नेपालमा महिला हिंसाका घटना दिनहुँ बढ्ने क्रम जारी छ । महिला हिंसाविरूद्ध हरेक वर्ष विभिन्न संघसंस्थाहरुले सशक्त आवाज उठाए पनि यस्ता सामाजिक अपराधहरुमा न्यूनीकरण हुन सकेको छैन । भर्खरै मात्र ‘महिला हिंसा नगरौँ, उनीहरुलाई पनि सुरक्षित तुल्याऔँ । मानसिक तथा शारीरिक रुपले दुःख नदिऊँ’ भन्ने नारासहित सुरू भएको महिला हिंसाविरूद्धको सोह्र दिने अभियान सम्पन्न भएको छ । विश्वभर नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महिला हिंसाविरूद्धको दिवस नेपालमा पनि विभिन्न सरकारी निकाय, सामाजिक संस्था, गैरसरकारी संस्था र राजनीतिक दलसँग सम्बन्धित भातृ संगठनहरुले महिला हिंसासम्बन्धी समस्या उजागर गर्दै धुमधामसँग मनाएका थिए । तर, यस्ता कार्यक्रम हेर्दा जतिसुकै प्रभावकारी देखिए पनि महिला हिंसा घटाउन मद्दत पुगेको छैन । पुरूषप्रधान समाजका कारण महिलामाथि अझै पनि सकारात्मक र सम्मानको भावना विकास हुन नसक्दा सामाजिक विभेद र विभिन्न किसिमका हिंसात्मक घटनाहरुको पुनरावृत्ति भइरहेको छ ।
महिला स्वयंले पनि पुरूषभन्दा कमजोर रहेको मनोवैज्ञानिक धारणा बदल्न नसक्दा यस्ता घटना न्यूनीकरणभन्दा पनि वृद्धि हुँदै गइरहेको छ । यसले सामाजिक रुपान्तरणमा पनि नकारात्मक प्रभाव पारेको छ । महिलामाथि कुटपिट गर्ने, घर निकाला गर्ने, शारीरिक तथा मानसिक पीडा दिने, हत्या गर्नेसम्मका घटनाहरु समाजमा विद्यमान छन् । सामाजिक अन्धविश्वासका कारण शिक्षित भनिएकाहरुबाटै बोक्सीको आरोप, दाइजो कम ल्याएको निहुँ, चरित्रको विषयलाई लिएर हिंसा गर्ने कार्य भइरहेको छ । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका रुपमा यो अभियान सन् १९९९ देखि मनाइँदै आए पनि मानसिक तथा शारीरिक रुपमा हिंसा भोगेका पीडित महिलाहरुले न्याय र पीडकमाथि कडा सजाय हुने कानुनको अभावमा महिलाहरु झनै पीडित बनिरहेका छन् । गत वर्षको तुलनामा महिला हिंसाका घटना बढेको महिला हिंसाविरूद्ध काम गर्ने संस्था ओरेक नेपालले जनाएको छ । सो संस्थामा अघिल्लो वर्ष एक हजार पाँच सय ६९ वटा महिला हिंसाका घटना दर्ता भएकोमा यस वर्ष एक हजार सात सय तीन पुगेको ओरेकको तथ्यांक छ । महिला हिंसाविरूद्ध विभिन्न सञ्चारमाध्यम, सडक तथा विभिन्न सभा तथा गोष्ठीहरुमा अभियान चलाइए पनि हिंसात्मक घटनाहरु वृद्धि हुने क्रम बढिरहेको छ ।
मुलुकभर महिला हिंसाविरूद्व जनचेतना अभिवृद्धि गरी १६ दिने अभियान सफल भए पनि महिला हिंसाका घटना न्यूनीकरण हुन नसक्नु दुःखको कुरा हो । महिला हिंसा आफैँमा सामाजिक चरित्र होइन, चेतनाको कमजोरी हो । यही कमजोरी हाम्रोे समाजमा अहिले एउटा चरित्रकै रुपमा स्थापित भएको छ । चेतनासँग गाँसिएका कारण यो चरित्ररुपी कलंकलाई निर्मूल गर्न समस्या भइरहेको छ । भोग्नेहरुका लागि यो पीडा विश्वभरमै अधिकारवादी आन्दोलनका निम्ति एउटा ठूलो चुनौती बनेको छ । हिंसाको कारण र दोष नै पुरूषप्रधान समाजलाई मानिएको छ । सदियौँदेखि हाम्रो समाजमा पुरूष चरित्र हावी छ । सामाजिक रुपान्तरणका सवालमा जतिसुकै आदर्श फलाके पनि हाम्रो सामाजिक संरचना र संस्कारमा परिवर्तन आउन नसक्नु नै प्रमुख कारण मानिएको छ । महिला हिंसा कम गर्न सबैभन्दा पहिले हरेक घरबाट पितृसत्तात्मक सोच हटाएर महिलालाई पनि समान व्यवहार गर्नु आवश्यक देखिएको छ । महिलाले पनि पुरूषभन्दा कमजोर छु भन्ने मनोविज्ञान हटाउन सक्नुपर्छ । अभियानभन्दा पनि अधिकारवादीले महिला हिंसाविरूद्ध कडा कानुनी व्यवस्था गर्न राज्यलाई दबाब दिनुपर्ने देखिन्छ ।
Discussion about this post