–प्रकाश सिलवाल
जोगिमारा । ताकथलीस्थित जलकन्या प्राथमिक विद्यालयको जस्ताले छाएको दुईकोठे पुरानो भवनमा अल्पसङ्ख्यक समुदाय मानिने चेपाङ बालबालिका आफ्नो उज्ज्वल भविष्यको रेखा कोरिरहेका छन् ।
चार वर्षअघि एक रोपनी नौ आना जग्गामा निर्मित यो भवन अस्थायी प्रकारको छ । भिराला कान्लाहरूको बीचमा बनाइएको यस भवनमा बालबालिकालाई खेल्ने मैदान र पुस्तकालय त के शिक्षक कर्मचारीका लागि अलग्गै कार्यकक्ष पनि छैन । जस्ताको छानो भएकाले पानी पर्दा कक्षा कोठामा शान्त वातावरण पाउनेस्थिति हुँदैन ।
विद्यार्थी कक्षाबाट बाहिर निस्कँदा वा खेल्दा जुनसुकै बेला लड्नसक्ने र घाइते हुनसक्नेस्थिति छ । पहिरो आएमा पनि विद्यालय भवन लैजान सक्छ । प्रारम्भिक बालविकासदेखि कक्षा तीनसम्म पढाइ हुँदै आएको यस विद्यालयमा स्थानीय चेपाङ बालबालिका मात्रै पढ्दै आएका छन् । सबै कक्षा एकैपटक सञ्चालन गर्न कक्षाकोठा अपुग हुन्छ । त्यसैले होला, कक्षा २ को पढाइका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर चेपाङको घरको आँगनमा भाडामा कक्षा सञ्चालन भइरहेको छ । खुसीको कुरा, विद्यालयमा शौचालय र खानेपानी भने उपलब्ध छ ।
ताकथली चेपाङ समुदायको बस्ती भएको गाउँ हो । शिक्षाको पारिलो घाम बिस्तारै झुल्कन थालेको छ । छिमेकी गाउँको प्रभाव र आधुनिकतासँगै अभिभावकको प्रगतिउन्मुख चेतनाका कारण यहाँ विसं २०६६ मा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को करिब रु ५० हजार सहयोग र जनश्रमदानमा विद्यालय भवन निर्माण भएको थियो । त्यसको एक वर्षपछि विद्यालयले अनुमति पायो ।
तर शिक्षकका लागि बजेट निकासा हुन नसकेपछि केही समय पढाइ नै बन्द हुन पुग्यो । लामो प्रयासपछि जिल्ला शिक्षा कार्यालयबाट एकजना शिक्षकको राहत दरबन्दी स्वीकृत भएको भर्खर एक वर्ष बितेको छ । बालविकास सहजकर्ता र पियनसहित चारजना शिक्षक कर्मचारी रहेको यस विद्यालयमा एकजना शिक्षकको तलब मात्र सरकारी कोषबाट निकासा हुन्छ ।
बाँकी शिक्षक र कर्मचारीको तलबका लागि ढुङ्गाखानी सञ्चालन गर्ने स्थानीय अन्नपूर्ण कोइरिन प्रालिले सम्भावित प्रभावको राहतका लागि वार्षिक रु एक लाख दिने गरेको विद्यालयका प्रधानाध्यापक अप्सरा डल्लाखेतीले बताउनुभयो ।
यसका अतिरिक्त गाउँ विकास समितिले वार्षिक रु १० हजार दिने गरेको छ । निजी स्रोतका शिक्षकका लागि विद्यालयले मासिक रु पाँच हजार तलब दिँदै आएको छ । विद्यालयको औसत उपलब्धि ४२.५८ प्रतिशत छ ।
पछिल्ला समयमा चेपाङ बालबालिका विद्यालयको पहुँचमा आउन थाले पनि उनीहरूलाई भौतिक पूर्वाधार र बालमैत्री वातावरणको अभाव देखिएको छ । विसं २०६८ को जनगणनाअनुसार नेपालका चेपाङ समुदायको जनसङ्ख्या ६८ हजार छ ।
जलकन्या प्राविमा हाल ८४ विद्यार्थी भर्ना भएका छन् । करिब ६० घरधुरी रहेको ताकाथलीका अभिभावकका अनुसार अझै यस विद्यालयको लक्षित विद्यार्थीमध्ये करिब १२ जना बालबालिका विद्यालयको पहुँचमा आएका छैनन् ।
यस विद्यालयमा प्रारम्भिक बालविकासमा १८, कक्षा एकमा १९, कक्षा दुईमा १९ र कक्षा तीनमा २५ जना भर्ना भए पनि विद्यार्थीको नियमितता छैन । विद्यालयमा कुनै शुल्क लाग्दैन । दिवा खाजाको व्यवस्थाअनुसार प्रतिदिन प्रतिविद्यार्थी रु १२ का दरले सरकारले बजेट विनियोजन गरेकाले विद्यार्थीमा केही आकर्षण थपिएको छ ।
ताकाथलीमा जलकन्या प्राथमिक विद्यालय स्थापना नहुँदासम्म प्राथमिक तहका विद्यार्थीलाई विद्यालय जान टाढा पर्दै आएको थियो । यहाँको पल्लो गाउँ जोगिमारा गाविसकै खोरभज्याङ्गको राष्ट्रिय माध्यमिकसम्म पुग्न साना विद्यार्थीलाई कठिन हुँदै आएको अवस्थामा आफ्नै गाउँमा विद्यालय खुलेपछि भर्नादर बढेको अभिभाकहरू बताउँछन् । उनीहरू बालबालिकालाई स्टेसनरी र पोसाकका लागि पनि समस्या हुने गरेको जनाउँछन् । जिल्लाका चेपाङ समुदायमध्ये ४० प्रतिशत जोगिमारामा रहेकाले यहाँका लागि नयाँ र पक्की विद्यालय भवन अत्यावश्क भएको नेपाल चेपाङ सङ्घका केन्द्रीय सदस्य तिलक चेपाङ बताउनुहुन्छ ।
आगामी दिनमा विद्यालयलाई नयाँ भवनका लागि एसियन फ्रेन्डसिप नेटवर्क लगायतका निकायमा आग्रह गरिएको र भवन बनाउन स्थानीय श्रमदानका लागि आफू तत्पर रहेको व्यवस्थापन समितिका अध्यक्ष चेपाङ बताउनुहुन्छ । धादिङका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदी बालबालिका क्रमशः शिक्षाको पहुँचमा आउन थालेको र उनीहरूलाई विद्यालयमा टिकाउन दिवा खाजा, छात्रवृत्ति लगायतका कार्यक्रम सञ्चालन गरिएको बताउनुहुन्छ । उहाँले जलकन्या प्राविमा विद्यालय भवनका लागि तत्काल सरकारले बजेट दिन नसक्ने बाध्यता पनि व्यक्त गर्नुभयो । रासस
Discussion about this post