कारण नष्ट भयो । सिरानीमै रहेको मोवाइल पनि झिक्न भ्याइएन आगलागीपीडित शोभा पोखरेलले भनिन् अरु धनसम्पत्ति जोगाउन त झनै के सकिन्थ्यो र ?
आगलागीले छिमेकी शरण श्रेष्ठको घरमा पनि केही क्षति पुगेको छ । निरन्तरको प्रयासपछि आर्मी, सशस्त्र, प्रहरी र स्थानीयबासी मिलेर विहानपख आगो नियन्त्रणमा लिन सफल भएका थिए । पोखरेल परिवारका ६ जना र भट्टराई परिवारका ६ जना अहिले राहतको पर्खाइमा छन् । उनीहरु भन्दैछन्, ‘घाऊ निको नभए पनि मल्हम लगाउने काम सरकार वा अन्य जुनसुकै पक्षबाट भए पनि हामीलाई अमूल्य हुने थियो ।’
Discussion about this post