विगतका कमीकमजोरीबाट पाठ सिकौँ

अन‌ि यो पनि

-रमा घिमिरे
निर्वाचन हुन्छ कि हुँदैन भन्ने दोधारमा नै जनता थिए । ड्यास माओवादीले ठाउँठाउँमा बम राख्ने, यातायात बन्द गर्नेजस्ता कार्य गरेको थियो । सरकार र निर्वाचन आयोगले हुन सक्ने अवरोधलाई आँकलन गरेर सतर्कता अपनाएकै कारण आमजनता स्वतःस्फूर्त चुनावमा भाग लिए, त्यसैले चुनाव बिथोल्न खोज्नेहरु स्वतः निस्तेज भए ।
कसैले यो असंवैधानिक सरकार हो भनी तर्क गरे, कसैले चुनाव गराउन सक्दैन भने, कसैले कर्मचारीको सरकार भनी टीकाटिप्पणी गरे । राजनीतिक व्यक्तिहरुभन्दा कर्मचारी परिपक्व हुन्छन् भन्ने हालै भएको चुनावले देखाएको छ । राजनीतिक दलहरुमा आफ्नो दलको मात्र चिन्ता हुन्छ, दलीय स्वार्थका लागि जे–जस्ता कार्य पनि गर्ने गर्दछन्, तर कर्मचारीहरुलाई राष्ट्रकै चिन्ता हुन्छ । दलहरुले निर्वाचन गराउँदा एउटा दलले अर्को दललाई विश्वास गर्दैनथे । अहिलेको जस्तो स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण तरिकाले निर्वाचन हुँदैनथ्यो । चुनावी सरकार दलबाहेकको हुनुपर्छ भन्ने पनि यो निर्वाचनले सन्देश दिएको छ ।
वैद्यको चुनाव बहिष्कार गर्ने रणनीतिस्वरुप यात्रुवाहक बसमा आगो लगाइयो । नेपाल बन्द भनी ठाउँठाउँमा बम राखियो, माइक्रो बसमा बम राखियो अनि वातावरणलाई आतंकित पार्ने काम गरियो । जनताले ती सबै कार्यलाई चुनौती दिँदै निर्वाचनमा भाग लिन उल्लेखनीय उत्साह देखाए । सरकारले शान्ति सुरक्षा प्रचुर मात्रामा दिएको थियो । रोल्पाको एउटा मतदान केन्द्रबाहेक सबै ठाउँमा मत खसे ।
अब जनता सचेत भइसकेका छन् । बन्द, विरोध, अशान्ति र अस्थिरतालाई साथ नदिने भएका छन् । अहिलेको अस्थिर राजनीतिलाई स्थिरमा ल्याउन चाहन्छन् । देशमा शान्ति भए विकास गर्न पाइन्छ र रोजगार होइन्छ भनी आशा गरेका छन् । देशमा शान्ति नहुँदा विकास गर्ने बजेटहरु द्वन्द्व दबाउनमा नै प्रयोग हुन्छन् । जनता गरिबीको चपेटाले शिर ठाडो गर्न पाउँदैनन् । जनतालाई दुःख हुनेमात्र राजनीति गर्नेहरु अब पाखा लाग्ने स्थिति सिर्जना हुँदै आएको छ ।
झूटा कुरा, आश्वासन, हिजो के–के भनेर जनतालाई हत्या, हिंसा गर्न लगाए तर आज तिनै नेता कस्ता भए, त्यो सबै देखेकै छन् जनताले । एउटा पार्टीमा लाग्नेले सरकारी ढुकुटीको चैन गर्ने, अर्को पार्टीमा लाग्ने सिटामोल औषधि खान पनि नपाउने ? कस्तो राजनीति हो, अब बुझ्ने भएका छन् । विरोध गर्न जनतालाई सडकमा उतार्नेको दिन गएजस्तो छ । जनता परिवर्तन चाहन्छन् । लोकतन्त्र संस्थागत भएको देख्न चाहन्छन् । सामन्तवादी निरंकुश राजतन्त्रलाई फालेर लोकतन्त्र ल्याउँदा पनि जनताले दुःख पाए ।
