काठमाडौँ । विभिन्न पार्टीका महिला अगुवाहरुले संविधानसभामा कम्तिमा ३३ प्रतिशत महिला सहभागिताका लागि आ–आफ्नो दलमा दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सञ्चारिका समूह, साथी, मिडिया एड्भोकेसी गु्रप र दिदीबहिनी संस्थाद्वारा आज संयुक्तरुपमा आयोजित ‘संविधानसभामा महिलाको समानुपातिक प्रतिनिधित्व’ विषयक अन्तक्र्रिया कार्यक्रममा नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी)लगायत संविधानसभामा सहभागी हुने सबै दलका प्रतिनिधिहरुले कम्तिमा ३३ प्रतिशत महिलाको सहभागिताका लागि आफ्नै दलमा दबाब सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
परिणाममा नै ३३ प्रतिशत महिला सहभागी हुनेगरी संविधानसभाको समानुपातिकतर्फ दलहरुलाई सिफारिस ल्याउन निर्वाचन आयोगमा समेत सामूहिकरुपमा दबाब सिर्जना गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य कमला पन्तले आफूले पार्टीमा महिला सहभागिता ३३ प्रतिशतभन्दा बढी समावेश गराउन विभिन्न किसिमका दबाब सिर्जना गरिरहेको उल्लेख गर्दै ६०१ जना सभासद् हुने संविधानसभामा १९७ भन्दा बढी महिला सदस्य आवश्यक रहेको बताउनुभयो ।
एकीकृत नेकपा (माओवादी)का नेतृ शशी श्रेष्ठले महिलाको सङ्ख्या जति छ त्यही अनुसार संविधानसभामा प्रतिनिधि हुनुपर्नेमा माग गर्दै अहिल ५१.५ प्रतिशत महिलाको जनसङ्ख्या भएकाले संविधानसभामा पनि त्यही अनुसार सहभागी आवश्यक छ भन्नुभयो । नेकपा (एमाले)का श्रीमाया थकालीले संविधानसभामा ३३ प्रतिशत सिट सुनिश्चितताका लागि आन्तरिक तथा बाह्य रुपमा दबाब सिर्जना गर्न पछि हट्न नहुने उल्लेख गर्नुभयो । नेपाल महिला संघका अध्यक्ष डिला संग्रौलाले संविधानसभामा ३३ प्रतिशत महिला प्रतिनिधित्व परिणाममै सुनिश्चितताका लागि पार्टीभित्र ‘लबिङ’ गरेर दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो । सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मा, दिदीबहिनी संस्थाका अध्यक्ष सलोनी सिंह, पत्रकार मन्जु अन्सारी, पुष्पा ठाकुरलगायतले ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित नभएसम्म संविधानसभामा महिला सहभागी हुन नहुनेमा जोड दिनुभयो । रासस
Discussion about this post