२०४६ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिएका थिए जनताले, त्यो बहुमतले पनि काम गर्न सकेन । २०५१ मा एमालेले बहुमत ल्यायो, २०५६ मा दुवैलाई बराबरी बनाए जनताले । २०६३ पछि २०६४ को चुनावमा एमाओवादीलाई ठूलो पार्टी बनाए । हत्या, हिंसा रोकिएर जनताले शान्ति पाउँछन् कि भनेर माओवादीलाई जिताएका थिए ।
जनताको चेतनाको स्तर अहिले उठिरहेको छ । जनताले कसले, के ग¥यो देखेका छन् । जनता परिवर्तनको पक्षमा छन् भन्ने देखिएको छ । अबका जनता मालिक हुन्, नेता नोकर हुन् भन्ने देखिएको छ । निर्वाचनमा आफूले जिते चुनाव स्वच्छ र शान्तिपूर्ण हुने तर आफूले हारे धाँधली भएको मान्ने यो परम्परागत रोग नै हो । हार्नु–जित्नु यो अस्थायी प्रक्रिया हो । कहिले कसैले त कहिले कसैले हार्छ–जित्छ । जनताले हरेक पार्टीको परीक्षा लिएका छन् । अहिले मूल कानुन संविधान बनाउने र देशमा शान्ति र विकास गर्नेछन् भनी कांग्रेसलाई पहिलो र एमालेलाई दोस्रो बनाए ठूलो दल बनाए ।
एमाओवादीलाई पनि तेस्रो पार्टी बनाएका छन् । अहिले ठूलो परिणाम ल्याएका पार्टीले पनि राम्रो काम गरेनन् भने अर्को पटक तल पार्नेछन्, जनताले । जनता विवेकशील छन् । नेपाली जनता हामीले जे भन्यो, त्यही मान्छन् भन्ने छैन । उनीहरुले वैकल्पिक शक्तिलाई जिताउँदा रहेछन् भन्ने देखाएका छन् । सधैँभरि एउटा व्यक्तिलाई जिताइरहने र दल परिवर्तन गरीगरी अवसर लिइरहनेलाई पनि जनताले पाखा लगाएका छन् । लोकतन्त्रलाई संस्थागत गर्ने र शान्ति अनि स्थिरता कायम गरी आर्थिक उन्नति गर्ने जनताको चाहना व्यक्त भएको छ ।
आर्थिक उन्नति बेगर दिगो शान्ति हुँदैन । गरिबी भएको घरमा द्वन्द्व मात्र हुन्छ, त्यसलाई मनन् गरेर घर र देशको अवस्था एउटै हो भनी ठूला दुई पार्टीहरु सहकार्य गरेर जानु नितान्त आवश्यक छ । पहिलो संविधानसभाले माओवादी पार्टीलाई ठूलो बनाएको थियो । त्यस्तो ऐतिहासिक अवसरलाई सदुपयोग गर्न सकेन उसले । त्यसैको पाठ सिकेर नेपाली कांग्रेस, एमाले र अन्य लोकतन्त्रका नजिकमा भएका दलहरुलाई मिलाई एक वर्षभित्रमा संविधान बनाएर स्थिर सरकार बनाई विकासमा लाग्नु जरूरी छ ।
देशमा चलेको द्वन्द्वको निवारण गर्न खोज्दा नै हाम्रो राष्ट्रिय अर्थतन्त्र ज्यादै कमजोर भयो । विकासमा रकम लगाउन सकिएन र हामी ५० वर्ष पछाडि प¥यौँ । अबका दिनमा विगतमा भएका कमीकमजोरीबाट पाठ सिक्दै राष्ट्रको उन्नति तथा प्रगतितर्फ सबैको ध्यान जाओस् ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया